झर्रोटर्रो : हैट, आकश त खस्नै आँट्यो !

झर्रोटर्रो : हैट, आकश त खस्नै आँट्यो !

नेपाल मण्डलको सरकारी बैठकले आगामी बैसाख ३१ गते गाउँघर, नगर र टोलतिरको चुनाउ गराउने भनेर ठोकुवा ग¥यो । त्यो बैठकमा सरकारी सुप्रिमो महामहिम मिस्टर प्रमले निकै ठूलो धाकधक्कु लगाए । उनले भने – ‘अब इन्द्रेका बाउ चन्द्रे आए पनि चुनाउ सुनाउ रोक्न सक्दैन । बैठकले निर्णय गरेपछि मने आधाआधी चुनाउ त भै नै गयो भन्ने म ठान्चु । यसमा नेपालका जिम्दार दलका सबै लाउकेहरूको समर्थन छ । भुरेटाकुरे भुसुना र ठेट्नाहरूले क्यै लछारपाटो लाउने छैनन् ।’ हुनपनि सरकारी शेरका अगाडि भुइँफुट्टा स्यालहरूको के जोर चल्थ्यो । केही समय हुइया हुइया गरेर आफ्ना सगोत्रीहरूलाई गुहारे पनि अन्तिममा त तिनीहरू पनि चिसै पानीले नुहाइहाल्छन् ।

उता मधेशतिरका महिषपालहरूले आफ्नो खल्ती नभरिदिइकिन गरिने चुनाउ कुनै हालतमा हुन नदिने भनेर आकाश खसाउने धाकधक्कु लगाउँदै छन् । उनीहरूले भनेका छन् ‘यदि आपूmहरूलाई सरकारले बक्सिस नदिएमा आपूmहरूले पनि सरकारबाट खुट्टा झिकेर लङ्गडो बनाइदिने छम् ।’ त्यसपछि बैसाखीमा उभिएको सरकार डङ्ग्रङ्ग ढल्नेछ । ढलेको सरकारी सिनो लुछ्न गिद्दहरू तँछाड मछाड गर्ने छन् । कोही गिद्दहरू सिद्द खोज्दै दिल्लीतिर उड्नेछन् । कोही गिद्दहरू प्रभुको आशिर्वाद थाप्न लैनचौर र महाराजगञ्जतिर धाउने छन् । बाँकी गिद्द बानेश्वरको मासु पसलतिर ङार्रङुर्र गर्दै भौँतारिने छन् । चुनाउ गराउने वाचा खाएर मिति घोषणा गरेको सरकार उत्तानो परेपछि ‘आफै सुप्रिमो उत्तानो पर, कसलाई दिन्छौ बर’ को अवस्था सिर्जना हुनेछ । यसरी तँ हाने जस्तो गर म रोए जस्तो गर्छु भन्दै आफैँले आकाश खसाल्ने छन् र चुनाउ सुनाउले हावा खाने छ ।

यतिवेला चुनाउ चाहिएको खासमा एमाले र काङ्ग्रेसलाई मात्रै हो । नेपाल कमाउ पाइटी (मारवाडीकेन्द्र) लाई चुनाउ पिसावको पहिरो भएको छ । किनकि सङ्गठन अझै सङ्ग्लिन र तङ्ग्रिन पाएको छैन । माथि माथि आकाशमा धाकधक्कु लगाए जस्तो तल भुङँमा सहज छैन । जनयुद्ध छोडेर धनयुद्धमा लागेको दल भएकाले चुनावी वातावरण आफ्नो पक्षमा सहजै आइहाल्ने अवस्था छैन । उता मधेशका महिषपालहरू पनि काँक्रो चिरेझैँ विभिन्न चिरामा चिरिएका छन् । तिनीहरूका लाउकेलाई प्रभुले बोकेर मात्रै धान्न सक्ने अवस्था छैन । प्रजा र रैतिहरूले मरेको सिनोलाई उडुसले छोडेझैँ छोडि रहेका छन् । त्यसैले चुनाउमा उनीहरूको हविगत झनै दुरुह बन्ने अवस्था छ । तसर्थ चुनाउ भाँड्नुमै उनीहरूलाई मजा छ । त्यसो गर्दा प्रभुको इच्छा पनि पूरा हुने र आफ्नो साख पनि बच्ने हुन्छ । पञ्चप्रेतहरूको पार्टी भर्खरै एउटै गोठमा हुलिएकाले उनीहरू एकाग्र भएर विचरण गर्न पाइसकेका छैनन् । उनीहरूको दाउ पनि पानी अझै फतफत हुनेगरी धमिलो होस् भन्न चाहन्छन् । तसर्थ उनीहरू पनि चुनाउलाई त्यति साह«ो मतलव राखेका छैनन् । यहिबेला नागार्जुनको जङ्गलमा धुनी जगाएर बसेको भूत सलवलाएर देश दौडाहामा लागेको छ । अरू स्याउरे मसानहरू भूतको जयगान गाउँदै उसलाई नचाउँदै छन् । यस्तो छ नेपाल मण्डलको चुनावी नौटङ्की खेल । नौटङ्कीको मौकामा चौका हान्दै चुनाउ गराउने ठेक्का लिएको आयोगले मतपेटिका खरीद र मतपत्र छाप्ने बहानामा कमिसनको कुम्लो कुटुरो कस्ने जोहोमा लागेको छ ।

चुनाउ त गराउने हो तर कस्तो प्रकारको गराउने हो भन्ने कुराको ठेलो टुङ्गो क्यै छैन । नयाँ बनाइएका स्थानीय तहको केन्द्र कस्लाई मान्ने, केन्द्र कहाँ राख्ने भन्ने कुरा नै टुङ्गिएको छैन । माथिबाट तोक्ने हो भने फेरी तल लफडा सुरु भएर झगडा हुनेवाला छ । यहिँनेर प्रभुले भाङ धतुरो हलिदिने छ र भाँडभैलो मच्चाइदिने छ । यसरी जे गर्दा पनि लफडै लफडा हुने पक्का पक्की भएपछि महामहिम सुप्रिमो मिस्टर प्रमलाई केही समय कुर्चीको आयु बढ्ने निश्चित छ । यसैमा उनको भलो हुने जोग परेको छ । धनयुद्ध केही समय फलिफाप हुने भएपछि मिस्टर सुप्रिमो भित्रभित्रै मखलेल भएर हेलिकोप्टर चढेर रिवन काट्न र रैतिहरूलाई प्रवचन दिएर देश विकास गर्न दौडाहामा लाग्ने छन् । त्यसरी नै नेपालको विकास हुनेछ र आर्थिक क्रान्ति पूरा भई समाजवाद पूरा हुनेछ ।
१५ फागुन २०७३

kailubraha73@gmail.com