काठमाडौं । अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले एक प्रेस वक्तव्य जारी गर्दै भोटेकोशी बाढीबाट प्रभावितहरुको राहत र उद्दार कार्यमा परिचालित हुन संगठनको सम्पूर्ण पंक्तिलाई विशेष निर्देशन दिएका छन् । वक्तव्यमा यस विपदको घडीमा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “आज मिति २०८३ साल भाद्र १0 गते करिब विहान ९ बजे चीनको तिब्बत तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खा लगायत जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति हुन गएको छ । यस विपदमा परी सयौ नागरिकको ज्यान गइसकेको छ भने सयौं घाइते तथा वेपत्ता भएका छन् । विद्यालय, प्रहरी चौकी, विद्युत गृह, बाटो तथा विभिन्न सार्वजनिक संरचनाहरु ध्वस्त हुनुका साथै अरबौंको निजी तथा सार्वजनिक सम्पत्ति ध्वस्त हुन पुगेको छ ।
सर्वप्रथम हाम्रो संगठन यस विपदको घडीमा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
भूगर्भविद्हरुका अनुसार उक्त क्षेत्रमा थप संकट बढ्न सक्ने चेतावनीलाई मध्येनजर गर्दै थप क्षति हुन नदिन सम्बन्धित निकायले उच्च सतर्कता अपनाउँदै यस विपदको घडीमा फसेका नागरिकहरुको उद्दार गर्न, घाइतेहरुको शिघ्र उपचार गर्न, खान बस्न तथा आधारभूत आवश्यकताहरुको तत्काल व्यवस्था गर्न हाम्रो संगठन नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, यस विषम परिस्थितिमा सम्पूर्ण नेपाली जनतालाई एकअर्काको साथ र सहयोगमा जोडिन अपिल गर्दै हाम्रो संगठनका सम्पूर्ण पंक्तिलाई राहत र उद्दार कार्यमा परिचालित हुन विशेष निर्देशन जारी गर्दछ ।”






























