नेपाली साहित्यमा साठीको दशक अर्थात गणतन्त्रोत्तरको समयलाई हेर्ने हो भने महिला साहित्यकारहरुको उपस्थिति उल्लेख्य देख्न सकिन्छ । विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित फुटकर रचनाहरु मात्र होइन कृति प्रकाशनका हिसाबले पनि साठीको दशकपछिको समय महिला स्रष्टाहरुको नाम प्रसस्त पढ्न पाइन्छ । गणतन्त्र प्राप्तिको आन्दोलन र यसका लागि सहिदहरुको उच्च जीवन उत्सर्ग र प्राप्त नागरिक स्वतन्त्रताले मुलुकमा एउटा उन्मुक्त वातावरण सिर्जना ग¥यो । नागरिकले राजनैतिक अधिकार प्राप्त ग¥यो । सामाजिक रुपमा भएका विभेदका विरुद्ध बोल्न र सङ्गठित हुन सिकायो । सामाजिक उत्पीडनमा रहेका वर्गहरु जो सयौं वर्षदेखि दलनमा बाँचिरहेका थिए उनीहरुका दमित स्वरहरु कलमका माध्यमबाट अभिव्यक्त हुन थाले । घर, परिवार र समाजमा सधैं उपेक्षित महिलाका सङ्गठित स्वरहरु सुनिन थाले । यसको प्रभाव साहित्यमा पनि देखा प¥यो । साहित्यको क्षेत्रमा यसले महिला स्रष्टाका सिर्जनाहरुलाई पनि उर्वर बनायो । २०६३ सालपछिको समयलाई समकालीन मान्ने हो भने यस समयमा देखा परेका समकालीन महिला साहित्यकारहरुका असङ्ख्य नामहरु र उनीहरुका आख्यान र कविताका थुप्रै कृतिहरु प्रकाशित भएको देखिन्छ । यही नामहरुको पङ्क्तिमा कवि राधा कार्कीको नाम अग्रभागमा पढ्न सकिन्छ ।
२०२९ साल चैत्र २० गते झापाको दमकमा जन्म भई काठमाण्डौलाई कर्म र सिर्जन थलो बनाउँदै आइरहेकी कवि राधा कार्की कवितामा एक अलग स्थापित नाम हो । चित्रकार उत्तम नेपालीको प्रेरणाबाट उनले कविता लेख्न सुरु गरिन् र २०५७ सालमा छहरा पत्रिकामा ‘तिम्रो अनुपस्थितिमा’ कविता छापिएपछि ठूलो उत्साहले उनले कवितामा आफूलाई समर्पित गरिन् । ‘कहिलेकाहीँ आफ्नै वरिपरिको वातावरण धूमिल हुँदा अन्तस्करणबाट निस्किएका शब्दहरु’ कविताका रुपमा अभिव्यक्त भएको राधा कार्की बताउँछिन् । बाल्यकालमा आमालाई गुमाउनु पर्दाको पीडाको क्षण होस् वा बुबाको अन्तिम संस्कारबाट फर्किरहेको आहतको बेला वा असमानताका विरुद्ध सामाजिक परिस्थितिहरुसँग जुध्दाको समय होस्, दुःखका असङ्ख्य पहाडहरुलाई झेलेर उनी सधैं सङ्घर्षमा अघि बढिरहिन् । उनी विद्रोही बनिरहिन्् । समाजमा रहेको विषम परिस्थितिहरुले उनलाई विद्रोही र अन्तर्मुखी बनाइरह्यो । त्यसैले कवितामा उनको आत्मकथन छ ।
यतिखेर
म आत्मसङ्घर्षको
डिलमा उभिएर हेरिरहेको छु
जीवन त घाम र छायाको
गोलाकार चक्र रहेछ ।
‘शाश्वत आकृति’ कवि राधा कार्कीको २०७८ सालमा प्रकाशित पहिलो कविता कृति हो । यसअघि उनको ‘संवाहक’ लघुकथा सङ्ग्रह (२०७०) र ‘पप्पी र पट्टु’ बालकथा सङ्ग्रह (२०७५) प्रकाशित छन् । यसबाहेकका उनका थुप्रै फुटकर कविताहरु र अन्य रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा छापिएका छन् । उनी ‘सुचकलिली युवा प्रतिभा सम्मान’ (२०७३), देशभक्त गणतान्त्रिक सम्मान’ (२०७३), ‘प्रज्ञा हिरक पदक’ (२०७४), ‘संसाक शेषचन्द्रा कथा पुरस्कार’ (२०७४), ‘बी. डी. त्यागी प्रतिभा सम्मान’ (२०७६), ‘पुष्पराग साहित्य सम्मान’ (२०७७) र ‘प्रज्ञा दीर्घ सेवा पदक’ (२०७८) लगायतका विभिन्न पुरस्कार र सम्मानहरुबाट पुरस्कृत र सम्मानित भइसकेकी छन् ।
‘शाश्वत आकृति’ उनको ५२ ओटा कविताहरुको सङ्गृहीत कृति हो । छोटा र मझौला आकारका कविताहरु रहेको यो कृतिलाई पाठकले एक बसाइमा पढिसक्छन् । कवित्व शक्तिले सङ्ग्रहभित्र रहेका यी कविताहरुले पाठकलाई तानिरहन्छ र पाठकले एक किसिमले कविताको आनन्द लिइरहन्छ । साँच्चै नै कविता लेख्नु वा कवितालाई पढ्नु खेलाँची होइन । कविले चैतन्य जगतबाट प्राप्त गर्ने चेतना शक्ति र त्यसलाई बिम्ब र प्रतीकको माध्यमबाट कवितामा प्रयोग गर्ने शैलीगत विशिष्टता र पाठकले कवितालाई बोध गर्ने विशिष्ट अवस्थाका बिच कवि र पाठकसँगको सम्बन्धको निकै सुन्दर तादात्म्य बन्छ । त्यही तादात्म्यताले कवि र पाठक दुवैलाई जीवित बनाउँछ ।
कहिलेकाहीँ उमेर र रहरमा लेखिने साहित्य धेरै हुन्छन् । वर्षाद्को एक झर पानीले जङ्गलमा उम्रिने च्याउजस्तै हुन्छन् यस्ता साहित्य । साहित्यलाई साधना मान्ने र निरन्तर लेखिरहनेहरु कमै हुन्छन् । साधना निरन्तर कर्म पनि हो । एकथरी हुन्छन् जो निरन्तर कर्ममा रमाउँछन् र मानक स्थापित गर्छन् । अर्काथरी हुन्छन् जो साधनाबाट हराउँछन् र स्खलनमा बाँच्छन् । राधा कार्की समयको यही शाश्वत आकृति लिएर एउटा मानक स्थापित गर्न हिँडेकी एक सङ्घर्षशील कवि हुन् जसले नेपाली कवितामा आफ्नो एउटा आयाम निर्माण गरेकी छिन् ।
प्रकृतिको अँगालोमा बसेर
म लेख्न चाहन्छु
एउटा अलिखित इतिहास
जसका अध्यायहरु पढेर
ब्युँझन सकून शाश्वत आकृतिहरु ।
(पृष्ठ ३२, शाश्वत आकृति)
‘शाश्वत आकृति’ कवितासङ्ग्रहभित्र रहेको पहिलो कविता हो ‘शाश्वत आकृति’ । समय शाश्वत छ, प्रकृति शाश्वत छ र मानिसका दुःख, सुख र सङ्घर्षहरु शाश्वत छन् । प्रकृति सबैका लागि समान छ तर मान्छेले मान्छेकै लागि बाँधेको सीमाहरुका कारण अवसरहरु असमान छन् । राधा कार्की यी सबै असमानताहरुका विरुद्ध एउटा समतामूलक समाजको गीत गाउन चाहन्छन् ।
पितृसत्ताले पछाडि पारेका महिलाहरु र उनीहरुमाथिको विभेदले महिलाहरुलाई सधैं दोस्रो दर्जाको नागरिक बनाइरह्यो । राज्यले निर्माण गरेका सामाजिक संरचनाहरु सधैं महिलाहरुको विरुद्ध रहे । राज्यले पुरुष र महिला बिच श्रम एउटै र ज्याला फरक ग¥यो । कानुन एउटै र न्याय फरक ग¥यो । पद एउटै र अवसर फरक ग¥यो । सबै ठाउँहरुमा महिलाहरु कमजोर र कमसल मानिए । यस्तो बेला यस्ता बिसङ्गतिहरुका विरुद्ध एउटा सचेत कविसँग विद्रोहका शब्दहरु नै त छन् ।
जीवनको गति खोज्न
निरन्तर लम्केका गोडा
त्यो पर्खालअगाडि
पटक पटक स्तब्ध बनेका छन्
मलाई थाहा छैन
किन यतिबिध्न शक्तिशाली छ
त्यो निर्जीव पर्खाल
……..
आजकल
म देख्न थालेकी छु
मलाई टुक्रयाउने
ती बगरेहरु
ती जल्लादहरु
सत्ताको वरिपरि
कवाज खेलिरहेछन
(पृष्ठ ४४, त्रासद पर्खाल)
‘शाश्वत आकृति’ कवितासङ्ग्रहमा समाविष्ट कविताहरु पढिसकेपछि राधा कार्कीलाई फराकिलो आयाममा कविता लेख्न सक्ने कविका रुपमा लिन सकिन्छ । विचार र शैलीका हिसाबले पनि उनका सबै कविताहरु फरक फरक किसिमले लेखिएको पाइन्छ । कविताहरुमा विषय विविधता छ । एउटै लयबाट कविताहरु अलग छन् । कवितामा विषयको पुनरोक्तिबाट कवि सचेत देखिन्छ । जसले गर्दा कवितामा एक खालको आस्वाद छ ।
शकुनी पासा पल्टिएर
वर्षौ वर्षदेखि
सेकिरहेछ भुइँमान्छेहरुको ढाड
निरन्तर दोहोरिइरहेछ
उही भँडारेको रजाइँ
उही तोरीफूले गाउँको कथा
उही अस्वस्थ प्रतिष्पर्धा
ठिक यो घडी
शान्त नदीभित्र बसेर
जुनेली कल्पना गरिरहिछे
आँधीअघिको एउटा भयानक
सन्नाटा !
(पृष्ठ ५४, भयानक सन्नाटा)
राधा कार्की क्रान्तिप्रति आस्थावान् कवि हुन् । उनका कविताहरुमा भविष्यप्रतिको आशा छ । परिवर्तनको चाहना छ । भुइँमान्छेहरुसँगको प्रेम र उनीहरुको न्यायको आवाजमा ऐक्यवद्धता छ । उनीभित्र श्रमिकहरुप्रति संवेदना र शासकप्रति आक्रोश छ । त्यसैले उनका कवितामा प्रेम, आवेग, संवेग, संवेदना र आक्रोश छ ।
जीवनको अन्त्य अवश्यम्भावी छ
तर मलाई तिम्रो वर्चश्व
स्वीकार्य छैन
म मेरो मस्तिष्क निचोरेर
बनाउने छु तिमी विरुद्धको हतियार
र, बचाउने छु यो धर्तीका
सारा हरियाली खुसीहरु ।
(पृष्ठ १२६, कहर विरुद्ध)
‘शाश्वत आकृति’ भित्र रहेका कविताहरुको विशेषता भनेको मान्छेको मूल्यको खोजी हो । मान्छे भएर बाँच्न पाउनुपर्ने प्रकृतिप्रदत्त समान अधिकारलाई खोसेर जाति, भाषा, लिङ्ग, धर्म, भूगोल र क्षेत्रको आधारमा विभाजनका सीमाहरु कोर्ने शासक चरित्रका विरुद्ध उनका कविताहरु चर्को असहमति राख्छन् । एकातिर श्रम गर्नेहरुको शोषण र अर्कातिर श्रम लुट्नेहरुको विलासिताले गहिरिँदै गएको आर्थिक विषमता र दलाल अर्थतन्त्रले धराशायी बन्दै गइरहेको मुलुकको भविष्यप्रति उनी सचेत चिन्ता व्यक्त गर्छिन् ।
अझै बेखबर प्रतीत छन्
असङ्ख्य कान्छाहरु
जसको श्रमको ढाडमा टेकेर
अग्लिरहेछन् फुर्तीबहादुरका महलको धुरी ।
(पृष्ठ ४३, श्रमको सबाई)
र, यहीँनिर कवि फेरि आफ्नो वर्ग र आफ्नो मुलुकप्रति सचेत पनि छिन् ।
देश बाँचे मात्र
आफू बाँचेको ठान्नेहरुको दुखाइ
प्रसव पीडाभन्दा अझ गहिरो छ
यी स्वाभिमानका पहाडहरु
मुस्कुराइरहेछन्–
अनादि कालदेखि नै
श्रमका फुलेल थुँगाहरुमा ।
(पृष्ठ ५१, स्वाभिमानका पहाडहरु)
किरण मानन्धरको निकै सुन्दर आवरण चित्र रहेको ‘शाश्वत आकृति’लाई वसन्तराज अज्ञातले साजसज्जा दिएको छ । कवितासङ्ग्रह १२८ पृष्ठको छ । महेश प्रसाई र डा. यज्ञश्वर निरौलाको समीक्षात्मक भूमिकाले किताबलाई ओजिलो बनाएको छ । मकालु प्रकाशन गृह, काठमाडौंबाट प्रकाशनमा आएको यस कवितासङ्ग्रहको मूल्य तीन सय रुपैया पाठकका लागि न्यायोचित देखिन्छ । आफ्नो पहिलो कविता कृतिमार्फत् कविताका पाठकहरुमाझ आफूलाई स्थापित गर्न सफल कवि राधा कार्कीका आउँदा कविता कृतिहरु अझै परिमार्जित र परिष्कृत बन्दै जानेछ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं ।
०००