काठमाडौं । २५ औं इच्छुक स्मृति दिवस तथा सांस्कृति बलिदान दिवसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले कलाकार इस्मालीसहित तीनजना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ । एक लाख राशीको पुरस्कारसहित इच्छुक स्मृति पुरस्कारबाट प्रगतिवादी फाटका स्थापित साहित्यकर तथा कथाकार इस्माली पुरस्कृत तथा सम्मानित हुनुभएको छ भने २५ हजारको इच्छुक प्रतिभा पुरस्कार (साहित्यतर्फ) कवि नारायण शर्मा विपिन र सोही राशीको इच्छुक प्रतिभा पुरस्कार (कलातर्फ) जनगायक अमिट योञ्जन पुरस्कृत तथा सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि चैतन्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले दोसल्ला ओढाएर प्रमाण पत्र र पुरस्कार राशीसहित सम्मानित गर्नुभएको थियो ।
पुरस्कृत तथा सम्मानित स्रष्टा कथाकार इस्मालीले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको परिस्थितिलाई २०१७ सालको शाही कू पछिको परिस्थितिसँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो, ‘२००७ सालदेखि २०१७ सालको बिचमा प्रगतिवादी साहित्यको फाँटमा थुप्रै लेखक साहित्यकारहरु जन्मिएका थिए तर जब २०१७ सालमा शाही कू पछि राजनीतिक पार्टीहरु प्रतिबन्धित भए प्रगतिवादी साहित्यकारका जामा फालेर तीमध्ये अधिकांश बेपत्ता भए । अहिले पनि जेनजी परिघटनापछि प्रगतिवादी फाँटका साहित्यकार भनिनेहरुले आफ्नो जामा फालेर घण्टी बजाउन थालेका छन् ।’

उहाँले अहिले प्रगतिवादी साहित्यको फाँटमा विचारको खडेरी परिरहेको भन्दै उहाँले बढीभन्दा बढी जनताको बिचमा गएर नयाँ प्रतिभाहरुको खोजी गर्ने, उनीहरुलाई प्रशिक्षित गर्ने र लेखकीय अभिभारा पूरा गर्न यो वृतलाई अझ फराकिलो पारेर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले अहिलेको बालेन्द्र सरकार फासिवादी हुँदै गएको, साम्राज्यवादीहरुको कठ्पुतली भएको भन्दै लोकप्रियाताको जामा पहिरिएर आएको फासिवादका विरुद्ध जनसांस्कृतिककर्मीहरुले निर्भिकता र दृढतापूवर्क कलम चलाउनुपर्ने परिस्थिति निर्माण भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै र कविता वाचन गर्दै कवि नारायण शर्मा विपिनले भूमिहीन सुकुम्बासीमाथि राज्यको बर्बरताका विरुद्ध क्रान्तिकारीहरुले विभिन्न मोर्चाबाट प्रतिरोध गर्नुपर्ने भनाइ राख्नुभयो ।
कवि गौरी देवकोटाले स्वागत गर्नुभएको कार्यक्रममा कवि मित्रलाल पंज्ञानीले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता र सदस्य सचिव मोदनाथ मरहट्टाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चैतन्य, विशिष्ट अतिथि सीपी गजुरेल, अतिथिहरु हेमन्तप्रकाश ओली सुदर्शन, तक्मा केसी लगायतले इच्छुकको योगदानको विषयमा चर्चा गर्नुभएको थियो भने कविहरु अनिल श्रेष्ठ, सत्य पहाडी, मनु विक, पञ्चकुमारी, कविता नेपालीले कविता वाचन गर्नुभएको थियो । कवि अनिल श्रेष्ठले भने इच्छुकको रचना ‘प्यालेस्टाइनी मित्रहरुको नाममा’ वाचन गर्नुभएको थियो ।

इच्छुकको तस्बीरमा माल्र्यापण गरी सुरु भएको कार्यक्रममा सामना सांस्कृति परिवारका कलाकारहरुले इच्छुकले रचना गर्नुभएको चर्चित गीत ‘प्रतिबन्ध’ प्रस्तुत गर्नुभएको थियो ।






























