काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटब्यूरोको बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा निर्माण गर्न ९ वटा आधार तयार पारेको छ । बैठकले लिएका निर्णयहरु सार्वजनिक जानकारीका लागि शुक्रबार जारी प्रेस वक्तव्यमा भनिएको छ, “राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न निम्न आधारहरु प्रस्तुत गर्ने निर्णय गरेको छ ः सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेजी गर्ने, साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपको विरोध गर्ने, कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र फिर्ताको माग गर्ने, भारत र चीनबीच गरिएको लिपुलेख सम्झौता खारेजीको माग गर्ने, मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी) को खारेजीको माग गर्ने, स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)को विरोध गर्ने, जेनजेड “विद्रोह”लाई साम्राज्यवादद्वारा प्रायोजित भएको मान्ने, अहिलेको सरकारको कार्यशैलीलाई फासीवादी मान्ने, र, अग्रगामी संविधान निर्माण गर्ने विषयमा सहमत हुने ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
यही श्रावण २६ र २७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गत राजनीतिक परिषदको चौथो बैठक महासचिव क. सिपी गजुरेलको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।
१) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक सशस्त्र जनविद्रोह, महान जनयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनहरुमा शहादत प्राप्त गर्ने वीर–विराङ्गनाहरुप्रति श्रद्धाञ्जली सहित बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरुको सम्मानमा एक मिनेट मौनधारण गरी बैठकको प्रारम्भ गरियो ।
२) क. महासचिवद्वारा प्रस्तुत “संक्षिप्त राजनीतिक प्रतिवेदन” र “साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चा निर्माण सम्बन्धी अवधारण” माथि व्यापक छलफल गरी पारित गरियो । संक्षिप्त राजनीतिक प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै “आजसम्म साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताबीचको अन्तरविरोध प्रधान रहेको भएता पनि अन्तर–साम्राज्यवादी अन्तरविरोध तथा श्रम र पूँजीका बीचको अन्तरविरोध पनि सक्रिय रुपमा देखा परेका छन्” भनिएको छ । त्यसरी नै बैठकले राष्ट्रिय परिस्थितिको मुल्याङ्कन गर्दै “नेपालको राष्ट्रिय स्वाधिनतामाथिको खतरा बढेर गएको छ र जनतन्त्र तथा जनजीविका समस्याहरु गम्भीर बनेका छन्” भनी संश्लेषण गरेको छ । पार्टीले “राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा पैदा भएको आजको स्थितिमा राष्ट्रिय स्वाधीनताको प्रश्नलाई अग्रस्थानमा राखी विभिन्न देशभक्त, जनतान्त्रिक र अग्रगामी राजनीतिक पार्टी र व्यक्तित्वहरुका बीचमा राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् संयुक्त मोर्चा निर्माण गरी संघर्षका बलमा स्वाधीन संयुक्त सरकारको कार्यनीतिक कार्यक्रमलाई जोड दिएर अगाडि बढाउनु आवश्यक भएको निष्कर्ष निकालेको छ । बैठकले “कुन पार्टीसँग संयुक्त मोर्चा गर्ने भन्ने विषय ती पार्टीले हिजोसम्म अभ्यास गर्दै आएका कार्यदिशा र कार्यक्रमका आधारमा होइन, आज राष्ट्रिय स्वाधीनतामा आएको खतराका विरुद्ध कसको के अडान हुन्छ भन्नेबाट निर्धारण गर्नुपर्दछ” भनी संश्लेषण गरेको छ ।
३) राजनीतिक परिषदको यो वैठकले पार्टी कामको समीक्षा र विभिन्न व्यूरो इन्चार्ज तथा सचिवहरुको रिपोर्टिङ्को सश्ंलेषण गर्दै क्रान्तिका लागि अनुकूल वस्तुगत स्थिति अनुरुप आत्मगत स्थिति निर्माण गर्ने काममा जोड दिएको छ ।
४) राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न निम्न आधारहरु प्रस्तुत गर्ने निर्णय गरेको छ ः
क) सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेजी गर्ने ।
ख) साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपको विरोध गर्ने ।
ग) कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र फिर्ताको माग गर्ने ।
घ) भारत र चीनबीच गरिएको लिपुलेख सम्झौता खारेजीको माग गर्ने ।
ङ) मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी) को खारेजीको माग गर्ने ।
च) स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)को विरोध गर्ने ।
छ) जेनजेड “विद्रोह”लाई साम्राज्यवादद्वारा प्रायोजित भएको मान्ने ।
ज) अहिलेको सरकारको कार्यशैलीलाई फासीवादी मान्ने ।
झ) अग्रगामी संविधान निर्माण गर्ने विषयमा सहमत हुने ।
२०८३ साउन २९































