माइतीघरमा लघुवित्त पीडित र जनकपुरमा मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास

माइतीघरमा लघुवित्त पीडित र जनकपुरमा मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास

काठमाडौं । माइतीघर मण्डलामा विगत १८ दिनदेखि जारी लघुवित्त पीडितहरुको प्रदर्शनका क्रममा एक पीडितद्वारा सरकारले आफूहरुको माग सुुनुवाइ नगरेको भन्दै आत्मदाहको प्रयास गरेका छन् । उनलाई प्रहरीले उद्धार गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेका थिए । काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले तत्कालै उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएको छ । उनले आँखा पोल्यो भनेको र सोही उपचारका लागि अस्पताल लगिएको एसपी थापाले बताए ।
आगोले शरीरको माथिल्लो भागमा सामान्य जलनजस्तो देखिएको, तर खतरामुक्त रहेको उनले बताए । साउन १० गतेदेखि लघुवित्त पीडितहरुले लघुवित्त खारेजीको माग गर्दै निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।
लघुबित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन राजधानी मार्च आज १९ औँ दिनसम्म जारी छ । १९ औं दिनसम्म पनि सरकारले माइतीघरमा बसेको लघुवित्त पीडितलाई बेवास्था गर्दै मर्न बाध्य बनाएको छ ।
त्यसैगरी, एक मिटरब्याजपीडित महिलाले बुधबार जनकपुरमा आत्मदाह प्रयास गरेकी छन् । जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी थिइन् । मिटरब्याज पीडितहरुले अदालत अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले हस्तक्षेप गर्दै उद्धार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मधुसुधन न्यौपानेका अनुसार उनलाई प्रहरीले उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल पठाएको जानकारी दिएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।