राजधानी जोड्ने वैकल्पिक मार्गहरूमा यस्ता छन नयाँ नियम

राजधानी जोड्ने वैकल्पिक मार्गहरूमा यस्ता छन नयाँ नियम

काठमाडौ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गलगायत सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गहरुमा सवारीसाधनका लागि नयाँ नियम लागू गरिएको छ ।
सवारीसाधनको प्रकृति र क्षमताअनुसार आजदेखि लागू हुनेगरी छुट्टाछुट्टै रुट तोकिएको प्रहरीले जनाएको छ । जसअनुसार १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्ने छ ।यस्ता सवारीसाधन हेटौँडातर्फ फर्किँदा भने कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीको रुट प्रयोग गर्नुपर्ने छ ।
हेटौँडाबाट काठमाडौँतर्फ आउँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ । प्रहरीले मौसम र सडकको अवस्थासहित यात्रुको सुरक्षालाई मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले अनिवार्य रुपमा साँझ ६ बजेभित्र मकवानपुरस्थित इलाका प्रहरी कार्यालय ठिंगन चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको पनि जनाएको छ ।
विपद्जन्य समय भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गर्दै प्रहरीले जुनसुकै राजमार्गमा सवारी चलाउँदा धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ ।