काठमाडौं । चीनको तिब्बततर्फबाट आकस्मिक रूपमा भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवालगायत आसपासका जिल्लाहरूमा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता ‘सुदर्शन’ले भदौ १० गते प्रेस-वक्तव्य जारी गर्दै बिहान करिब ९ बजे आएको बाढीले रसुवाको टिमुरे बजार, स्याफ्रुबेसी, रसुवागढी लगायतका क्षेत्रका गाउँ, बस्ती, प्रहरी चौकी, विद्युत् गृह, बाटो र पुलहरू ध्वस्त पारेको जानकारी दिएका छन्। बाढीको असर रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खासम्म पुगेको छ।
बाढीका कारण सयौँ मानिसहरूको मृत्यु, बेपत्ता तथा घाइते भएको र अर्बौँ रूपैयाँको राष्ट्रिय तथा निजी सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी छ। पार्टीले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
यस अकल्पनीय राष्ट्रिय विपद्को घडीमा बाढीमा फसेका नागरिकहरूको तत्काल उद्धार गर्न, घाइतेहरूको उपचार गर्न र घरबार गुमाएकाहरूका लागि राहत, बसोबास तथा खानपानको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गरिएको छ। साथै प्रभावित क्षेत्रका पार्टी कार्यकर्ताहरूलाई उद्धार तथा राहत कार्यमा तत्काल फिल्डमा खटिनसमेत विशेष निर्देशन दिइएको छ।





























