राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको वार्षिक भेला भाद्र २३ गते काठमाण्डौमा हुने

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको वार्षिक भेला भाद्र २३ गते काठमाण्डौमा हुने

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको वार्षिक भेला भाद्र २३ गते काठमाण्डौमा हुने भएको छ । २०८३ भाद्र ८ गते बसेको मोर्चाको बैठकले उक्त भेलाको मिति र स्थान तय गरेको हो ।
२०८३ भाद्र ९ गते मोर्चाका संयोजक सन्तबहादुर नेपालीले प्रेस विज्ञप्ति जारी गर्दै आगामी भेलाबारे जानकारी गराउनुभएको हो । प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ –
“राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको बैठक मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा काठमाण्डौमा सम्पन्न भयो । मोर्चाले राष्ट्रिय भेला गर्ने महत्वपूर्ण निर्णयकासाथ समसामायिक विषयहरुमा पनि छलफल गरेर निश्कर्ष निकालेको छ ।
बैठकका निर्णयहरु यस प्रकार छन्ः
१.बारा जिल्ला सिमराकी ३ वर्षीय बालिका गरिमा चौधरीलाई चकलेट दिइ ललाइफकाई अपहरण गरेपछि बलात्कार गरी हत्या गर्ने जस्तो जघन्य,क्रूर र अमानवीय अपराधको राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठकले घोर निन्दा एवम् विराध गर्दछ । त्यस्तो त्रासद अपराधमा संलग्न दोषीहरुलाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न र पीडित परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति प्रदान गर्न बैठकले जोडदार माग गर्दछ ।
२. राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको वार्षिक भेला यही भाद्र महिनाको २३ गते काठमाण्डौमा गर्ने निर्यय भएको छ । यस भेला सम्बन्धी आवश्यक तयारीबारे पनि बैठकले निर्णय गरेको छ ।
३. बैठकले राष्ट्रिय स्वाधीनता,जनतान्त्रिक अधिकार,नागरिक स्वतन्त्रता र जनजीविका सम्बन्धी समान विचार भएका अन्य विभिन्न राजनीतिक घटकसँग पनि छलफल चलाई मोर्चामा सामेल हुन सक्ने स्थिति विकसित भएमा मोर्चाको नीति र विधि अनुसार सम्मिलित हुन आग्रह गर्ने निर्णय समेत गरेको छ ।
४.बैठकले लघुवित्त, मिटर ब्याज र सहकारी ठगीमा परेर आन्दोलनरत रहेका श्रमिक किसानहरुका न्यायपूर्ण र जायज मागहरु कुनै आलटाल नगरी पूरा गर्न र पीडित परिवारका समस्या हल गर्न सरकारसँगजोडदार माग गर्दछ ।
५.डोजर लगाई दमनको भरमा जबर्जस्ती उठिवास गराई विचल्लीमा पारिएका सुकुम्बासी तथा भूमिहीन परिवारलाई तत्काल यथोचित घरबास, रोजगारी र तिनका बाल बालिकाको शिक्षा सुचारु गर्ने व्यवस्था गर्न र तिनको उचित औषधोपचारको ब्यवस्था गर्न समेत बैठकले माग गर्दछ ।
६.देशमा बाह्य हस्तक्षेप बढिरहेको सन्देहास्पद स्थिति बनिरहेको अवस्थामा यूरेनियम जस्तो संवेदनशील र महत्वपूर्ण खनिज पदार्थ रहेको मुस्ताङ्ग क्षेत्रमा प्रधानमन्त्रीको अघोषित रहस्यमय गोप्य यात्राकिन भएको हो ? भन्ने विषयमा जनतामा आशंका उत्पन्न भएको हुँदा त्यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्न बैठकले आवश्यक ठान्दछ । ”