कमरेड विमला श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न

कमरेड विमला श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न

ललितपुर । ललितपुर महानगर कुपण्डोलस्थित बैकुण्ठ–चेत स्मृति साँस्कृतिक सभा कक्षमा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक र क्रान्तिकारी महिला संगठन नेपाल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा आयोजित कमरेड बिमला श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्लाका सचिव धन गोलेद्वारा सञ्चालित श्रद्धाञ्जली सभालाई नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक पवनमान श्रेष्ठले सभापतित्व गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सिपी गजुरेल हुनुहुन्थ्यो । अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली स्थायी समिति सदस्य रामसिंह श्रीस, हरिभक्त कँडेल, ईन्द्रमोहन सिग्देल, परि थापा लगायतका नेताहरुको बाक्लो उपस्थितिमा उक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। सभामा क्रान्तिको क्रममा सहीद भएका ज्ञात अज्ञात सहिदहरु र मृतक क बिमला श्रेष्ठप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा मृतक परिवारलाई शोकपत्र हस्तान्तरण गरिएको थियो।

श्रद्धाञ्जली सभालाई पार्टी प्रवक्ता हेमन्त प्रकाश ओलीले सम्बोधन गर्दै कमरेड बिमला श्रेष्ठको निधनबाट क शिव श्रेष्ठले भौतिक रुपले आफ्नो जीवन संगिनी गुमाउनु परेको छ भने पार्टीले एउटा कुशल जुझारु सदस्य गुमाउनु परेको मात्रै छैन पार्टी र क्रान्तिले ठूलो क्षति व्यहोर्न परेको चर्चा गर्दै उहाँको निधन बाट पैदा भएको शोकलाई शक्तिमा बदलेर मात्रै उहाँले पार्टी र क्रान्तिलाई पुर्याउनु भएको योगदानको साँचो अर्थमा सम्मान हुने बताउनुभयो।
दश वर्षे महान जनयुद्वको क्रममा काहाली लाग्दो दमन र धरपकडका विच पनि घाइतेहरुलाई सहयोग गर्ने, उपचारमा ठुल्ठुला जोखिम मोलेर सहज उपचारको वातावरण बनाउन सहजीकरण गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएकी क बिमला श्रेष्ठप्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै उहाँले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो।

मृतक बिमला श्रेष्ठकी जीवन संगी क शिव श्रेष्ठले कमरेड विमलाको साथ सहयोग र उत्प्रेरणाले नै निरन्तर पार्टी र क्रान्तिमा अनवरत लागिपरिरहने प्रेरणा मिलेको सम्झदै उहाँबाट शिक्षा र प्रेरणा लिएर वर्तमानलाई वुझ्ने धेरै बिषय भएको बताउनुहुँदै यो शोकलाई शक्तिमा बदल्नु नै सहि अर्थमा उहाँप्रति श्रद्वाञ्जली हुने बताउनुभयो र पार्टी र संगठनले यो कार्यक्रम आयोजना गरेर सम्मान गरेको मा विशेष धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा क्रान्तिकारी महिला संगठन नेपालकी संयोजक सारदा महतले उहाँबाट शिक्षा र प्रेरणा लिएर शोकलाई शक्तिमा बदल्नुपर्ने बताउदै पार्टी र क्रान्तिलाई उहाँले पुर्याउनु भएको योगदानलाई हाम्रो संगठनले शिक्षा र प्रेरणाको रुपमा सधैं ग्रहण गर्ने धारणा राख्नुभयो । र, कमरेड विमला श्रेष्ठप्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्त जनहरुमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो।

अन्तमा कार्यक्रमका सभापति पवनमान श्रेष्ठले समापन मन्तव्य राख्दै समयमै उहाँलाई उपचार गरेर जोगाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले पार्टी र क्रान्तिलाई पुर्याउनु भएको योगदानलाई अनुसरण गर्दै कत्तिसम्म जीवन व्यबहारमा देखाउन सक्छौं भन्ने कुराले महत्व राख्ने बताउनुहुँदै वर्तमानमा उहाँ जस्तो खारिएका सदस्यहरुको अभाव पार्टी र क्रान्तिमा सर्वत्र खड्किरहने बताउनुभयो। उहाँले पार्टी र क्रान्तिलाई पुर्याउनु भएको उच्च त्याग र योगदान बाट शिक्षा लिएर वर्तमानलाई अग्रगामी रुपान्तरण गर्न प्रेरित हुनुनै सहि अर्थको श्रद्वाञ्जली हुने बताउनुभयो।