काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको काठमाडौं उपत्यका विशेष समन्वय समितिको आयोजनामा आज काठमाडौंमा गरिएको विरोध प्रदर्शनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी), नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी लगायतका राजनीतिक पार्टीहरुका प्रतिनिधिहरु उपस्थित भएर जारी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीमाथि बालेन्द्र सरकारले फासिवादी बर्बरता लादेको, अमानवीय अत्याचार लादेको चर्चा गर्दै पीडितहरुको न्यायका निम्ति जारी आन्दोलनप्रति ऐक्यबद्धता मात्रै होइन हर प्रकारको सहयोग गर्न तयार रहेको उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा क्रान्तिकारी किसान महासंघका केन्द्रीय अध्यक्ष एवम् क्रान्तिकारी सुुकुम्बासी संघका इन्चार्ज सीताराम तामाङले बालेन्द्र साह नेतृत्वको सरकार गरिब सुकुम्बासी मारा सरकार भएको भन्दै यो सरकार र व्यवस्था रहेसम्म सुकुम्बासीहरुले न्याय पाउन नसक्ने ठोकुवा गर्नुभयो । ५०–६० वर्षदेखि काठमाडौंको नदी किनारमा बस्दै आएका सुकुम्बासीहरुलाई नागरिकता लिएको जिल्लातिर लखेट्ने सरकारको नीति अत्यन्तै अमानवीय, क्रूर र फासिष्ट रहेको भन्दै उहाँले उनीहरुको रोजीरोटी ग्यारेन्टी हुने गरी काठमाडौं उपत्यकाभित्रै उचित ढंगले व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । उहाँ सुकुम्बासीहरु र अव्यवस्थित बसोबासीहरुले न्याय नपाउन्जेलसम्म आफ्नो पार्टीले निरन्तर रुपमा ऐक्यबद्धता जाहेर मात्रै नगरेर सुुकुम्बासी समस्या समाधानका लागि कार्यक्रम बनाएरै आन्दोलन गर्ने उद्घोष पनि गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका प्रतिनिधि तथा भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौलाले बालेन्द्र साहले काठमाडौंको मेयर हुँदा भूमि आयोगसँग कार्य सहमति सम्झौता गरेर पनि वडामार्फत् सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत लिनुको सट्टा डोजर लिएर सुकुम्बासी बस्तीमा गएको चर्चा गर्दै तत्कालीन सरकारले सुकुम्बासीमाथि राज्यशक्तिको दुरुपयोग हुन नदिएको तर बालेन्द्र साह आफै प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीसमेत भएको बेला उनको ठाडो निर्देशनमा सुकुम्बासी बस्तीमा बुल्डोजर लगाएर अमानवीय क्रूरता प्रदर्शन गरेको बताउनुभयो । सुकुम्बासीमाथिको बर्बरताका विरुद्ध आफ्नो पार्टीले जारी सुकुम्बासी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वृहत् नागरिक आन्दोलनको तर्फबाट शक्तिकुमार कंशकार, महिला एकता समाजको तर्फबाट धन श्रेष्ठ, नेकपाबाट नहेन्द्र खड्का, श्रम संस्कृति पार्टीको तर्फबाट मणिराम प्रधान, नेकपा (एमाले)को तर्फबाट इन्द्र तामाङलगायतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले न्याय नपाएसम्म आफूहरुले सबै हिसाबले जारी आन्दोलनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

माइतीघर मण्डलाबाट निकालिएको ¥याली बिजुलीबजारमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
मोर्चाका उपत्यका समन्वय समितिका सचिव अरुण बस्नेतले सञ्चालन गरेको कार्यक्रममा समितिका इन्चार्ज दलमर्दन कामीले मोर्चाको आन्दोलन र यसका मागहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले भदौ १२ गतेभित्र आफूहरुको माग सुनुवाइ नगरे १२ गतेबाट माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनसन सुरु गर्ने र त्यसबाट पनि माग पूरा नभए सामूहिक आत्मदाह गर्न बाध्य हुने चेतावनी दिनुभएको थियो ।
कार्यक्रममा सुमन चौधरीले होल्डिङ सेन्टरमा सुकुम्बासीका बालबालिकाहरु पाउरोटी खाएर स्कूल जान बाध्य भएको भन्दै विरामी, सुत्केरी र वृद्धवृद्धाहरुको कन्तबिजोग रहेको जानकारी दिनुभयो ।































