विश्वभरी गोञ्जालो रिहाई अभियान

विश्वभरी गोञ्जालो रिहाई अभियान

काठमाडौं । गोञ्जालो जीवन प्रतिरक्षा अन्तर्राष्ट्रिय आकस्मिक समितिले आगामी १२ सेप्टेम्बरलाई का. गोञ्जालोको गिरफ्तारीको २ वर्ष पुगेको र २४ सेप्टेम्बरका दिन का. गोञ्जालोले जेलबाट भाषण दिएको दिन भएकोले ती दुवै दिनलाई विशेष महत्वको दिनका रुपमा लिइएको र ती दुवै दिन विशेष कार्यक्रम विश्वव्यापी रुपमा गर्न अन्तर्राष्ट्रिय आकस्मिक समितिले मातहतका समितिलाई परिपत्र गरेको बुझिएको छ ।
का. गोञ्जालोलाई उनका आफन्त, बचाउ पक्षका वकिल उनका डाक्टरलाई भेट्न दिनु पर्ने र उनलाई आफ्नो विचार भेट्नेहरुसँग व्यक्त गर्न पाउनु पर्ने मागलाई विशेष जोड दिंदै विश्वव्यापी रुपमा अभियान चलाउने, १२ सेप्टेम्बरका दिन एक्सन कार्यक्रम प्रगतिशील पक्षका पत्रिकामा सम्पादकीय प्रकाशन गर्ने र फुजिमारी सरकारको भत्सर्ना गर्ने कार्यक्रम रहने कुरा जानकारी भएको छ । हस्ताक्षर अभियानका विश्वका ५० जना व्यक्तित्वहरु वा संगठनको पेरुबाट प्रकाशित पत्रिकामा विज्ञापन समेत छपाउने व्यवस्था १२ सेप्टेम्बरमा हुने र २४ सेप्टेम्बरमा गोञ्जालोको भाषण वा उनका विचारको विश्वव्यापी प्रचारमा जोड दिइने छ ।

उता गोञ्जालोको शान्ति प्रस्तावबारे अमेरिकी साम्राज्यवादको दलाल फुजिमोरी सरकार र विश्वका प्रतिक्रियावादीहरुले काफी भ्रम र अन्यौल सिर्जना गरेका छन् । यसबाट स्वयं पेरु कम्युनिस्ट पार्टी र विश्वका कम्युनिस्ट पार्टीहरुमा पनि त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर भित्रभित्रै पर्न थालेको छ । पेरु जनक्रान्ति प्रति अविश्वास पैदा गराउन र अन्तर्राष्ट्रिय कम्युनिस्ट ऐक्यबद्धतालाई कमजोर पार्न प्रतिक्रियावादीहरुद्वारा भएका चालबाजी र षडयन्त्रबारे सतर्क हुनुपर्छ । तर अर्कोतिर गोञ्जालोले आत्मसमर्पण गरेर शान्ति प्रस्ताव राखेकै हुन त ? त्यो विश्वास गर्ने ठाउँ छैन र यदि त्यो रहेछ भने पनि पेरु जनक्रान्तिको रक्षा र कम्युनिस्ट क्रान्तिकारी ऐक्यबद्धतामा कुनै असर नपर्ने कुरा प्रष्ट छ ।

(नोटः यो समाचार नयाँ हाँक साप्ताहिक वर्ष ३, अंक ३१, २०५१ भाद्र ६ गते सोमबारबाट लिइएको हो। )