सडक, पहिरो र म

सडक, पहिरो र म

कविता

धर्तीमा पाईला टेकेपछि
जब घस्रिन सुरू गर्छ मानव
तातेताते गर्दै
वल्लो छेउदेखि पल्लो छेउसम्म
घरि गुन्द्रिमा अल्झिँदै
घरि ढोकाको बारमा ठोक्किँदै
आँगनमा पुग्छ यात्रा मानवको
बाल, किशोर, युवा, वयस्क
जेष्ठ नागरिकको परिचय बन्दासम्म
घरको कोठादेखि दलान, आँगन
गोरेटो हुँदै राजमार्ग
भूगोलको कुनाकुनासम्म
यात्रारत हुन्छ मानव ।

सडकका अनेकौँ यात्रामा
पहिरोको सामना गर्न
विवस छ मानव
माटो र चट्टानका सिमारेखाबाट
चिप्लिएको जमिनको तहले
अवरुद्ध गर्छ मानव यात्रा
अनायास तर नियमित
समय, कारण
निश्चित हुँदैन
कहिले भारि वर्षा
कहिले प्रचण्ड गर्मी
चट्टानका तहमा निर्मित दरार
प्रकृतिको नियमित प्रभाव
धमिरा लागेको काठ जस्तै
मक्किन्छ चट्टान
किट पतङ्ग र बुट्यानजस्तै
कुहिन्छ चट्टान ।

मानव स्वार्थमा प्रयोग हुँदा
जमिन मुनिको अवयव
नाङ्गेझार पारेर
माटो र चट्टानका निहीत गुणमा
वदलाव दिन्छ मानिस
निर्माण हुन्छन्
भूअपचलनका अनेक रूप
मानव यात्रा अवरुद्ध गर्छन् ।

म भने
पहिरो सित
मितेरी लगाउँदै छु
त्यही सडकमा वज्रिने
पहिरो सित
अन्तरंग बन्न खोजेको छु
उस्को कारण, कारक र प्रकृया बुझ्न
किन पहिरो
सडक सित निहु खोजिरहेछ
सडक, पहिरो र म
एकाकार हुन खोजिरहेछौँ ।