विशेषगरी निजी, आधुनिक मन्टेश्वरी तथा प्रि–स्कुलहरूमा हिन्दू धार्मिक पर्व कृष्ण जन्माष्टमीका दिन साना नानी–बाबुहरूलाई कृष्ण वा राधाको पहिरनमा प्रदर्शन गर्ने चलन व्यापक बन्दै गएको छ । पछिल्लो अवस्थामा कतिपय सामुदायिक स्कूलहरूले पनि यसलाई अनुसरण गरेको देखिन्छ । आजभोलि यस्ता धार्मिक पर्वहरू विद्यालयहरूका लागि मौलिक संस्कार सिकाउने नाउमा मार्केटिङ टुलका रूपमा प्रयोग भइरहेका छन् । यसपछाडिको निहित उद्देश्य व्यावशायिक प्रवर्धन नै रहेको छ । अन्यथा आज समाजलाई चाहिएको वैज्ञानिक संस्कार हो । बाल–बालिकाहरूलाई जब सानैदेखि कुनै मिथकीय पात्रलाई आदर्श बनाएर सिंगार्न थालिन्छ उनीहरूमा अन्धविश्वास र देखासिकीको विकास गर्नु बाहेक यसले अरू केही योगदान गर्न सक्दैन ।
कतिपयले यसलाई सांस्कृतिक पहिचान र विशुद्ध मनोरञ्जनका रूपमा लिनुपर्ने कुरा गर्छन् । तर बाल–बालिकाहरू न मनोरञ्जनका साधन हुन् न त यसले उनीहरूको चेतनास्तर र व्यक्तित्वमा कुनै परिवर्तन ल्याउँछ । बरू शैक्षिक संस्था र तिनका अगुवाहरू अन्धानुकरण र अन्धभक्तिको शिकार भएपछि तर्ककोपछि भन्दा पनि आर्थिक स्वार्थ र देखासिकी मुख्य बन्न पुगेको हो ।
हाम्रो शिक्षा प्रणाली कति विरोधाभाषपूर्ण छ भने यसले विज्ञानका नियम (बिग ब्याङ्ग थियोरी) पनि पढाउँछ तर ईश्वरभक्ति पनि सँगसँगै सिकाउँछ । जस्तो सरस्वती पूजा, बन्दना, आराधना । ईश्वरले नै सबै कुराको सृष्टि गरेका हुन् भन्ने खालका धारणाहरूको विकास । जसले गर्दा बाल–बालिकाहरूको मस्तिष्कमा विज्ञानका नयाँ नियमहरूले होइन धर्मान्धताले नै ठाउँ लिन पुग्छ ।
आजको समयले माग गरेको शिक्षा भनेको वैज्ञानिक चिन्तनमुखी शिक्षा हो । जसबाट बच्चाहरू सानैदेखि हरेक कुरामाथि प्रश्न गर्ने, तथ्य, तर्क र प्रमाणका आधारमा कुनै कुरालाई स्वीकार्ने या औचित्यहीन लाग्ने कुराहरूलाई अस्वीकार गर्न सकून् । रटिरटाउ शैलीमा आफूलाई गौतम बुद्धको देश भनेर आत्मरति गर्ने समाज भने कसरी गौतम बुद्धकै शिक्षाको विरूद्धमा छ भन्ने यसबाट थाहा हुन्छ । गौतम बुद्धको प्रष्ट सन्देश थियो: कुनै पनि कुरालाई आँखा चिम्लिएर विश्वास नगर, चाहे त्यो जतिसुकै चर्चित ग्रन्थमा लेखिएको या व्यक्तिले भनेको किन नहोस् । “अप्प दिपो भव” अर्थात् “आफ्नो उज्यालो आफै बन ।” तर बिडम्बना जीवन व्यवहारमा लागू गर्ने बेला समाजले अन्धभक्तिलाई नै अनुसरण गरेको छ । त्यसैले विद्यालय विद्यालयजस्तो हुनलाई बच्चालाई अन्धभक्तविरोधी बनाउने हो, अन्धभक्त होइन । स्थापित मिथकीय पात्रहरूको भेषमा उनीहरूलाई सिंगारेर प्रदर्शन गर्नु कुनै अर्थमा संस्कार सिकाएको मान्न सकिन्न । यसले संस्कार भन्ने कुरा चिन्तन, ज्ञान र परिश्रमले बन्ने होइन पहिरनमा देखिन्छ भन्ने संदेश दिन्छ । उनीहरूलाई मिथकीय पात्रहरूको भेषमा सिंगार्नुभन्दा बरू ती पात्रहरूमा आधरित कथाहरू पढ्न प्रेरित गरे चिन्तनको विकासमा मद्दत पुग्थ्यो होला ।
आज अभिभाकहरूलाई लोभ्याउनका लागि मौलिक संस्कृति, संस्कार, मूल्यमान्यता सिकाउने भन्दै उपपभोक्ता संस्कृतिका प्रभावकारी विज्ञापन थलो या प्रवर्धक बन्दै गएका छन् विद्यालयहरू । अन्धविश्वास र भाग्यवाद त्यसको अभिन्न अंग बन्न पुगेको छ ।
सरस्वती पूजाका नाममा भर्ना विज्ञापनको आकर्षक अफर अनि अन्धविश्वासको सँगसँगै प्रवर्धन, बर्थडेका नाउँमा उपभोक्ता संस्कृतिकै प्रवर्धन, तीज, दर खानेदेखि दशैंसम्म अब स्कुलमै मनाउन थालिसकेपछि विद्यार्थी र अभिभावकहरूमाथि थप आर्थिक मानसिक बोझहरू थुप्रिँदै जान थालेका छन् ।
विद्यालयहरूले त अन्धविश्वास, भाग्यवादजस्ता कुराहरूलाई न्यूनिकरण गर्दै जाने, उपभोक्ता संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने हो । देखासिकी, उपाभोक्त्ता संस्कृति, रुढिग्रस्तता, धार्मिक अन्धविश्वासहरू, चाडपर्व, बर्थडेका नाउँमा फजुल खर्चले यसैपनि समाजलाई आक्रान्त पारेको छ । तिनै विकृतिहरुका प्रभावकारी प्रवर्धकहरू विद्यालय तथा शिक्षकहरू भैसकेपछि विकृतिलाई रोक्ने कस्ले ? यसबाट जोगिने एउटै विकल्प जागरुक तप्का, प्रगतिशील संस्थाहरू, परिवार र व्यक्तिहरूले विद्यमान शिक्षा प्रणालीबाट होइन वैकल्पिक शिक्षा प्रणालीको सहारा लिनु हो । विद्यमान शिक्षा प्रणालीले कुनै खास क्षेत्रमा कार्यसम्पादन गर्नसक्ने प्रमाणपत्रधारी जनशक्ति उत्पादन गर्न सक्छ । तर यसले जागरुक, सचेत, प्रगतिशील र वैज्ञानिक चिन्तनयुक्त व्यक्तित्व निर्माण गर्न सक्दैन भन्ने कुराको हेक्का राख्नु हो । एउटा विज्ञानमा स्नातक या मास्टर गरेको व्यक्ति, डाक्टर, इन्जिनियर र शिक्षक आफ्ने भाग्य दशा देखाउन धार्मिक बाबा, ज्योतिष र गुरुहरूको शरणमा पुगिरेहको हुन्छ । यो मौजुदा शिक्षा प्रणालीकै असफलताको उपज हो ।
आजको पुँजीवादी व्यवस्थामा न राज्य धर्मनिरपेक्ष हुनसक्छ न त यस मातहतका सामाजिक संस्थाहरू । यसको उदाहरण भारतजस्तै हाम्रै देश नेपाल पनि हो । जहाँ धर्मनिरपेक्ष राज्य भनिएको छ त्यो पनि छलयुक्त भाषामा । तर यहाँ न राज्य धर्मनिरेक्षताको अभ्यास गर्छ न त सामाजिक संस्थाहरू नै धर्मनिरपेक्ष छन् । धर्म निरपेक्षताको अर्थ राज्य र सामाजिक संस्थाहरूलाई धार्मिक मामिलाहरूबाट मुक्त गर्नु हो तर त्यस्तो कहींं देखिँदैन । यसको सिधा अर्थ हो संविधानमा जे लेखिएको भएता पनि यो व्यवस्थालाई धर्मनिरपेक्षता चाहिएकै छैन । अनेकौं खाले धार्मिक धन्दाहरूलाई राज्यले नै संरक्षण गर्दै आइरहेको छ । निरुत्साहित गर्ने त टाढाको कुरा । हरेक वडाहरूमा चर्च, मन्दिर र गुम्बाहरूको विस्तार भएका छन् । विद्यालयका प्राङ्गणभित्र पुस्तकालय होलान् नहोलान् सरस्वतीका मन्दिरहरू विस्तार हुँदैछन् । स्थानीय सरकार, तिनका प्रतिनिधिहरू सामाजिक अगुवाहरूको दिमागमा एउटा सार्वजनिक पुस्तकालय खोल्ने कुराले प्रवेश पाउँदैन तर मन्दिर, चर्च, मस्जिद तथा अन्य धार्मिक प्रयोजनका लागि सजिलै बजेट छुट्याइन्छ, त्यसमा गर्व गरिन्छ । यतिखेर धर्मनिरपेक्षता भनेकै सबै धर्मको प्रवर्धन गर्नु हो भन्ने मान्यताले ठाउँ लिएको छ । अरू त अरू नै भए वामनामधारी राजनीतिक सङ्गठनहरू पनि यही मान्यताले ग्रस्त छ, त्यस अर्थमा उनीहरू वामपन्थी होइनन् । साँचो अर्थमा धर्मनिरपेक्षताको अभ्यास समाजवादमा मात्र सम्भव छ । पुँजीवादी व्यवस्थामा धर्मनिरपेक्षता र वैज्ञानिक चिन्तनका कुरा देखाउने दाँत मात्र हुन् ।
यसरी हेर्दा धार्मिक अन्धानुकरण र उपभोक्ता संस्कृतिको मिश्रणमा आधारित प्रशिक्षणले हाम्रा बाल–बालिकाहरू पनि नयाँ बोत्तलमा पुरानै रक्सी भनेझैँ धर्मान्ध, खन्चुवा संस्कृतिका शिकार अनि विवेकहीन भएर नै निस्किन्छन् । जबसम्म धर्मको व्यापारीकरण, संस्कार–संस्कृतिको व्यापारीकरण र शिक्षाको व्यापारीकरण चलिरहन्छ तबसम्म धर्मान्धता, भाग्यवाद र उपभोक्ता संस्कृति सगोत्री दाजुभाइजस्तै एक अर्काका सहयोगीको रूपमा काम गर्छन् । जसले निर्माण गर्ने भनेको एउटा धर्मभिरु, लालची, विवेकहीन र उपभोक्ता प्रणाी नै हो । यसका आजैदेखि शिक्षा र कुशिक्षाको बिचमा भेद छुट्याउन सक्ने आलोचनात्मक शिक्षाको आवश्यकता छ ।
२०८३ भाद्र १९






























