शैक्षिक संस्थाहरू: चेतनाका संवाहक या उपभोक्ता संस्कृतिका प्रवर्धक

शैक्षिक संस्थाहरू: चेतनाका संवाहक या उपभोक्ता संस्कृतिका प्रवर्धक

संस्कृति

विशेषगरी निजी, आधुनिक मन्टेश्वरी तथा प्रि–स्कुलहरूमा हिन्दू धार्मिक पर्व कृष्ण जन्माष्टमीका दिन साना नानी–बाबुहरूलाई कृष्ण वा राधाको पहिरनमा प्रदर्शन गर्ने चलन व्यापक बन्दै गएको छ । पछिल्लो अवस्थामा कतिपय सामुदायिक स्कूलहरूले पनि यसलाई अनुसरण गरेको देखिन्छ । आजभोलि यस्ता धार्मिक पर्वहरू विद्यालयहरूका लागि मौलिक संस्कार सिकाउने नाउमा मार्केटिङ टुलका रूपमा प्रयोग भइरहेका छन् । यसपछाडिको निहित उद्देश्य व्यावशायिक प्रवर्धन नै रहेको छ । अन्यथा आज समाजलाई चाहिएको वैज्ञानिक संस्कार हो । बाल–बालिकाहरूलाई जब सानैदेखि कुनै मिथकीय पात्रलाई आदर्श बनाएर सिंगार्न थालिन्छ उनीहरूमा अन्धविश्वास र देखासिकीको विकास गर्नु बाहेक यसले अरू केही योगदान गर्न सक्दैन ।
कतिपयले यसलाई सांस्कृतिक पहिचान र विशुद्ध मनोरञ्जनका रूपमा लिनुपर्ने कुरा गर्छन् । तर बाल–बालिकाहरू न मनोरञ्जनका साधन हुन् न त यसले उनीहरूको चेतनास्तर र व्यक्तित्वमा कुनै परिवर्तन ल्याउँछ । बरू शैक्षिक संस्था र तिनका अगुवाहरू अन्धानुकरण र अन्धभक्तिको शिकार भएपछि तर्ककोपछि भन्दा पनि आर्थिक स्वार्थ र देखासिकी मुख्य बन्न पुगेको हो ।

हाम्रो शिक्षा प्रणाली कति विरोधाभाषपूर्ण छ भने यसले विज्ञानका नियम (बिग ब्याङ्ग थियोरी) पनि पढाउँछ तर ईश्वरभक्ति पनि सँगसँगै सिकाउँछ । जस्तो सरस्वती पूजा, बन्दना, आराधना । ईश्वरले नै सबै कुराको सृष्टि गरेका हुन् भन्ने खालका धारणाहरूको विकास । जसले गर्दा बाल–बालिकाहरूको मस्तिष्कमा विज्ञानका नयाँ नियमहरूले होइन धर्मान्धताले नै ठाउँ लिन पुग्छ ।

आजको समयले माग गरेको शिक्षा भनेको वैज्ञानिक चिन्तनमुखी शिक्षा हो । जसबाट बच्चाहरू सानैदेखि हरेक कुरामाथि प्रश्न गर्ने, तथ्य, तर्क र प्रमाणका आधारमा कुनै कुरालाई स्वीकार्ने या औचित्यहीन लाग्ने कुराहरूलाई अस्वीकार गर्न सकून् । रटिरटाउ शैलीमा आफूलाई गौतम बुद्धको देश भनेर आत्मरति गर्ने समाज भने कसरी गौतम बुद्धकै शिक्षाको विरूद्धमा छ भन्ने यसबाट थाहा हुन्छ । गौतम बुद्धको प्रष्ट सन्देश थियो: कुनै पनि कुरालाई आँखा चिम्लिएर विश्वास नगर, चाहे त्यो जतिसुकै चर्चित ग्रन्थमा लेखिएको या व्यक्तिले भनेको किन नहोस् । “अप्प दिपो भव” अर्थात् “आफ्नो उज्यालो आफै बन ।” तर बिडम्बना जीवन व्यवहारमा लागू गर्ने बेला समाजले अन्धभक्तिलाई नै अनुसरण गरेको छ । त्यसैले विद्यालय विद्यालयजस्तो हुनलाई बच्चालाई अन्धभक्तविरोधी बनाउने हो, अन्धभक्त होइन । स्थापित मिथकीय पात्रहरूको भेषमा उनीहरूलाई सिंगारेर प्रदर्शन गर्नु कुनै अर्थमा संस्कार सिकाएको मान्न सकिन्न । यसले संस्कार भन्ने कुरा चिन्तन, ज्ञान र परिश्रमले बन्ने होइन पहिरनमा देखिन्छ भन्ने संदेश दिन्छ । उनीहरूलाई मिथकीय पात्रहरूको भेषमा सिंगार्नुभन्दा बरू ती पात्रहरूमा आधरित कथाहरू पढ्न प्रेरित गरे चिन्तनको विकासमा मद्दत पुग्थ्यो होला ।

आज अभिभाकहरूलाई लोभ्याउनका लागि मौलिक संस्कृति, संस्कार, मूल्यमान्यता सिकाउने भन्दै उपपभोक्ता संस्कृतिका प्रभावकारी विज्ञापन थलो या प्रवर्धक बन्दै गएका छन् विद्यालयहरू । अन्धविश्वास र भाग्यवाद त्यसको अभिन्न अंग बन्न पुगेको छ ।

सरस्वती पूजाका नाममा भर्ना विज्ञापनको आकर्षक अफर अनि अन्धविश्वासको सँगसँगै प्रवर्धन, बर्थडेका नाउँमा उपभोक्ता संस्कृतिकै प्रवर्धन, तीज, दर खानेदेखि दशैंसम्म अब स्कुलमै मनाउन थालिसकेपछि विद्यार्थी र अभिभावकहरूमाथि थप आर्थिक मानसिक बोझहरू थुप्रिँदै जान थालेका छन् ।

विद्यालयहरूले त अन्धविश्वास, भाग्यवादजस्ता कुराहरूलाई न्यूनिकरण गर्दै जाने, उपभोक्ता संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने हो । देखासिकी, उपाभोक्त्ता संस्कृति, रुढिग्रस्तता, धार्मिक अन्धविश्वासहरू, चाडपर्व, बर्थडेका नाउँमा फजुल खर्चले यसैपनि समाजलाई आक्रान्त पारेको छ । तिनै विकृतिहरुका प्रभावकारी प्रवर्धकहरू विद्यालय तथा शिक्षकहरू भैसकेपछि विकृतिलाई रोक्ने कस्ले ? यसबाट जोगिने एउटै विकल्प जागरुक तप्का, प्रगतिशील संस्थाहरू, परिवार र व्यक्तिहरूले विद्यमान शिक्षा प्रणालीबाट होइन वैकल्पिक शिक्षा प्रणालीको सहारा लिनु हो । विद्यमान शिक्षा प्रणालीले कुनै खास क्षेत्रमा कार्यसम्पादन गर्नसक्ने प्रमाणपत्रधारी जनशक्ति उत्पादन गर्न सक्छ । तर यसले जागरुक, सचेत, प्रगतिशील र वैज्ञानिक चिन्तनयुक्त व्यक्तित्व निर्माण गर्न सक्दैन भन्ने कुराको हेक्का राख्नु हो । एउटा विज्ञानमा स्नातक या मास्टर गरेको व्यक्ति, डाक्टर, इन्जिनियर र शिक्षक आफ्ने भाग्य दशा देखाउन धार्मिक बाबा, ज्योतिष र गुरुहरूको शरणमा पुगिरेहको हुन्छ । यो मौजुदा शिक्षा प्रणालीकै असफलताको उपज हो ।

आजको पुँजीवादी व्यवस्थामा न राज्य धर्मनिरपेक्ष हुनसक्छ न त यस मातहतका सामाजिक संस्थाहरू । यसको उदाहरण भारतजस्तै हाम्रै देश नेपाल पनि हो । जहाँ धर्मनिरपेक्ष राज्य भनिएको छ त्यो पनि छलयुक्त भाषामा । तर यहाँ न राज्य धर्मनिरेक्षताको अभ्यास गर्छ न त सामाजिक संस्थाहरू नै धर्मनिरपेक्ष छन् । धर्म निरपेक्षताको अर्थ राज्य र सामाजिक संस्थाहरूलाई धार्मिक मामिलाहरूबाट मुक्त गर्नु हो तर त्यस्तो कहींं देखिँदैन । यसको सिधा अर्थ हो संविधानमा जे लेखिएको भएता पनि यो व्यवस्थालाई धर्मनिरपेक्षता चाहिएकै छैन । अनेकौं खाले धार्मिक धन्दाहरूलाई राज्यले नै संरक्षण गर्दै आइरहेको छ । निरुत्साहित गर्ने त टाढाको कुरा । हरेक वडाहरूमा चर्च, मन्दिर र गुम्बाहरूको विस्तार भएका छन् । विद्यालयका प्राङ्गणभित्र पुस्तकालय होलान् नहोलान् सरस्वतीका मन्दिरहरू विस्तार हुँदैछन् । स्थानीय सरकार, तिनका प्रतिनिधिहरू सामाजिक अगुवाहरूको दिमागमा एउटा सार्वजनिक पुस्तकालय खोल्ने कुराले प्रवेश पाउँदैन तर मन्दिर, चर्च, मस्जिद तथा अन्य धार्मिक प्रयोजनका लागि सजिलै बजेट छुट्याइन्छ, त्यसमा गर्व गरिन्छ । यतिखेर धर्मनिरपेक्षता भनेकै सबै धर्मको प्रवर्धन गर्नु हो भन्ने मान्यताले ठाउँ लिएको छ । अरू त अरू नै भए वामनामधारी राजनीतिक सङ्गठनहरू पनि यही मान्यताले ग्रस्त छ, त्यस अर्थमा उनीहरू वामपन्थी होइनन् । साँचो अर्थमा धर्मनिरपेक्षताको अभ्यास समाजवादमा मात्र सम्भव छ । पुँजीवादी व्यवस्थामा धर्मनिरपेक्षता र वैज्ञानिक चिन्तनका कुरा देखाउने दाँत मात्र हुन् ।

यसरी हेर्दा धार्मिक अन्धानुकरण र उपभोक्ता संस्कृतिको मिश्रणमा आधारित प्रशिक्षणले हाम्रा बाल–बालिकाहरू पनि नयाँ बोत्तलमा पुरानै रक्सी भनेझैँ धर्मान्ध, खन्चुवा संस्कृतिका शिकार अनि विवेकहीन भएर नै निस्किन्छन् । जबसम्म धर्मको व्यापारीकरण, संस्कार–संस्कृतिको व्यापारीकरण र शिक्षाको व्यापारीकरण चलिरहन्छ तबसम्म धर्मान्धता, भाग्यवाद र उपभोक्ता संस्कृति सगोत्री दाजुभाइजस्तै एक अर्काका सहयोगीको रूपमा काम गर्छन् । जसले निर्माण गर्ने भनेको एउटा धर्मभिरु, लालची, विवेकहीन र उपभोक्ता प्रणाी नै हो । यसका आजैदेखि शिक्षा र कुशिक्षाको बिचमा भेद छुट्याउन सक्ने आलोचनात्मक शिक्षाको आवश्यकता छ ।
२०८३ भाद्र १९