जब यौटा सङ्कट आइपर्छ मौका हेरिबसेका अन्य सङ्कटहरू जुर्मुराउन थाल्ने रहेछन् । सङ्कटको बेला पूर्ण सोच विचारका साथ काम गर्न सकिएन भने थप सङ्कटहरू खुरुखुरु भित्रिने रहेछन् । अहिले नेपालमा यही भइरहेको छ । अहिलेसम्म विश्वमै नभएको घटना भदौ १० गते नेपालमा घट्यो । चाइना तर्फबाट केरुङ नाका ध्वस्त पार्दै छिरेको बाढीले भोटेकोशी त्रिसुली तटीय क्षेत्रमा करिब २०० मिटरको उचाइसम्म सम्पूर्ण संरचना उखेल्दै अघि बढ्यो र अकल्पनीय धनजनको क्षति गरायो ।
यही बेला चीनले तातोपानी झाङ्मु नाका बन्द गरिदियो । सुरक्षाको कारण भनेको छ । किन भन्यो ? उत्तर सरकारलाई नै थाहा होला । अमेरिकाल ‘काठमाडौंमा असुरक्षा छ’ भन्दै आफ्ना नागरिकलाई सुरक्षित हुन सुचना गरेको छ । किन हो, उत्तर केमा लुकेको छ ? हामी साधारण नागरिकलाई मेसो छैन । भोटेकोशी बाढी प्राकृतिक होइन कि भन्ने आशङ्का गर्नेहरू पनि नभएका होइनन् । मुस्ताङमा युरेनियम रहेको र अमेरिकाको आँखा त्यहीँ परेको यथार्थ सामु अघिल्लो हप्ता प्रधानमन्त्री मुस्ताङ पुगेर फर्के लगतै भोटेकोशी बौलाएकोप्रति अनेक अड्कलवाजी गरिएको छ ।
भीषण विनाशको पीडामा छ मुलुक । आठौं दिनसम्म लास समेत नपाएका हजारौं आफन्तले जीवित रहेकोमा आस मारेर कुशको शव बनाएर काजक्रिया अघि बढाए । जुन भयावय दृष्य नेपालमा पूर्वदेखि पश्चिमका प्राय: सबै घाटमा देखिन्थ्यो । बगरका शवहरूमा काग र गिद्दको रजाइँ छ, उद्दारको पर्खाई, उपचारको प्रक्रिया, बास व्यवस्थापनको अकल्पनीय अवस्था, राहत वितरणमा समस्या, हस्पिटल बाहिर टाँस गरिएका घाइते तथा मृतकको फोटोहरूमा आफन्त खोज्नेको भीड, कति हो कति पीडा ।
चितवनमा गरिएको शव व्यवस्थापनप्रति हिन्दू अतिवादीहरूले विरोध गरिरहेछन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय र विश्लेषणका आधारमा परिवारले चाहेमा लैजान मिल्ने किसिमले गाडेर व्यवस्थापन गर्ने निर्णय गरेको रहेछ । बाध्यात्मक विकल्पको रूपमा सरकारले शव पहिचानको चिन्हसहित गरेको व्यवस्थापन व्यक्तिगत रूपमा मलाई ठिकै लागिरहेछ । म भौतिकवादमा विश्वास गर्ने मान्छे भएकाले मरेपछि जे गरे पनि हुन्छ भन्छु । कष्टकासाथ बटुलिएका दूर्गन्धित टुक्राटाक्री खुल्ला राख्नु ठिक थिएन । त्यसैले परिस्थिति अनुसार डिएनए परीक्षण गरेर लैजान मिल्ने उपाय तत्काललाई अति अनुपयुक्त होइन ।
सहयोगका लागि चाइना, भारत र अमेरिकाबाट ढिलो गरी (बाढीको सातौं दिन) कार्गो विमानहरू आएका छन् । विमानमा उद्दार तथा सहयोगका सामान मात्र आए कि अन्य केही ? सरकारले कत्तिको निगरानी गरेको छ, थाहा छैन । यौटा सार्वभौम र स्वाधीन मुलुकमाथि हस्तक्षेपजन्य कार्य कदापी स्वीकार्य छैन तर यही मौकामा साम्राज्यवादी दाउपेच बढेको भान भएको छ । अस्तिदेखि बाढीग्रस्त क्षेत्रमा ‘ग्रीन आर्मी’ भनेर सेनाकै पोशाकमा (बुट्टा फरक) यौटा समुह उत्रिएका छन् । उनीहरूको क्रियाकलाप पनि शङ्कास्पद नै छ । समाचारहरूमा आएअनुसार जसमा नपाली सेनाका पूर्व सदस्य पनि छन् रे । कति साँचो हो, थाहा भएन । सेनाले उपसेना बनाएको हो भने किन ? प्रश्न उठेको छ ।
यही प्राकृतिक र मानव निर्मित विपत्तिबिच चाडवाड आउँदै छ । दैनिक उपभोग्य वस्तुको आपूर्तिमा थप समस्या उब्जिने देखिएकोछ । यस्तो बेला छिमेकी राष्ट्रहरूको सम्बन्धमा अपनाउनुपर्ने सजकता साथै राष्ट्रिय महŒव र आवश्यकता पहिचान गरेर समाधानमा ध्यान दिनुपर्नेमा सरकार असाध्यै कच्चा देखिएको छ । हिजो प्रधानमन्त्री बालेनले संसदमा उद्दारबारे बोलेको विषय आलोचनायोग्य छ । उनले टनेलमा फसेकाहरू निकाल्न नसक्नुको कारण ‘हिलो फाल्ने उपकरण विश्वमै नरहेको’ भने । तर सुरुङको हिलो फाल्ने मेसीन त्रिसुली बाटोमै अलपत्र छ । तुरुन्तै हेलीमा लगेर काम गरेको भए सुरुङमा फसेका आफन्तको अलाप कम हुँदो हो । सरकार आफू पनि सकिरहेको छैन अरूलाई गर्न पनि भाँजो हालिरहेछ । पठाएको राहत तीन दिनसम्म किन नबाँडेको ? भनेर वडामा सत्ताकै सांसद आशिका तामाङ जङ्गिइन् । किन यस्तो हुँदैछ ? सरकार भनेको अभिभावक हो । अभिभावक अनुभवले बनाउने हो तर प्राकृतिक प्रकृया विपरीत बनेको अभिभावक भएर हुनसक्छ अपरिक्कता पाइला–पाइलामा छ । सरकारको अपरिपक्कताको परिणाममा थप पीडित बन्नु परेकामा दु:ख लागेको छ ।
यही पीडाबिच उपत्यकामा अघोषित नाकाबन्दी हुँदै छ । काठमाडौं छिर्ने नाकाहरू प्राय: बन्द हुँदैछन् । कृष्णभीरको बाटो भोटेकोशी बाढीकै चपेटामा पर्यो । पानी र पहिरो देशको विभिन्न ठाउँमा निरन्तर चलिरहेछ । धादिङबाट गोरखा हुँदै बेनीघाट (बेनीघाटको पुल बाँकी थियो ) तरेर काठमाडौं छिर्ने गरेकामा हिजो नागढुङ्गामा पनि बाटो भासियो । हेटौंडाबाट आउने वैकल्पिक बाटोमा पनि ठूला मालबाहक गाडीलाई समस्या छ । यो पनि ठुला गाडीका कारण ठाउँठाउँमा अवरुद्धको खबर छ । यस अघिदेखि नै एल पी ग्याँसको अभावमा थियो उपत्यकामा । खोला किनारबाट उठाइएका सुकुम्बासीको व्यवस्थापनमा चुकिरहेको छ सरकार । समसामयिक पीडितहरू दिनहुँ माइतिघरमा कराइरहेछन् । अन्यायले आत्मदाहसम्म पुर्याइरहेछ । सरकारका कमजोरी र अहमताले आक्रान्त छ मुलुक ।
युट्युवे समाचार र दृष्यहरू भ्रम फैलाउने, आक्रोश बढाउने र पीडितलाई झन् पीडा थप्ने खालका छन् । मान्छेले मानवीय विशेषता नै गुमाइसकेको छ । पीडितको याचनामा समेत सामाजिक सञ्जालमा गालीगलौज अपशब्द र कुविचार वमन भइरहेका छन् । नियन्त्रण गर्ने निकाय छैन । एआइ निर्मित भिडियोहरूले भ्रम सिर्जना गरेर समाजमा छरिरहेछ । यो संवेदनशील समयलाई मध्यनजर गरेर गलतलाई रोक्ने प्रयास र सामाथ्र्य सरकारसँग देखिँदैन । बेला बेला ठुल्ठुला प्रकोपले अत्याइरहेकै मुलुक हो । प्रजातन्त्र नै आइसकेपछि पनि जनतामा आइपर्ने आपत र समस्याप्रति कुनै सरकार उत्तरदायी भएनन् । दोष एक अर्का थुपार्ने पैसा आफ्नोमा थुपार्ने काम गरिरहे । सजाय जनताले भोग्न परिरहेछ । जलवायुमा गम्भीर असर पार्ने काम विश्वका शक्तिराष्ट्रहरूले होडबाजीका साथ गरिरहे । जिरो प्रतिशत असर पुर्याउने हाम्रो मुलुकले व्यहोर्न परिरहेछ ।
यी सबै कुराको हिसाब किताब हुनुपर्छ । गर्दै गरौंला । खराब छन् । गलत गरे । देखिरहेछौँ र भोगिरहेछौँ । तर अहिले सङ्कटबाट निकास खोज्ने बेला हो । पीडितलाई मानसिक तथा भौतिक राहत चाहिएको छ । गलतलाई गलत भन्दै गरौँला । खराबको खोइरो खन्दै गरौंला । यति बेला देश बचाउने विषय मुख्य बनेको छ । जन, मन र माटो सबै भन्दा महत्वपूर्ण कुरा हो । यसैको सुरक्षाका निम्ति समयले समर्पण मागेको छ । अक्षमको योग्यता नाप्दै गरौला । सरकारको कमजोरी लेखेरै राखौँला । दिएको पीडा जोखेरै भरौँला तर अहिले देश जोगाउनु छ । पीडा घटाउनु छ । सरकारको भर नपरौँ । पीडितमाथि जथाभावी नबोलौँ । एक अर्काको साथ र मानवीय भाव साटासाट गरौँ । देश हाम्रो, पीडा हाम्रो । हामी बाँच्नु छ । हाम्रो स्वाधीनता बचाउनु छ र विश्वलाई प्रकृतिमाथिको व्यभिचार बन्द गर भनेर आवाज उठाउनु छ । अहिले पीडा घटाउने बेला । सक्छौँ घटाऊँ, सक्दैनौँ नबढाऊँ ।
२०८३/५/१८






























