असंवेद्य र वर्गद्वेषी राज्यसत्ताको सशक्त प्रतिरोधी दस्तावेज : यो देशको सबैभन्दा ठूलो मूर्दाघर हो सिंहदरबार

असंवेद्य र वर्गद्वेषी राज्यसत्ताको सशक्त प्रतिरोधी दस्तावेज : यो देशको सबैभन्दा ठूलो मूर्दाघर हो सिंहदरबार

समीक्षा

कवि समाजको जागरुक सदस्य हो । ऊ समयको साक्षी पनि हो । कविता सामाजिक उत्पादन हो । कविता श्रमसँग जोडिएको व्यञ्जनापूर्ण रागात्मक अभिव्यक्ति हो । यो देशको सबैभन्दा ठूलो मूर्दाघर हो सिंहदरबार (२०८३) प्रगतिवादी कवि अनिल श्रेष्ठको सद्य प्रकाशित कवितासङ्ग्रह हो । प्रस्तुत शीर्षकको कविता वि.सं. २०७१ सालमै विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । यस कवितासङ्ग्रहमा सामाजिक–आर्थिक र सामाजिक–राजनीतिक सन्दर्भहरूलाई कविताका मूल विषयवस्तु बनाइएको छ । मालेमा वैचारिकीलाई आत्मसात् गरेर कविता सिर्जना गर्ने श्रेष्ठका कवितामा वर्गीय असमानताले निर्माण गरेका आर्थिक विषमताको विषयवस्तुलाई केन्द्रीय समस्याका रूपमा चित्रण गरिएको छ । कार्ल माक्र्सले भनेझैँ आर्थिक पक्ष आधारले समाजका संस्कार, संस्कृति, शिक्षा, खेलकुद, धर्म, कानुन र राजनीतिजस्ता अधिरचनाअन्तर्गत पर्ने सबै पक्षलाई प्रभावित गर्छ भन्ने कवि श्रेष्ठको ठहर रहेको छ ।

नेपालमा विभिन्न कालखण्डमा विभिन्न खालका राजनीतिक व्यवस्था परिवर्तन भए । तर पनि शासकवर्गको मानसिकता र मनोविज्ञानमा सोचेजस्तो परिवर्तन भएन । राज्यसत्ताको रूपमा परिवर्तन भए पनि सारमा भने परिवर्तन भएन । तसर्थ कविको आक्रोस अभिव्यक्त भएको हो । कविले परिवर्तित राजनीतिक व्यवस्थामा पनि उत्पीडितवर्गले सामाजिक न्याय नपाएकाले असन्तुष्टि व्यक्त गर्नुका साथै प्रतिरोधको स्वर सुसेलेका हुन् । राज्यले शासितवर्ग र मोफसल एवम् भुइँमान्छेहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार यथावत रहेकाले कवि रुष्ट बनेका देखिन्छन् । उनले हेपाहा र विभेदकारी व्यवहार गर्ने शाक्तिशाली शासकवर्गको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई जडवत लासको संज्ञा दिएका हुन् । बहुसंख्यक विपन्न वर्गप्रति असंवेदनशील राज्यसत्ता र दमनकारी शासकवर्गलाई प्रतीकीकरण गरेर ‘मूर्दा’ र उक्त मूर्दाहरूले शासन सञ्चालन गर्ने थलोलाई ‘मूर्दाघर’को संज्ञा दिनु जायज देखिन्छ । जसरी मूर्दा प्राणहीन र संवेदनाशून्य हुन्छ ठिक त्यसैगरी शासितवर्गका लागि राज्य संवेदनाशून्य भएको कविको ठहर हो । कवि हुनु भनेको सत्ताको विरुदावली गायन गरेर निजी स्वार्थ पूरा गर्नु वा पद, प्रतिष्ठा, पुरस्कार र नियुक्ति पाउनु होइन । कवि साहित्यकार जहिले पनि शक्तिशाली राज्यसत्ताको प्रतिपक्षमा बसेर खबरदारी गर्नु पनि हो । राज्यका सञ्चालकलाई सही ठाउँमा रहन बस्न निर्देश गर्नु पनि हो । कविमा यस्तो क्रान्तिधर्मिता हुनुपर्दछ । कवि श्रेष्ठका प्रायजसो कविता क्रान्तिधर्मी भएकाले उनमा क्रान्तिचेत प्रबल रूपमा प्रकट भएको देखिन्छ । युगीन चेतनाले प्रखर कवि श्रेष्ठका कवितामा राज्यसत्ताको स्वेच्छाचारी र दमनकारी व्यवहारप्रति घृणाका साथै कडा प्रतिक्रिया जनाउनु यस कवितासङ्ग्रहका बहुसङ्ख्यक कविताका सामथ्र्य हो ।

समीक्ष्य सङ्ग्रहभित्रका कविता हेर्दा कवि विगतदेखि वर्तमानसम्मका सबैखाले सत्ताका प्रतिपक्षमा खरो भएर उभिएका छन् । उनका कतिपय कवितामा शासकवर्गका अकुत सम्पत्ति आर्जनप्रति रोष प्रकट गरिएको छ । श्रेष्ठका कवितामा क्रान्तिधर्मिताका साथै वर्गीय मुक्तिगामी चेतना मुखरित भएको पाइन्छ । उनले नेतृत्व पङ्क्तिका मानिसका द्वैध चरित्रप्रति व्यङ्ग्य प्रहार गरेका छन् । वर्गसङ्घर्षमा संलग्न अमुक नेताहरूमा वैचारिक स्खलन भएकोप्रति कविले तीव्र असन्तुष्टि पोखेका छन् । आफ्नो प्राणलाई हत्केलामा राखेर वर्गसङ्घर्षमा होमिएका योद्धाका अग्रगामी छलाङप्रति उच्च सम्मान प्रकट गरिएको छ । कवितामा छद्मभेषी र गैरजिम्मेवार नेतृŒवप्रति कटाक्ष गरिएको छ । वर्गसङ्घर्षमा संलग्न कतिपय नेताहरूले व्यक्तिगत, गुटगत र दलगत स्वार्थका लागि संसदवादी भासमा परेर आम मुक्तिकामी नागरिकलाई धोका दिएकाले तिनलाई वर्गहन्ता र स्वप्नहन्ताका रूपमा चित्रण गरिएको पाइन्छ । उनले अमुक नेताका कर्तुतलाई निर्भीकतापूर्वक उदाङ्गो पारेका छन् ।

प्रगतिवादी कवि श्रेष्ठले वर्गीय असमानता, अन्याय, अत्याचारका विरुद्ध एवम् उत्पीडितका सामाजिक न्याय प्राप्तिका लागि अर्को जनक्रान्तिको अभीष्ट चाहना राखेका छन् । वर्गहन्ताका जालझेलपूर्ण र दमनकारी व्यवहारले आपूmलाई क्रान्तिधर्मि कविता कोर्न घचघच्याएको कविको स्वीकारोक्ति रहेको छ । साहित्यकारका द्वैध चरित्र र बुद्धिजीवीका वैचारिक एवम् बौद्धिक दिवालियापनप्रति कविले तीव्र असन्तुष्टि पोखेका छन् । यस सङ्ग्रहभित्रका कवितामा बेरोजगारी समस्या र लैङ्गिकद्वेषी पितृसत्तात्मक निर्मितिप्रति कवि असहिष्ण्ॉ देखिएका छन् । सांसदका नागरिकप्रति अनुदार र गैरजिम्मेवारपूर्ण रवैयाप्रति कटाक्ष गरिएको छ । कवितामा कमजोर सुकुम्वासीहरूमाथि गरिएको राजकीय दमनको विरोध गरिएको छ । योजनाविहीन विकास कार्यक्रमले गर्दा पर्यावरणमा प्रतिकुल प्रभाव पारेको कवितामा अभिव्यक्त छ । छिमेकी राष्ट्रका हेपाहा र मिचाहा व्यवहारप्रति आक्रोस पोखिएको पाइन्छ । उनका कवितामा प्रशासनिक र न्यायिक निकायमा देखापरेका भ्रष्ट आचरणका विरुद्ध क्षोभ प्रकट गरिएको छ । उनले कवितामा नेता तथा कर्मचारीहरू व्यक्तिगत लाभका लागि बहुराष्ट्रिय कम्पनीका माल बिक्री गर्ने दलालका रूपमा काम गरिरहेकाप्रति कविको घृणा प्रकट भएको छ ।

साम्राज्यवादी शक्तिराष्ट्रहरूले युद्धका नाउँमा हतियार, बम र बारुदको व्यापार गर्ने स्वार्थी प्रवृत्तिप्रति कवि क्रुद्ध देखिन्छन् । उनी उत्पीडित गाजावासीप्रति सहानुभूति प्रकट गर्छन् । कवि अनिल सामाजिक अन्याय, अत्याचार, असमानता, वर्गद्वेष र मानवताद्वेषका विरुद्ध देशज हुँदै वैश्विक स्तरसम्म पुगेका छन् । यो उनको चेतनाको पैmलावटको उदात्तीकरण हो । उनले राजकीय असंवेदनशीलता र वर्गद्वेषी गतिविधिप्रति आपत्ति प्रकट गरेका छन् । सर्वहारा वर्गीय पक्षधरता, सामाजिक–आर्थिक, सामाजिक–राजनीतिक अवस्थाको सुधारको चाहना एवम् दमनकारी राज्यप्रति कडा प्रतिक्रिया जनाउनु यिनका कविताका सामथ्र्य हुन् । यस सङ्ग्रहभित्र मुक्त लयका ६७ वटा कविता सङ्गृहीत छन् । कवितामा अन्तरलयको संयोजन गरिएको छ । कवितामा आवश्यकताअनुसार तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग गरिएको छ । बिम्ब र प्रतीक प्रयोगका दृष्टिकोणबाट उनका कविता उम्दा खालका छन् । उनका कवितामा युगीन चेतनाको सबल प्रयोग पाइन्छ । विषयगत, भावगत र वैचारिक वैविध्य रहेको प्रस्तुत कवितासङ्ग्रह पठनीय र सङ्ग्रहनीय कृति बन्न पुगेको छ ।