काठमाडौं/१ जेठ
इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा वितरण गरिँदै आएका पुरस्कार यस वर्ष आदर्श राई, सफल सोडारी र मनु विकलाई दिइने भएको छ । उक्त कुरा इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा आज जारी वक्तव्यमा जनाइएको छ ।
प्रतिष्ठानद्वारा दिइने मुल पुरस्कार नृत्यनिर्देशक आदर्श राईलाई दिइने भएको छ भने प्रतिभा पुरस्कार कलातर्फको नृत्यकार तथा वाध्यवादक सफल सोडारीलाई र साहित्यतर्फको पुरस्कार कवि मनु विकलाई दिइने जनाइएको छ । पुरस्कार वितरण गर्ने विषयमा जारि गरिएको वक्तव्यमा भनिएको छ– ‘इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका सर्जक तथा प्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको सर्वविदितै छ । यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०८१’ नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत पचासको दशकदेखि निरन्तर क्रियाशील हुँदै जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि सांस्कृतिक÷साङ्गीतिक क्षेत्रमा क्रियाशील भई नृत्यकलामा मुख्य प्रशिक्षकको भूमिकामा रहेर स्थानीय, क्षत्रीय र सामाना परिवारमा निरन्तर शास्त्रीय एवम् लोकनृत्य कलामा प्रशिक्षण दिई जनवादी नृत्यको विकास र प्रवद्र्धनका लागि अहोरात्र जुट्दै मुलुकको समग्र जनपक्षीय आन्दोलनको मूलप्रवाहमा कलाका रूपले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका ओखलढुङ्गा, मलुङ – ८ राँगादीप निवासी बालकृष्ण राई (आदर्श)लाई दिइने निर्णय भएको छ ।’
सदस्यसचिव मरहट्टाद्वारा जारि वक्तव्यमा अगाडि भनिएको छ – ‘साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८१’ सत्तरीको दशकदेखि प्रगतिशील साहित्यलेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई कवितामार्फत् अभिव्यक्त गर्दै आउनु भएकी पाल्पा, रामपुर न.पा. – १० गेझा निवासी मनु वि.क.लाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८१’ नेपाली जनयुद्धमा संगीत तथा नृत्यकलाका माध्यमबाट जुझारु सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा स्थानीय, क्षेत्रीय हुँदै सामाना सांस्कृतिक परिवारमा संगठित भई निरन्तर जनपक्षीय कला संस्कृतिको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ओखलढुङ्गा, लिपु गा.पा. – ६ निवासी सफल सोडारीलाई दिइने भएको छ ।’
इच्छुक स्मृति पुरस्कारको राशी रु. एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र रहेको प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कारहरु यही जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिनेछ । सो दिनको वार्षिक कार्यक्रममा कवि, कलाकार र सम्पूर्ण सांस्कृतिक कर्मीहरूलाई सहभागिताका लागि प्रतिष्ठानले आह्वान गरेको छ ।