क्रान्तिकारी प्रेस संगठनद्वारा भोटेकोशी बाढीमा बेपत्ता पत्रकारको खोजी र कल्याणकारी विज्ञापन कटौती फिर्ता लिन माग

क्रान्तिकारी प्रेस संगठनद्वारा भोटेकोशी बाढीमा बेपत्ता पत्रकारको खोजी र कल्याणकारी विज्ञापन कटौती फिर्ता लिन माग

काठमाडौँ । क्रान्तिकारी प्रेस संगठन नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका पत्रकारहरूको तत्काल खोजी गर्न र सरकारले हालै लोककल्याणकारी विज्ञापनमा गरेको बजेट कटौती निर्णय सच्याउन जोडदार माग गरेको छ। संगठनका अध्यक्ष नारायण पंगेनीद्वारा भदौ २० गते जारी प्रेस विज्ञप्तिमा उक्त विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक तथा भयावह बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको जनाउँदै विज्ञप्तिमा बाढीपछि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी, महासंघ भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुंगाना, महासंघ नुवाकोट जिल्ला शाखाका पूर्व सदस्य राजकुमार नेपाली, र शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा हालसम्म पनि सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ।

संगठनले बाढीका कारण बेपत्ता भएका पत्रकारहरूको खोजी, प्रभावित पत्रकार तथा स्थानीय सञ्चार माध्यमहरूको पुनर्स्थापनालाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ।

साथै, विपद्को यस कठिन समयमा सरकारले कार्यविधि संशोधन गरी पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौती गरेकोमा संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद र लोककल्याणकारी विज्ञापनको रकममा गरिएको कटौती फिर्ता नगरिए देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ।

विज्ञप्तिमार्फत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न देशभरका क्रान्तिकारी पत्रकारहरूलाई आह्वान समेत गरिएको छ।