अपराध गरेको छ ग्लानि गर्दैन बिल्कुलै
ऊ नै सद्दे सदाचरी होझैं गर्छ कुरा ठुलै
मेरो यै देश हो भन्नै पनि लाग्छ निकै शरम्
लज्जा घीन हराएको देशको के कुरा गरम्
निकाली चटके चाला ढोङ ढाकेर भेसमा
नयाँका नाममा खोक्रा झिल्के देखेर देशमा
कुनै अनिष्टको पूर्वाभासले रन्थनिन्छु म
अब होला कसो गर्ने सोची गम्भीर हुन्छु म
सल्काई देशको छानो घरै पोल्न तयार छ
भरै छैन, जरै छैन, जे नि बोल्न तयार छ
के होला देशको चाला यस्तो नेता बनेपछि ?
‘स्वर्ग जाने’ भनी बाटो नर्कतर्फ खनेपछि ?
साँघुरा साँध नाघेर खुल्ला छल्फलमा बसौं
बाटो विमर्शले खुल्छ स्वच्छ संवादमा पसौं
पश्चगामी नभै जाऊँ, अग्रगामी कुरा गरौं
सत्त्वको तत्त्वले हाँकी युगक्रान्ति पूरा गरौं






























