अखिल (क्रान्तिकारी)द्वारा ६१औं विद्यार्थी एकता दिवस भव्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी)द्वारा ६१औं विद्यार्थी एकता दिवस भव्य रुपमा सम्पन्न

काठमाडाैं । अखिल(क्रान्तिकारी) एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा ६१औं विद्यार्थी एकता दिवस भव्य रुपमा सम्पन्न भएको छ । रत्नपार्कको शान्ति वाटिककामा एक समारोहको आयोजना गर्दै सो संगठनले विद्यार्थी एकता दिवश मनाएको हो । कार्यक्रममा संगठनका संयोजक महेशश्रेष्ठ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हरिभक्त कंडेलको सम्बोधन रहेको थियो ।
संयोजक श्रेष्ठले विद्यार्थी एकता दिवशको सन्दर्भ बताउँदै विद्यार्थीहरुले गरेको आन्दोलनको सपना साकार हुन नसकेको बताउनु भयो । वहाँले निजीकरण ,व्यापारीकरण र माफियाकरणले शैक्षिक क्षेत्र आक्रान्त बनेको उल्लेख गर्नुभयो । देशमा दिनानुदिन विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै वहाँले यसलाई रोक्नु भन्दा पनि सरकारले बढवा दिइरहेको बताउनु भयो ।
विद्यार्थी दिवशको इतिहास भनेको राष्ट्रियता, जनतन्त्र, जनजीविकाको संघर्षको दिन हो भन्दै अब यो व्यवस्थाको विरोधमा आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भयो र त्यसको नेतृत्व आफूहरुको संगठन अखिल क्रान्तिकारीले गर्ने पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले ६१औं विद्यार्थी दिवशको शुभकामना दिँदै विद्यार्थी दिवशलाई जनताको पक्षमा मनाउनु पर्ने कुरामा जोडदिनु भयो ।
नेपालको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्दै शिक्षा ,स्वास्थ्य दलाल पुँजीपति तथा नव धनाढ्यको हातमा गएको बताउनु भयो । विद्यार्थी आन्दोलनले राजनीतिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै अब पनि विद्यार्थीहरुले त्यसलाई निरन्तरता दिनु पर्ने कुरा बताउनु भयो । अहिले व्यवस्था परिवर्तन भएको भए पनि जनताका मौलिक अधिकारहरु कार्यान्वयन हुन नसकेको उल्लेख गर्नु भयो । आफूलाई कम्युनिष्ट बताउनेहरु अहिले उदारीकरण तथा निजीकरणको पक्षपाती रहेको बताउनुभयो । देशमा व्याप्त विकृति विसंगतिको विरोधमा युवा विद्यार्थीहरुले सचेत ढंगले संघर्षलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भयो । अवसरवादी तथा प्रतिगमनकारी शक्तिहरुले फेरी फाइदा उठाउन खोजिरहेकाले त्यसको विरोधमा क्रान्तिकारी कम्युनिष्ट पार्टी सदैव लाग्ने उल्लेख गर्नु भयो ।
कार्यक्रमा श्रमिक कम्युनिष्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सह संयोजक नवराज वि.क. महेश श्रेष्ठ नेतृत्वकाे अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको छ । वहाँलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले कमल र तारा अंकित झण्डा हस्तान्तरण गर्दै स्वागत गर्नु भएको थियाे । कार्यक्रमको सञ्चालन संगठनका कार्यालय सदस्य नेत्रबहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रम शुरु हुनुभन्दा पहिले जुलुश गरिएको थियो ।जुलुश शान्तिवाटिका, जमल ,घण्टाघर हुँदै पुनः शान्तिवाटिका मै आएर सभामा परिणत भएको थियो । अखिल (क्रान्तिकारी ) जिन्दावाद, वीर शहीदहरु लालसलाम, शैक्षिक व्यापारीकरण र निजीकरण बन्द गर, दलालहरु होसियार, विद्यार्थी एकता दिवस जिन्दावाद, बढ्दो महंगी नियन्त्रण गर जस्ता नाराहरु लगाइएको थियो।