पृथ्वी कसको ? मा हकदारको खोजी गर्दा

पृथ्वी कसको ? मा हकदारको खोजी गर्दा

समीक्षा

समसामयिक प्रगतिवादी साहित्यमा मित्रलाल पंज्ञानी नौलो नाम होइन । वि.सं. २०१७ साल मङ्सिर २५ गते काफलडाँडा, स्याङ्जामा जन्मेका पंज्ञानीले २० वर्षकै उमेरमा ‘सामन्तको परिचय (कवितासङ्ग्रह) प्रकाशनमा ल्याएका थिए । सामन्तको परिचयदेखि ‘युगान्तर’ महाकाव्यसम्मको साहित्यिक दौडानमा कविले करिब डेढ दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन् । २०६५ सालमा प्रकाशित ‘पृथ्वी कसको ?’ कवितासङ्ग्रह मैले कविको आफ्नै हातबाट प्राप्त गरेको थिएँ । पुस्तक हातमा परेपछि पनि पुस्तक पढिएन भने त त्यो पुस्तक प्रतिको अवमूल्यन नै हो भन्ने सोँचले कविता सर्सर्ती पढेँ तर पढ्दै गर्दा पुस्तक पढ्नैपर्नेमात्र नभएर लेख्नैपर्ने पनि रहेछ ।
पुस्तक पढ्न सुरु गर्दा नै अनुष्टुप छन्दमा लेखिएको ‘मलाई कसरी चिन्छौ ?’ शीर्षकको कविताले सुरुमै मन खैँचेर तान्यो । कवितामा पृथ्वीको उदारता र विशाल हृदयको चर्चा गरिएको छ । कविताले पृथ्वीको अधिकारी कुनै एक वर्ग र सीमित मान्छे होइन भन्ने बोध गराउँछ । पृथ्वीभित्र हरेक चिज र प्राणीहरू छन् । पृथ्वीमा आकाश र धरती छ । मरुभूमि र पानी छ । अनेक इच्छा र चाहना बोकेर प्राणीहरू पृथ्वीमै बसोबास गरेका छन् । अनेक जातजाति, समुदाय र वर्गका मान्छे बसेका छन् । तिनीहरू सबैको आआफ्नै परिचय र पहिचान छ । पुथ्वीमा सबैको उपभोग बराबर छ ।
कविता पढ्दै अगाडि बढ्दा कविका छोटामिठा कविताहरूले कतै पनि आलस्य महसुस गराउँदैनन् । कविताहरूले झारपातजस्ता खराबीहरू उखेलेर फ्याक्नुपर्ने सन्देश दिन्छन् । कविले कविताबाटै आमाको याद दिलाउँछन् ।
‘दुःखमा एकलै छाडेँ रुन्छिन् एकलासमा बसी उनी ।
कस्तो अन्धो म क्या स्वार्थी कस्तो निर्मम बैगुनी !! ’
(आमा, पृ.४ )
कविताहरू न्यायको लागि आवाज लिएर पुस्तकमा आएका छन् । देश पटक पटक लुछिएको छ । देशका सन्तति पटक पटक मारिएका छन् । अब त अति नै हुन थाल्यो । जनताहरूले बोल्न आवश्यक छ भन्दै कवि लेख्छन् —
‘यै अन्याय हुँदा न्याय बोल्न हो मुख खोल ए,
मरेकाहरू बोल्दैनन् ज्युँदा मानिस बोल हे । ’
(मरेकाहरू, पृ.५)
समाज वर्गीय छ र सम्पन्न वर्गले विपन्न वर्गमाथि शासन गरिरहेकै छ । यस कवितासङ्ग्रहमा कविताले वर्गीय मुक्तिको आवाज दिन्छन् । मान्छे —मान्छेबिचको विभेदले निम्त्याएको अन्यायबाट प्रताडित वर्ग अरुको भोगका निम्ति खसी झैँ चुपचाप रहने कि सहिद बन्ने ? कविताले महान सहिद बनेर महान मृत्यु स्वीकार्न प्रेरित गर्छन् । नेताहरूको चरित्रप्रति पनि कवि सन्तुष्ट छैनन् । नेता बन्न सजिलो छैन र त्यतिकै नेता पनि मानिदैन । नेता बन्न त्याग र बलिदान चाहिन्छ । जनता र देशप्रति समर्पित हुनुपर्छ भन्दै वास्तविक नेता बन्ने मार्ग कवितामा कोरिएको छ । त्यसैगरी नेपाली जनताले आड लाग्ने गरेका पार्टी र नेताहरू भरोसायोग्य छैनन् तसर्थ भरोसा गर्न लायक पार्टी र विचारमा आड लाग्न कविले सचेत गराएका छन् ।
कविता पढ्दै जाँदा प्रायः देशको बारेमा चिन्ता गरेका कविता भेटिन्छन् । राष्ट्रका शत्रु राष्ट्रभित्रै भएकै कारण देश पछाडि परेकोमा कविले चिन्ता व्यक्त गर्छन् । देशका शत्रु पहिचान गर्न हामीले ढिला गर्नुहुँदैन । भ्रष्टाचारी, घुसखोरी, अन्यायी, अत्याचारी, जनघाती, विभेदकारी नीति र शासन व्यवस्था नै यो देशका वास्तविक शत्रु हुन् भन्ने कविले कवितामार्फत व्यक्त गरेका छन् ।
‘‘बाटो छोडेर जाइन्न छिटो धेरै छिटो हुन
सित्तै पाएर खाइन्न नखानु अतिको नुन
काटेकै हो अझै धेरै धेरै काट्नु छ कण्टक
जाने हो मुक्तिको बाटो पुगिएला जहाँतक ।। ’
(मुक्तियात्रा, पृ.१६)
कविका कवितामा रफ्तार छ । सामाजिक न्याय र मुक्तियात्राको अविरल कुदिरहने नदीको झैँ वेग छ । आस्थामा विश्वास छ । विश्वासमा निष्ठा छ र खहरे होइन नदीको छाल छ । कवि कवितामा यसरी यात्रा गर्छन् —
‘‘पोते चुँडे झैँ मन चुँड्न हुन्न,
धुलो उडे झैँ मन उड्न हुन्न ।
बास्ना चलाई कुसुमी चमेली
बिस्तार जाउँ मन यो समेली ।। ’
(आफैलाई सम्झाउँदै, पृ.२४)
नयाँको खोजीमा अनेक व्यवस्था बदलिए । जुनसुकै व्यवस्था बदलिए पनि जनता थला परेकै छन् । जनताको समस्या जस्ताको तस्तै छन् । पैसा हुनेहरू शक्तिशाली बनेकै छन् । महाछलीहरूको रजगज चलेकै छ । अधिकार माग्नेहरू मारिन्छन् र मार्नेहरु नै मालिक भएका छन् । मार्नेहरू नै न्यायको फूललाई मुठीमा थिचेर बसेका छन् । कविले यहाँ पनि कलमको धारले हिर्काउँछन् –
यो पृथ्वी कसको मनुष्य सबको यी बार गर्छन् किन ?
दे मेरो अधिकार भन्छ जसले त्यल्लाई मार्छन् किन ?’
(आयो जमाना नयाँ, पृ.२५)
रात अर्थात कालो व्यवस्था धपाउन टुकी बालेर छोडेको छु भन्दै सुन्तलीजस्ता पात्रलाई ऊर्जा दिन कविले कविता लेख्छन् । समाजमा धनमोह व्याप्त छ । धनमोहमा चुर्लुम्म डुबेकाहरूको कुनै विश्वास हुँदैन । आफ्नैको बध गरेर धन जम्मा गर्ने गरेका घटानाहरू पनि समाजमा छन् । पैसो र मानव बिचको सम्बन्ध यस्तो भयो कि पैसाको लागि मान्छेले मान्छेलाई मान्छे देख्न छोड्यो । मान्छेभित्रको मान्छे मरिसकेको यथार्थता तथा आमा समानको देश बेचेका घटनारूलाई सङ्केत गर्दै कविले कवितामा आक्रोस गरेका छन् ।
‘युगको मान्छे’ कवितामा दुष्टहरूले यो सुन्दर सृष्टिलाई खानेमात्र गरेनन्, रुख नै ढालिदिए । त्यस्ता मान्छेहरूसँग यो युगका मान्छे मिल्न नसक्ने, बरु न्यायको लागि क्रान्तियात्राको शक्तिलाई कसैले पनि रोक्न छेक्न नहुने र अघि बढ्न दिनुपर्ने भाव व्यक्त गरिएको छ । कवि आफ्नो विचार र आश्थाप्रति सचेत र निष्ठावान छन् । कहीँ कतै पनि विचार र आश्थालाई डगमगाउन दिएका छैनन् । बरु जो डगमगाए र नेता बन्ने धुनमा सत्ताको स्वाद चाखेर गन्नाउन पुगेकाहरूलाई कविताले खबरदारी गर्दछन् । ‘तिम्रो मुक्ति म ल्याउने छु भन्दै सत्तामा गएर पतनको बाटोमा लागेलाई पाखण्ड भन्दै प्रहार गर्दछन् । विश्वासघात गर्नेप्रति कविताहरू आक्रोसित भएर उभिएका छन् । विश्वासघातले त शान्त मनलाई पनि क्रोधमा बदलिदिन्छ ।
राजनैतिक बेइमानीलाई इङ्गित गर्दै चराहरूलाई विम्ब बनाएर जनताहरू सजग रहन कविले लेख्छन् –
‘भोगेको इतिहास हो कपटको विश्वासमा तर्क हो,
थापेको छ धराप पर्ख वनका भोका चरा पर्ख हो । ’
(भोका चरा पर्ख हो, पृ.३८)
मान्छेले आफूलाई निकै प्रगति र उन्नति गरेको सम्झन्छ । चन्दमामा टेक्न सकेकोमा गर्व गर्छ । संसार आधुनिकता र सुविधा सम्पन्न भएकोमा निकै घमण्ड गर्छ तर आफ्नै बन्धु मानव जातिको पीडा अन्त्य गर्न सकेको छैन । मान्छेले मान्छेको मनलाई रुवाउन छोडेको छैन । सुखी बनाउन सकेको छैन । दूरबिनबाट निकै टाढासम्म हेर्छ तर आफ्नै साथमा रहेका दुःखीको आँसुको गहिराइ देख्न सक्दैन । यस्तो उन्नतिलाई कविका कवितामा अर्थहीन मानिएको छ ।
शिक्षा कस्तो हुनुपर्छ ? उचित शिक्षा विकासको मेरुदण्ड हो । शिक्षाले मानिसलाई हरेक चिज दिन सक्नुपर्छ । कविले शिक्षाको खोजी यसरी गर्छन् ।
‘खोलामा पुल होस् युगानुकुल होस् विज्ञानको ज्ञान होस्
शिक्षा सुन्दर शान्त बास रचना गर्ने तपोध्यान ध्यान होस् ।।’
(शिक्षा यस्तो होस् , पृ.४०)
आजको आवश्यकता भनेको जनताको उन्नयनको नीति भएको नेता हो । मर्ने र मार्ने खेल अब सदाका लागि बन्द हुनुपर्छ । लेख्नेहरूमा अब अर्थयुक्त लेखन हुनुपर्छ अर्थहीन कविता रचना गर्नु अबको आवश्यकता होइन । देश बिग्रनुको कारण कवितामा आउनुपर्नेमा कविले जोड दिएका छन् । अनावश्यक रङ्गरोगनले मान्छेको वास्तविक सुन्दरतालाई छायाँमा पारेको छ । बहिनीलाई सम्झाउने नाममा सबैलाई सम्झाउँदै गरगहना, हिरामोती, जस्ता चिजहरू कृते रङरोगन हुन् । वास्तविक सौन्दर्य भनेको आफूभित्रको चेतनाको आलोक हो भनेर कवितामा बोलेका छन् । कविले देशको सौन्दर्य र देशभक्तिलाई सरल भाषामा यसरी व्यक्त गरेका छन् —
‘जुन खोलाको पानी पियो त्यै खोलाको माया
सम्झिराख्छु मै बसेको चौतारीको छायाँ ।’
(सम्झना, पृ.४६)
नेपाली नारीहरूले भोग्नुपरेको निरक्षरताको पीडादेखि आफूलाई सबै चिज दिने जन्मभूमिलाई कसैले चिसिक्क चिमोट्यो भने आफैलाई दुख्ने गरेको प्रसङ्ग कवितामा आएका छन् । राष्ट्रियता डुब्न दिनु पनि मर्नु समान हो । पौडी खेल्न पानीमा नै सिक्नुपर्छ र पानीमा पसेकोले कि त पौडिन सिक्नुपर्छ कि त पानीमै मर्नुपर्छ भन्दै देशका हरेक नेता तथा नागरिकलाई कवितामार्फत सचेत बनाउन खोजिएको छ र जीवनबोध हुनुपर्नेमा जोड दिइएको छ । समाजमा द्वन्द्व छ । द्वन्द्वको मूल कारण विभेद हो । विभेदको अन्त्य भएमा यहाँ युद्ध स्वतः बन्द हुन्छ भन्ने विचार कवितामा आएको छ । राष्ट्रको विडम्बना के छ भने जति व्यवस्था र शासक बदलिए पनि प्रजा मर्ने खेल बन्द भएको छैन । प्रजा मारेर प्रजातन्त्र जोगिदैन भन्ने तिखो व्यङ्ग्य पनि कवितामा छ । एउटै चिज कसैका लागि पनि आश्था हुन्छ भने कसैका लागि अभिशाप बन्छ । समाजमा सबैको एकैप्रकारको दृष्टिकोण, विचार, इच्छा र चाहना हुँदैन । भिन्नाभिन्नै दृष्टिकोणको स्वाद पनि भिन्नाभिन्नै हुन्छ । भन्नाभिन्नै स्वाद बोकेका दृष्टिकोण र आश्थाको सम्मान हुनुपर्छ भन्ने कविको दृष्टिकोण रहेको छ । त्यसैगरी कविको कलम व्यङ्ग्य कौशलतामा पनि निकै तेज छ भन्ने कुराको आभास यसकविताले दिन्छ ।
‘शिर छोप्यो खुट्टा नाङ्गै खुट्टा छोप्यो शिर
शिरक नै छोटो छ यो छोपौँ कतातिर
अर्ती प्युँदै हिडेको छु तिर्खा मेटाउन
जिज्ञासाको तिर्खा मेट्ने मान्छे भेटिएन ।’
(सिङ्गो मान्छे खोई ?, पृ.५६)
मान्छेमा तमाम इच्छाशक्ति हुन्छन् । आफ्नै इच्छाशक्ति नियन्त्रण गर्न नसकेर मान्छेले अपराध र अन्याय गर्न पुग्छ र बिग्रन्छ । मान्छेले आफ्नो इच्छाशक्ति नियन्त्रण गर्नुपर्छ । इच्छा सबैका हुन्छन् । दुःख र सुद सबैसँग हुन्छन् । सबैका लागि आफ्नो जीवनको मूल्य उत्तिकै मूल्यवान हुन्छन् । भोक र प्यास सबैमा हुन्छ । घरमुलीले एक्लै खाएर छोराछोरीलाई भोकै सुताउने घरमुलीको क्रियाकलाप ठिक होइन भन्ने विम्बको प्रयोग गरी देशका शासकहरूको चरित्रलाई कवितामार्फत उजागर गर्न खोजिएको छ । ठुलै गल्ती देख्दादेख्दै पनि उसको अन्धभक्त बन्नु भनेको आफू पनि बेसरी गन्नाउनु हो । अर्कोतर्फ अन्धभक्तले अर्काले जति राम्रो गरे पनि नराम्रो देख्ने गर्छन् र अन्ध गाली गर्छन् । यस्तो गतिविधि राजनीतिमा अत्यधिक देखिन्छ । कविले यस्तो विकृतिप्रति यक्ष प्रश्न गर्दै गल्तीको आलोचना र सहीको मूल्याङ्कन गर्न आह्वान गर्छन् ।
‘मित्रलाई गोड मित्र खारिइँदै जाऊँ
आलोचना गर मान्छे सुधारिन पाऊँ ।
(आलोचना गर मान्छे, पृ.६१)
मान्छेको चरित्रले मात्र मान्छेको पहिचान खुल्छ । सद्दे र बेइमान मान्छे छुट्याउने माध्यम भनेको चरित्र हो । युगको आँधी उर्लिदा ठुला ठुला शासक पनि ढलेका इतिहास छन् । शक्ति र सत्ताको मदले उन्मत्तहरूको पनि ढल्ने पालो आउँछ । मान्छेभित्र द्वन्द्व छ ,झगडा गर्छ परन्तु आफ्नो गल्ती स्वीकार्न कठिन मान्छ । एउटाले अर्कोलाई दोष लगाए पनि आखिर एउटा अन्यायी र अर्को न्यायी त हुन्छ नै । अन्यायीले न्यायीबाट धेरै थोक खोस्न सक्छ तर न्यायको निम्ति सङ्घर्ष गर्नेको आश्था खोस्न सक्दैन । त्यसैगरी साइकल चलाउनेको जिन्दगीलाई विम्ब बनाई कविले समाजमा रहेको वर्गीय विभेदको सङ्केत गरेका छन् । बुर्जुवाहरूसँगको सङ्गतले आफ्नै अस्तित्व समाप्त हुने कुरा पनि कवितामा दर्साइएको छ ।
समाजका क्षणक्षणमा रुप बदल्ने मान्छेहरूलाई पनि अक्षरले हिर्काउन कवि पछि परेका छैनन् । कविले ‘अनि दुनियाँ हाँस्छन् ’ कवितामा लेखेको व्यङ्ग्य कविता यस्तो छ ।
‘अजीवका छन् कोही मेरा मित्र
एकछिन अघि आफैले बोलेका कुरा
एकछिन् पछि आफैले काट्छन्
धोती फुस्केको पत्तै पाउँदैनन
अनि दुनियाँ हाँस्छन् ।
(अनि दुनियाँ हाँस्छन्, पृ.७४ )
वर्गीय समाजमा धनी वर्ग जहिले पनि खुसी छन् उनीहरू भोज गर्छन् । मोजमा रमाउँछन् तर अर्कोतर्फ अर्को सिङ्गै वर्ग छ जसलाई रमाउने र भोजभतेर गर्ने खुसीको क्षण कहिल्यै आउँदैन । एकातिर दुःख, पीडा र वेदना छ अर्कातिर खुसियाली छ । कविलाई विलासी भोजभतेरमा जाने इच्छा छैन । दुःख, पीडा र गरिबीले थिचेर बेहाल भएका घरमा गएर साथ दिने प्रण कवितामार्फत कविले गर्दछन् ।
कविता सङ्ग्रहको अन्तिम कविता हो ‘घर’ । घर त केवल बस्नका लागि हो, अमूल्य जीवनलाई बाँध्नका लागि होइन भन्दै अन्तिम पङ्ति लेख्दै कवितासङ्ग्रहबाट कविले बिदा लिन्छन् ।
‘घर बस्नका लागि हो
जीवन बस्नका लागि होइन ।’
अन्त्यमा,
यो कविता कृतिको प्रमुख भावपक्ष तथा वैचारिक पक्ष भनेको वर्गीय समाज र वर्गचेतनाको दृष्टिकोण हो । सत्तासीन तथा शासक वर्गले उत्पीडित एवम् शासित वर्गमाथि थोपरेका विभिन्न खालका व्रिmयाकलापलाई विषयवस्तु बनाएर तिनीहरूको भण्डाफोर गर्दै वास्तविकता उजागर गर्न कविता सफल छन् । यो कविको दक्षता पनि हो । दोस्रो महत्वपूर्ण पक्ष भनेको समाज र शासक वर्गको शसकीय व्यवस्थाप्रतिको तीखो व्यङ्ग्य हो । कवितामा विकृति, विसङ्गति, अन्याय, अत्याचार, विभेद, शोषण तथा छलकपटको प्रणालीप्रति कडा प्रहार गरिएको छ । त्यसैगरी कवितासङ्ग्रहको तेसा्रे महत्वपूर्ण पक्ष भनेको मानवताको पक्ष हो । मान्छेले मान्छेमाथि शासन गर्न जुन क्रूर, कुरुप र कपट संस्कारलाई जन्म दिएको छ त्यो मानवता विरोधी छ भनी कविताहरूले मानावताको खोजी गरेका छन् । कवितामा मानवताको आवश्यकताको झल्को देखाउँछन् । त्यसैगरी कवितासङ्ग्रहको चौथो महत्वपूर्ण पक्ष भनेको विद्रोह चेतना हो । पुराना, सडेगलेका, मक्किएका राजनैतिक शासन व्यवस्था, सामाजिक व्यवस्था, आर्थिक, सास्कृतिक पक्षले नयाँ युगलाई सम्बोधन गर्न सकेको छैन र आजको आवश्यकता बुझ्न सकेको छैन तसर्थ पुरानोको विरुद्ध विद्रोह गर्नुपर्ने सन्देश यस कृतिले बोकेको छ । पाँचौ महत्वपूर्ण तथ्य भनेको कृतिमा छरपष्ट फिँजारिएको देशभक्तिको सन्देश हो देश विग्रनुको कारणको खाजी गरी राष्ट्रिय स्वाभिमानको रक्षा आजको आवश्यकता हो । कृतिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रतिशील÷प्रगतिवादी धाराको बेजोड प्रस्तुति हो । सुन्दर र शोषणमुक्त समाजको आवश्यकता रहेको महसुस कृतिले गराउँछ । सत्तासीन वर्गप्रति आव्रmोस र विद्रोहभाव सम्प्रेषण गर्ने यो कवितासङ्ग्रह प्रत्येक शोषितपीडित नागरिकको सम्पत्ति हो ।
यसरी ५५ ओटा मिठा, छोँटा, चोटिला कविताहरूको सङ्ग्रह हो, ‘पृथ्वी कसको ?’ कुनै शास्त्रीय लयमा त कुनै लोक लय र मुक्त लयमा छङछङाउँदै सामाजिक, राजनैतिक, वैयक्तिक जीवनका सङ्गीन यात्रामा कविले पाठकलाई जोस्याउँदै खुब कुदाउने गर्छन् । पुस्तक पढ्दै जाँदा कुनै पनि पङ्ति त्यस्ता छैनन् जसले मुटुसम्मै नछोओस् । यस कवितासङ्ग्रहमा सङ्ग्रहित कवितामा सन्देशको विविधता पाइन्छ । कविताहरूमा विम्ब, प्रतीक र अलङ्कारहरूको बेजोड प्रयोग पाइन्छ भने भाषाशैली पनि सरल, गेयात्मक एवम् शब्दहरू परिस्कृत छन् । पढ्दै जाँदा हरेक कवितामा नयाँपनको आभास मिल्छ । के के कर्माचार्यको आवरणकलामा सजिएको यो पुस्तकको आकार जम्माजम्मी ८८ पेजको छ तर पुस्तक गहनतम छ ।
कवि मित्रलाल पंज्ञानीका रचनाहरूको निरन्तरताको आवश्यकता अझै छ । जनचेतनाको लागि कविको कलम निरन्तर चलिरहोस् ।
२०८३ साउन २३, मुसिकोट, रुकुम पश्चिम