ढल्किँदो घाम

ढल्किँदो घाम

कविता

मेरो समयको साक्षी
विशाल बनको बीचमा उभिएको
चट्टान जस्तो छ
निरन्तर अनेक रूप र उनका चरित्रहरू
नियाली रहेको छ
भन्नेगर्थे र सोध्ने गर्थे
मेरो बनमा अब बाघहरू फर्कदैनन् रे
यो त बाघको ओडार नभएको बन हो रे
हिजो आज मेरा सामु बाघका शाबकहरू आउँने गर्छन्
र भन्ने गर्छन्
हाम्रा नङग्राहरूले काम गर्दैनन्
हाम्रा दाँतहरूले फलामे बोक्रा चिर्न सकेनन्
कुन मोहको नुनले हाम्रो रगतको जँगल सुकाइदिएछ
किन गर्जन भन्दा रेश्मी ओडारहरू
न्यानो लाग्न थालेछन्
मेरो सपनाले नियाली रहको छ

मेरो मौन उजाड बगर होइन
यो ज्वालामूखीको गर्भ हो
बाहिरबाट शान्त छ
म भित्र निरन्तर नयाँ युगको रगत उम्लिरहेको छ
मेरो धैर्यको चट्टानमा बुत्तिएका धारहरू उध्याउँदै छ

बाघको गर्जनहरू सत्ताको चौतारीमा पुगेर
बिरालोको म्याउमा फेरिएछ
जँगल छाडेका हात र खुट्टाहरूका
नङग्राहरू भmरेछन्,
दाँत हल्लिएछ
मेरो जिजीबिषाले नियाली रहेछ

मेरो बन आगोले पनि खान नसकेको जँगल हो
तिमीलेझैँ भकारी थापेर ढाडिएको पेटलाई
बाघको छालाले छोप्नु परेको छैन
सहरका सत्ता दरबार चहार्दै गर्जन बेच्नु परेको छैन
मलाई तिम्रो प्रश्नको
उत्तर दिन हतार छैन

मेरो इतिहासले नियाली रहेछ
एउटा बाघ हिंड्न खोज्छ तर आफ्नै छायाँमा अल्मिलिन्छ
गर्जन खोज्छ तर बिन्तिको आवाज मात्र निकाल्छ
लत्रिएको बाघ शहरको प्रतिध्वनीमा झस्किन थालेको छ
ढल्किँदो घामसँगै अस्ताउँन खोज्दै छ ।