भोटेकोसीको किनारबाट
शवको सगरमाथामाथि उभिएर
खोज्दैछन् धेरै उत्पीडित आँखाहरू
सामाजिक न्याय उत्पीडकहरूमाझ
गुमाएका प्रियजनका लागि
निर्दोष नेपाली बन्धुबान्धवका लागि
प्राकृतिक न्याय पर्यावरणका लागि
के दोष थियो र तिनका ?
दुरका गाउँबस्तीमा बस्नुमा
प्रकृतिको काखमा रमाउँदै लुटपुटिनुमा
जल, जमिन, जंगल र वायुसँग मितेरी गाँस्नुमा
तिनकै वरिपरि रम्नुमा र तिनलाई नै पुज्नुमा
दोष त थियो केवल तिम्रा प्रपञ्चमा
देशदेशावरका भूगर्भ उत्खनन्मा
निमुखाका अमूल्य खजाना लुट्नुमा
शक्तिको आडमा अर्काको गुप्त भण्डार
रित्याएर आ ठुलो बन्नुमा
आफू शक्तिशाली बन्नुमा,
होडमा आधिपत्य जमाउने,
पार्यौ कुरूप सुन्दर संसारकै
जल, जमिन र हराभरा सुन्दर धर्ती नै
विषाक्त बनायौ वायुमण्डल नै
बारुदी भट्टी चलाउने होडमा
संसारभरि आफ्नो सिक्का चलाउने
बढायौ तापक्रम तिमी ठालुहरूले
पार्यौ विवर ओजोन तहमा
केवल विकासको नाउँमा
सत्ताशक्ति र सामथ्र्य हत्याउने दाउमा
मानवताको पाठ घोकाउने तिमीहरू
वाचाल चालवाज वर्गहन्ता मानवहन्ता तिमीहरू
पर्यावरण संहारक तिमीहरू
बारुदकै भट्टीमाथि बसेर अझ पनि
हाँस्दै छौ अट्टहासको हाँसो तिमीहरू
बनेको छ कारण त्यही नै विनाशको
सामथ्र्यहीन मानवका निम्ति
सुन्दर धरा वायु आकाशका निम्ति
तर हाम्रो हिस्साको आकाशमा
कार्बन, क्लोरोङ्खलोरो कार्बन थुपार्ने
अधिकार दियो कसले तिमीहरूलाई ?
हाम्रा स्वच्छ वायुमा विष घोल्ने
अधिकार दियो कसले तिमीहरूलाई ?
हाम्रा आस्थाका धरोहर
स्वाभिमान र पहिचानको शिरपोष पगाल्ने
अधिकार दियो कसले तिमीहरूलाई ?
निरपराध नागरिकलाई
हिउँ सुनामीमा धकेल्ने
अधिकार दियो कसले तिमीहरूलाई ?
हाम्रा हिस्साको ओजोन तह
छिया छिया पारेर प्वाल पार्ने
अधिकार दियो कसले तिमीहरूलाई ?
हाम्रा धरा जल जंगल आकाश
कुरूप बनाउने
अधिकार दियो कसले तिमीहरूलाई ?
भोटेकोसीको किनारबाट उक्लिएर
सगरमाथाको शिरबाट
खबरदारी गर्दैछौं तिमीहरूलाई
रोक आफ्ना वर्गहन्ता, मानवहन्ता हर्कत
रोक आफ्ना अन्ध आणविक ताकत
धराद्वेषी वायुद्वेषी मानवद्वेषी
खलपात्र छद्मभेषी तिमीहरू
उर्लियो भने मानव सुनामी
बग्ने छन् तिम्रा दम्भी सत्ता पनि
परिणत हुनेछन् बगरमा
भोटेकोसीको बगर झैँ
पर्यावरणहन्ता ठालु तिमीहरू
जब जम्नेछ उत्पीडित बाल वृद्ध वनिताका आँसु
उठ्ने छ र उभिने छ चट्टानी अडान लिएर
अन्याय, अत्याचार र अमानवीय व्यवहारका विरुद्ध
प्रतिरोधको सङ्कल्प सगरमाथा भएर
माग्न एक एक गरेर हिसाबकिताब
संसारभरिका शोषित उत्पीडितहरू
खोज्न आफ्ना नैसर्गिक जीवनअधिकार
पाउने छैनौ तिमीहरू भाग्ने कुनै ठाउँ
पाउने छैनौ तिमीहरू लुक्ने कुनै गाउँ
तब रोक्न सक्ने छैनन् तिम्रा
गगनभेदी मिसाइल र लुक्न दिने छैनन् बङ्करमा
खोजी खोजी चुट्ने छन् पार्नेछन् टुक्रा टुक्रा
गुमाएका आफन्तजनका हातहरूले
गुमाएका प्रियजनका साथहरूले
एक एक गरेर हिसाब खोज्दै































