चन्द्रा थानीको कत्लेयाम केही छलफल

चन्द्रा थानीको कत्लेयाम केही छलफल

समीक्षा

नेपाली प्रगतिवादि साहित्यिक आन्दोलनमा कयौं स्रष्टा साथीहरूसँग भेटघाट, चिनजान र सिर्जनामाथि छलफल र साटासाट गर्ने केहीअवसर जुट्ने गरेको छ । एउटै लक्ष्य एउटै आन्दोलनमा जोडिएर पनि कतिपय मित्रहरूसँग घनिष्ठता नहुने रहेछ । त्यस्तै साथीहरू मध्ये चन्द्रा थानी पनि पर्नु हुन्छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिमा हामी निर्वाचित त भयौं तर साङ्गठनिक विषयमाथि आ–आफ्ना कोणबाट बहस छलफल भए पनि अन्तरङ्ग छलफल भने हुन सकेन । जनसांस्कृतिक महासङ्घमा मात्र होइन प्रगतिशील लेखक सङ्घको केन्द्रय समितिमा घटकीय मोर्चाको तर्फबाट दुई कार्यकालसँगै रहयौं । उहाँ अन्तरमुखी स्वभावको हुनुहुन्थ्यो र कम बोल्नु हुन्थ्यो । भेला बैठकहरूमा खाना नास्ताको समयमा पनि महिला साथीहरूको झुण्ड एकातिर हुन्थ्यो भने हामी अर्कैतिर भइन्थ्यो त्यसैले पनि निकट हुन असहज थियो । एकाएक उनको दु:खद् निधनको खबरले मलाई स्तब्ध बनायो ।

नेपाली साहित्यमा पुरुषहरूको तुलनामा महिलाहरूको संख्या केही न्यून छ । समाजमा युगौदेखि चलि आएको पुरुष सत्ताको हैकमले महिलाहरूमाथि अन्यायपूर्ण विभेद गरेको छ । क्षमता र प्रतिभा भएका महिलाहरू पनि अवसरका कारण बञ्चितीमा छन् । छोरीलाई शिक्षाबाट विमुख गराउने र भाग्य वा कर्मलाई आधार बनाएर महिलाहरूमाथि दमनको लामो शृङ्खला कायम रह्यो । २००७ को आंशिक परिवर्तनले सम्पन्न परिवारका सिमित महिलाहरू मात्र शिक्षामा चासो राख्न थाले युगको विकॉ हुँदै आउँदा मध्यम वर्गका छोरी चेलीहरूले पनि साक्षर बन्न पाउने चेतको विकास भयो ।

अहिलेको युगसम्म आउँदा शिक्षालाई माध्यमिक तहसम्म अनिवार्य र नि:शुल्क भनिए पनि दुर दराजका कयौं छोरीहरू यो अवसरबाट बञ्चित छन् । यसकारण पनि सिर्जना क्षेत्रमा नारी हस्तक्षेप आशलाग्दो किसिमले हुन सकेको छैन । अहिले साहित्यिक सांस्कृतिक क्षेत्रमा देखिएका महिला सर्जकहरू पनि यथास्थितिवादी र प्रगतिवादी दुई धारमा विभाजित छन् । यसरी प्रगतिवादी धारमा सिर्जना चेत भएकी चन्द्राको असामयिक निधनले परिवर्तनकारी लेखन क्षेत्रमा क्षति पुगेको छ ।
साहित्यिक क्षेत्रमा कविता विधालाई आफ्नो दायित्व बुझेकी कवि चन्द्राका चारवटा कृति प्रकाशित छन् । तिनै कृतिमध्ये “कत्लेयाम” लघु काव्य मेरो हातमा आइपुगेको छ । नारायणहिटी हत्याकाण्डलाई विषयवस्तु बनाएर सिर्जना गरिएको यो कृति कुनै काल्पनिक नभई यथार्थमा आधारित छ । २०५८ सालको जेष्ठ १९ गते नेपालको राजधानीमा घटित हत्याकाण्डलाई २३ उपशीर्षकभित्र समेटिएको यो कृति गीति लयमा लेखिएको ऐतिहासिक सामग्री बनेको छ ।

प्रस्तुत गीति काव्यभित्र २०४८ को चुनाव पछिको संसदीय फोहोरी खेलबाट काव्य अघि बढेको छ । गीतिलयमा लेखिएको पूरै काव्यको यस खण्डमा नौ महिने एमाले सरकारको विघटन पछि २०५५ सम्म ६–६ जना प्रधानमन्त्री बनेको विषय संसदीय खेलको लज्जाजनक चरित्र देखिन्छ । यस खण्डमा चाइना साउथ सम्झौता, नागरिकता समबन्धी विधेयक सदनमा प्रस्तुत भएका विषय छन् । यी गीतका हरफहरू पढ्दै गर्दा कविको राष्ट्रवादी चेतना स्पष्ट देखिन्छ ।
नागरिकता विधेयकलाई यिनले जोडदिए
भारतलाई खुशी पार्न अघि तम्सिए (पृ.१०)

दरबार हत्याकाण्ड अगाडिका घटनाहरू उप–शीर्षकमा टनकपुर, महाकाली सागर, खुर्दलोटन बाँध बाँधेर भारतले नेपालमाथि गरेको हैकममा कविजीको चेतना दुखेको छ ।
दक्षिणमा राष्ट्रियता संकटमा पर्न गो
डुवानले जनताको उठीबास भो (पृ.१५)

दौड्दै दौड्दै कविको लेखनी दरबार हत्याकाण्डमा पुग्छ शाही आयोगमा दरबार हत्याबारे चश्मदिद गवाहिका रूपमा तेह्र जना पात्रहरूको बयानलाई आधार मानिएको छ । यो बयान कविको काल्पनिकी नभइ पत्रपत्रिका मार्फत्बाहिर आएका विषयहरू हुन ।

नेपालको इतिहासमा सत्ता हत्याउन ठूला ठूला हत्याकाण्डहरू भएका छन् । कोतपर्व, भण्डारखाल पर्वहरूमा भारदारहरूको मात्र हत्या भएको थियो तर ०५९ जेष्ठ १९ को घटना भने तीभन्दा बेग्लै थियो । जहाँ शासक उनका परिवार र उत्तराधिकारी सबैलाई निर्ममतापूर्वक अन्त्य गरिएको छ यिनै वस्तुगत अवस्थालाई कविजीले आफ्नो शैलीमा उल्लेख गरेकी छिन् । जतिबेला नारायणहिटी भित्र हत्याकाण्ड भयो अहिलेको जस्तो छ्यास् छ्यास्ती युटुवे पत्रकारहरू थिएनन् । दरबार भित्रबाट आउने सूचना रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रबाट नै आउने । जे जति सूचनाहरू आए कविले राम्रो सङ्ग्रह गरेकी छिन् ।
रवि शम्शेर, महेश्वर सिंह, सुन्दर प्रताप राना जस्ताका वयान यस सङ्ग्रहभित्र पाइन्छ । शाही प्रतिवेदनले औंल्याएका पात्रहरू र तिनको बयान सङ्ग्रह गरेर यो कृति पठनीय बनाएकी छिन् ।

दरबार हत्याकाण्डपछिको काठमाडौंको वातावरण, जनतामा परेको कौतुहलता शोक सन्तापलाई कविले नजीकैबाट मूल्याङ्कन गरेकी छन् । नाम नखुलेको कालो पदार्थ सेवन गरेका दरवार भित्र दीपेन्द्रको अवस्थाले यो हत्याकाण्डमा कसरी उनको सङ्लग्नता सम्भव भयो भन्नेतर्फ कविले उठाएकी छन् । कालो पदार्थ मिसिएको चुरोट र फेमस ग्राउज लिएपछि पानी नराखी दुई पेग ह्विस्की पिए रविशम्शेर, महेश्वर र बोहोरालाई उधृत गर्दै उनी लेख्छिन् ।
‘शरीर थाम्न नसकेर युवराज ढलेका
पारस गोरख राजिवलेमाथि लगेका (पृ. ३४)

दीपेन्द्रलाई हत्यारा करार गरेको प्रतिवेदनप्रति उनको प्रश्न छ
हत्यारो भनेका छन् राजा पनि बनाए
अपमानित राजा बन्न भन किन लगाए (पृ. ५२)
हत्यारोलाई यो देशको किन लाए पगरी ?
राजगद्दी मानसम्मान् ख्याल नगरी (पृ.५२)

यो कृति समग्र दरवार हत्याकाण्डको नालीबेलीमा सिर्जना गरिएकोले यसको ऐतिहासिकता रहने छ । जतिबेला दरवार हत्याकाण्ड भयो त्यतिबेला माओवादी जनयुद्ध घनिभूत हुँदै थियो कविले सो विषय समेत उल्लिखित गरेकी छन् ।
कविको हेराइमा दरवार हत्याकाण्ड हुनुमा फितलो सुरक्षाव्यवस्था सहायक कारण बनेको छ भने मूलकारण संसदीय व्यवस्था असफल बनेको दावी गरेकी छन् ।

पिता प्रजापति थानी तथा माता भूमि देवीथानीकी छोरी चन्द्रा थानी सुर्खेतको उत्तरगंगामा २०१७ चैत्रमा जन्मिएकी हुन् । उनका सङ्कल्प कविता सङ्ग्रह २०५१, नारी चेतना २०५५, कत्लेयाम काव्य २०६८ रहेका छन् भने पुतली र काँचको घर कविता सङ्ग्रह प्रकाशोन्मुख छन् । विधिको नियतिले चन्द्रालाई अल्पायु मै लग्यो हार्दिक श्रद्धाञ्जली ।

रत्ननगर– ३, चितव

[भाेली भदाै २८ गते चन्द्रा थानीकाे स्मृति दिन परेकाले सम्झनामा याे समीक्षा उहाँकै स्मृतिग्रन्थबाट लिइएकाे हाे । – सम्पादक]