उनीहरू गाउँबाट
केही सपनाहरू बोकेर
हिँडेका थिए
रातो झण्डाजस्तै
आकाशभरि फैलिने
उन्मुक्त सपना,
मान्छेहरूबाट भोकलाई
मेटाइदिने सपना,
मान्छे मान्छे बिचको
असमानताको दूरीलाई
मेटाइदिने स्वाभिमानको सपना ।
उनीहरूका खुट्टामा
धूलो थियो
उनीहरूका हातमा
मैलो थियो
तर उनीहरूका आँखामा
क्रान्तिको सपना
मुटुमा अठोट
पाइलाहरूमा धैर्यता थियो
दश वर्षसम्म
पहाडका बाटाहरूले
उनीहरूका पाइलाहरू गने
भीर पाखा पखेरीहरूले
उनीहरूका अनुहार चिने
आमाहरूले
छोरा र छोरीहरू गने
र देशले
मृत्युको हिसाब राखिह्यो ।
एक दिन उनीहरू
गाउँ छोडेर शहर पसे
उनीहरूसँगै
सपनाहरू शहर पसे
शहरले उनीहरूका खुट्टाको
धूलो पखालिदियो
हातको मैलो पुछिदियो
खुटामा जुत्ता लगाइदियो
हातमा घडी लगाइदियो
गलामा टाई बाँधिदियो
र भन्यो—
“अब तिमीहरू पनि
यो शहरका सभ्य भयौ”
त्यसपछि
बन्दुकहरू मौन भए
तर कुर्सीहरू बोल्न थाले
फेरियो यात्रा
हिजो जनताको नाममा
लेखिएका नाराहरू
आज भित्ताबाट मेटिए
सहिदहरूको रगतले
रातो भएको झण्डा
झण्डा बोकेका मानिसहरू
बिस्तारै फेरिँदै गए ।
गाउँमा भने
सहिद आमा
त्यही ढुङ्गाको चुलोमा
भात पकाइरहेकी थिइन्
तावामा रोटी सेकिरहेकी थिइन्
उनले सोधिन्—
“मेरो छोरो मरेको
मेरी छोरी मारिएको
कुन सपनाका लागि थियो ?”
उनीहरूसँग
त्यसको जवाफ थिएन ।
उनीहरूसँग
नयाँ गाडी थियो
नयाँ भवन थियो
नयाँ पद थियो
सत्तामा चढ्ने र झर्ने
लुलो इतिहास बोकेर
र आज
शहरको अग्लो भवनमाथि
झण्डा फहराइरहेको छ
सपना शहर पसेपछि
शहर भयो कि
सपना नै शहर भयो ?
२०८३ भाद्र २६, काठमाडौं































