काठमाडौं, १६, साउन
यतिबेला पूर्वी तराईका सुनसरी, मोरङ, सिराहा, धनुषा तथा पर्सा जिल्लाका सहर बजार धार्मिक द्वन्द्वले आक्रान्त बनेको छ । स्थितिलाई साम्य पार्न जिल्ला प्रशासनले ती जिल्लाका द्वन्द्वग्रस्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय सरकार भनिएको प्रदेश सरकार तथा पालिका सरकार एवम् प्रहरी प्रशासनको समयमै ध्यान नपुग्दा ‘हिन्दू’ र ‘मुस्लिम’ समुदायका बिच झडपको अवस्था सिर्जना भयो । झडपले उग्र रुप लिइसकेपछि प्रहरी परिचालन गर्दा गोली चल्यो र कप्तानगञ्ज र सिराहाको गोलबजारमा दुइ जना युवाले ज्यान गुमाउनु पर्यो । यसै विषयमा आज एक विज्ञप्ती जारि गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जातीय तथा धार्मिक द्वन्द्व नभड्काउन र सामाजिक सद्भाव कायम गर्न सरोकार सवै जनातामा अपिल गरेको छ ।
महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीद्वारा जारि गरिएको वक्तव्यमा उक्त घटनाको ध्यानाकर्षण भएको जनाउँदै भनिएको छ – ‘धर्म जनताको वैयक्तिक स्वतन्त्रताको विषय हो । नेपाल वहुजाति, वहुधार्मिक र वहुसांस्कृतिक जनताको सामूहिक, मैत्रीपूर्ण र सद्भावपूर्ण तरिकाले मिलिजुली बसोवास गरिएको मुलुक हो । शताब्दियौँदेखि विभिन्न जातजाति र धार्मिक आस्थाका जनताको मैत्रीपूर्ण एवम् सहिष्णु व्यवहारप्रति केही वर्ष यता राष्ट्रद्रोही देशी–विदेशी कुतत्वबाट सामाजिक सद्भाव खल्बल्याएर देशलाई धार्मिक, जातीय र क्षेत्रीय द्वन्द्वमा फसाउने विभिन्न षड्यन्त्रहरू भइरहेका छन् । कप्तानगञ्जमा भएको ‘हिन्दू’ र ‘मुस्लिम’ समुदायका बिच भड्काइएको द्वन्द्व पनि देशलाई अस्थिर र अन्त्यहिन साम्प्रदायिक युद्धमा धकेल्ने नियोजित षड्यन्त्र त भइरहेको छैन भन्ने विषयमा गम्भीररूपले अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ । हाम्रो सङ्गठन यसप्रकारको धार्मिक द्वन्द्वप्रति खेद व्यक्त गर्दछ । जनताले स्वतन्त्र रूपमा विभिन्न धर्मका आआफ्नै चाडपर्व मनाउनु उनीहरूको स्वतन्त्रताको विषय हो । एक धर्मले अर्को धर्मका जनताको आस्था र विश्वासमा ठेस पुर्याउने कुनैपनि गतिविधि क्षम्य विषय होइनन् । यस्तो मामिलामा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी प्रशासन तथा सचेत नागरिकहरूले चनाखो भएर धार्मिक, जातीय एवम् क्षेत्रीय विद्वेष फैलिन नदिन सचेत रहनुपर्छ ।’
वक्तव्यमा वर्तमान सरकार एकातिर राष्ट्रघात र जनघात गर्न उद्धत रहेको जनाउँदै जनतामा सामाजिक सद्भाव कायम गराउन सचेत नभएको बताइएको छ । वक्तव्यमा सरकारले राष्ट्र र जनविरोधी क्रियाकलाप गरिरहेको समयमा जनाता सचेत र सङ्गठित रुपमा जनतन्त्र, राष्ट्रियता र जनजिविकाका निम्ति सङ्घर्षमा जुट्नुपर्ने बेला आपसमा धार्मिक र जातीय हिंसामा उत्रिनु गलत भएको भनिएको छ । ‘हाम्रो सङ्गठनले कुनैपनि धर्म र वर्णाश्रम व्यवस्थामा आधारित जातप्रथाप्रति विश्वास गर्दैन । तथापि जनताको धार्मिक स्वतन्त्रताको सम्मान गर्दछ । तसर्थ शताब्दियौँदेखि विभिन्न धर्म र सम्प्रदायका बिचमा भएको सद्भावलाई खल्वल्याएर धमिलो पानी बनाएर माछा मार्ने देशी–विदेशी षड्यन्त्रप्रति खबरदारी गर्दछ । देवानगञ्ज हुँदै वीरगञ्जसम्म फैलिएको धार्मिक विध्वंशपूर्ण हिंसात्मक आन्दोलन रोकेर सबै धर्मकाप्रति सद्भाव राख्दै सहिष्णु रहन र शान्ति स्थापना गर्न सम्पूर्ण जनतामा हार्दिक अपिल गर्दछ । साथै द्वन्द्वमा मारिएका जनताका परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरूको सम्पूर्ण उपचार निशुल्क गर्न र घटनाको सर्वदलीय सर्वपक्षीय छानविन टोली गठन गरी निष्पक्ष छानविन गर्न र दोषीहरूलाई हदैसम्मको कार्वाही गर्न सरकारसमक्ष जोडदार माग गर्दछ ।’

































