इच्छुक प्रतिष्ठानका दुईजना प्राज्ञहरूको विद्यावारिधि सम्पन्न

इच्छुक प्रतिष्ठानका दुईजना प्राज्ञहरूको विद्यावारिधि सम्पन्न

समाचार

काठमाडौं/९, भदौ
इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ सदस्य द्वय काठमाडौं–१४, कलङ्की खड्कागाउँ निवासी शीला योगी तथा गोरखा कुन्दुर–११, निवासी गोपालबाबु मरहट्टाले त्रिभुवन विश्व विद्यालय अन्तरगत मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट विद्यावारिधि [Phd] प्राप्त गर्नुभएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तरगत अखिल नेपाल लेखक सङ्घका केन्द्रीय समितिमा समेत रहनुभएका प्राज्ञ द्वय शीला योगीले ‘काठमाडौंका वृद्धाश्रममा रहेका जेष्ठ नागरिकका आवश्यकता र अपेक्षाहरू’ (Needs and expectations of elderly people of old age home in kathmandu) विषयमा र गोपालबाबु मरहट्टाले ‘प्रगतिवादी नेपाली उपन्यासमा सीमान्तीयता’ विषयमा विद्यावारिधि शोध गर्नुभएको हो । केही दिन अगाडि मात्र आफ्नो विद्यावारिधी प्राप्त गरेको प्रमाणपत्र सहित इच्छुक प्रतिष्ठानमा उपस्थित हुनुभएका दुबैजना प्राज्ञहरूलाई प्रतिष्ठान कार्यालयमा स्वागत गरिएको प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाले जनाउनु भएको छ ।

दुबैजनालाई इच्छुक प्रतिष्ठान तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्षसमेत रहनुभएका हिरामणि दुःखी, गोपालबाबुका शोधनिर्देशक प्रा.डा. जगदीश चन्द्र भण्डारी र सदस्यसचिव मोदनाथ मरहट्टाले स्वागत गर्दै बधाई दिनुभएको थियो ।