कम्युनिस्ट आन्दोलनमा देखापरेकाे प्रवृत्ति

कम्युनिस्ट आन्दोलनमा देखापरेकाे प्रवृत्ति

विचार

आज नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका ठूलो हिस्साका नेता कार्यकर्ताहरुमा देखापरेको विक्रिति यस्तो छ । केही दशक वामपन्थी राजनीतिक आन्दोलनमा वितायो । केही थान किताब पढ्यो । फेरि पनि पढ्न, बुझ्न, सिक्न र आफूलाई बदल्न त धेरै बाँकी थियो । तर उसलाई लाग्न थाल्यो कि यस्ता घागडान क्रान्तिकारी नेताहरुको प्रशिक्षण लिइसकेपछि र यति पढिसकेपछि अब बुझ्न बाँकी कुरा धेरै छैनन् । आफ्नै जीवनकालमामा धेरै हुनेवाला छ । (कुनैबेला मलाई पनि यस्तै लाग्थ्यो)

विश्वविद्यालयबाट कुनै विषयमा डिग्री पनि प्राप्त ग¥यो । भाषण दियो, वैचारिक लेखहरु लेख्यो, एकदुई थान किताबहरु पनि प्रकाशित भए । पहिलेभन्दा तर्क, कुतर्क बेसी नै गर्न जान्यो । सैद्धान्तिक सारसङ्ग्रहको खिचडी पकाउन पनि धेरै धामा गर्नुपरेन । अब उसले आफूलाई मनमनै विचार (सिद्धान्त)को प्राधिकार नै ठान्न थाल्यो । ऊसँग बनिबनाऊ कुराहरु जति थिए, आफ्नो बलबुतामा आर्जन गरेका मान्यता, धारणा र निष्कर्षहरु निकै कम या शून्य थिए । उसका निम्ति आफूले आदर्श मानेका नेपाली कम्युनिस्ट नेता माक्र्स, लेनिन या माओभन्दा कुनै अर्थमा कमसल थिएनन् । ऊसको स्वमूल्यांकनमा स्वयम् पनि गोर्कीको आमा उपन्यासको पात्र पावेलभन्दा कम लाग्दैन थियो ।

समय परिस्थिति बदलियो । नायक खलनायक जस्ता र सहयात्री षड्यन्त्रकारी जस्ता देखिन थाले । हिजोका आदर्श र मूल्यहरु व्यापारमा लगानी गरेको साउँब्याज असुल्ने साधनमा परिणत भए । विचलनको हावा हुण्डरीले धेरैका बस्त्रहरु उतारिदियो । अब उसलाई पनि लाग्न थाल्यो, सबै कुराको अन्त्य भयो । उसले माक्र्सवादलाई काम नलाग्ने पत्रु दर्शन देख्न थाल्यो, लेनिनवादमा उसका निम्ति दास उत्पादन गर्ने विचार देख्यो । सांस्कृतिक क्रान्तिलाई म्याद गुज्रिएको औषधि देख्न थाल्यो ।
यसको एउटै कारण छ–दार्शनिक चेतबाट कम र व्यक्ति, घटना, परिस्थिति या माहोलबाट बढी प्रभावित हुनु । अधकल्चो ज्ञानलाई पूर्ण ठान्नु, माक्र्सवाद लेनिनवादमाथिको पकड कम्जोर हुनु, इतिहासको अध्ययन कम्जोर हुनु, समाजवादी क्रान्तिका उपलब्धीबारे जानकारी कम हुनु तर तिनका बारे फैलाइएका भ्रम र अपब्याख्याबाट बढी प्रभावित हुनु । त्यसैले आज केही व्यक्तिहरू जसलाई उसले आफ्ना रोल मोडेल मानेको थियो, ती घटना र संस्थाहरु जोबाट ऊ सकारात्मक हिसाबले उत्साहित थियो तीप्रति उसको मोहभङ्ग हुनेबित्तिकै उसले आफै हिडेको दार्शनिक राजमार्गमा पनि पहिरो गएको देख्यो । त्यहाँबाट कही पुग्न नसकिने निष्कर्ष निकाल्यो ।

जसको परिणाम उसले फेरि उनै पत्रु, बासी र हिजो आफैले दुत्कारेका चिन्तनहरु नयाँ लाग्न थालेका छन् । शोषणकारी व्यवस्थाका बौद्धिक मठहरुमा निर्मित नयाँ–नयाँ लेबल सहितका बोत्तलरुपी दिमागमा भरिएका पत्रु मान्यता र सिद्धान्तहरुले उसलाई लठ्याउन थालेका छन् ।

आन्दोलनमा आएको जस्तोसुकै विचलका बाबजुद पनि आफूलाई सम्हालेर सही दार्शनिक राजमार्गको एक्लो यात्री बनेर अगाडि बढ्ने आँट नभैसकेपछि विचलनहरुलाई देखाउँदै ऊ आफू पनि विचलनकै दिशामा यात्रारत छ । ऊ आजको एउटा मात्र होइन धेरै पात्रहरुमध्यको एउटा प्रतिनिधि पात्र हो ।

आज विपथगमनका अनेकन भेरिएन्टहरु, जो हिजो आफै हिडेको समाज रुपान्तरणको यात्रालाई पनि खिसीट्युरी गर्दै, आफ्नै असल कर्ममाथि पश्चाताप गर्दै बर्नस्टीन, ट्राटस्की, कन्फ्युसियस, लिन पियाओ हुँदै ओसो, सदगुरुदेखि रामदेवसम्मको जडौरी धारण गरेर गेरु जप्दै हिडिरहेका भेटिन्छन् । कोही होस गुमाएर जथाभावी बर्बराइरहेका भेटिन्छन् । कोही छेउटुप्पो भेउ पाइनसकिएको अमूर्त ‘नयाँ विचार’ जप्दै जथाभावी कुण्ठा पोख्दै हिडिरहेका भेटिन्छन् । कोही माक्र्सवादलाई कसरी खोटो सिक्का साबित गर्न सकिन्छ भन्नेमा मेहनत खर्च गरिरहेका मात्र होइन त्यो दौरानमा अतीतमुखी, धर्मान्ध, रुढीग्रस्त, सामन्ती व्यवस्थाका पण्डा पुरोहित र पूँजीवादका रंगीबिरंगी कठपुतलीहरुका सहयात्रीमा दर्ज हुन पुगेका छन् । विचारका हिसाबले कोही आइसियुमा छन्, कोही भेन्टिलेटरमा छन् त कोही भने कोमामै पुगिसकेको अवस्थामा छन् ।

यो क्रम यत्तिमै सीमित हुने देखिन्न । एउटा उत्कर्षमा पुग्न अझै बाँकी छ, हिजोका एकसे एक लालबस्त्रधारीहरु गेरु बस्त्रधारीमा अवतरित भएका तमासायुक्त दृश्यहरु धेरै देखिने छन् । तर इतिहास र समाज विकास कसैको मनोगत चाहना, आग्रह र कुन्ठाभित्र कैद भएर बस्दैन । कुरुप वर्तमान र पतनशील प्रवृतिलाई देखाएर सही विचार माथि हिलो छ्याप्ने निरर्थक प्रयत्नहरु पानीको फोकामा परिणत हुने छन् । फेरि आमूल रुपान्तरणकारी अग्रयात्रा नयाँ उत्साह सहित वेगबान गतिमा अगाडि बढ्नेछ ।