काठमाडौं । आज मिति २०८३÷०५÷१० गते बिहान रसुवा जिल्लाको भोटेकोशीमा अकस्मात् आएको बाढीबाट गएको धनजनको क्षतिबाट स्तब्ध भएको जनाउँदै प्राध्यापक संघ÷संगठनले बाढी पीडितहरुको उद्दार र राहत कार्यमा जुट्न अपिल गरेका छन् । अपिलमा यस क्रममा जीवन गुमाउनुभएका सबै नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । र, बाढीमा परी घाइते भएका सम्पूर्ण व्यक्तिको तत्काल खोजी, उद्धार र निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकार र सम्बद्ध सबैसँग हार्दिक अपिल गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “हामी यस विपत्तिमा उद्धार, स्वास्थ्य उपचार तथा राहत दिने कार्यमा संलग्न सबैको उच्च प्रशंसा गर्दछौं । त्रिशुली नदीलगायत देशका सबै खोलानालाका किनारमा बाढीको जोखिममा रहेका सबै बस्तीबाट धनजनलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिन हामी सम्बद्ध सबै तहका सरकार राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी र सम्पूर्ण तप्कालाई आह्वान गर्दछौं । उद्धारको क्रममा विदेशी सहयोग आवश्यक पर्ने भए सो कार्यमा संघीय सरकारको संयोजनमा एकद्वार नीति लागू गर्न पनि आह्वान गर्दछौं ।
साथै यस विषम परिस्थितिमा हामी सम्पूर्ण प्राध्यापक वर्गलाई उद्धार कार्यमा आआफ्नो ठाउँबाट भौतिक रूपमा जुट्न र उद्धार कार्यलाई आफूले सक्दो आर्थिक सहयोग गर्न पनि अनुरोध गर्दछौं ।”
अपिल जारी गर्नेहरुमा प्राडा रमेश कुमार जोशी– सभापति नेपाल प्राध्यापक संघ, प्राडा वसन्त ढकाल– सभापति त्रिवि प्राध्यापक संघ, सहप्राडा विष्णुप्रसाद गौतम का वा अध्यक्ष प्रजातन्त्रवादी प्राध्यापक संघ, सहप्राडा पद्मप्रसाद खतिवडा– अध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठन, प्राडा बालमुकुन्द रेग्मी, अध्यक्ष नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्राडा गोविन्द सुवेदी–अध्यक्ष एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल, प्राडा जगदीश चन्द्र भण्डारी–अध्यक्ष नेपाल राष्ट्रिय प्राध्यापक संगठन रहनु भएको छ ।































