रसुवा बाढीले त्रिशूली बजार र नुवाकोटको विदुर नगरपालिकाका तीनवटा बजार क्षणभरमै बगर

रसुवा बाढीले त्रिशूली बजार र नुवाकोटको विदुर नगरपालिकाका तीनवटा बजार क्षणभरमै बगर

रसुवा । चीनको तिब्बत क्षेत्रबाट अप्रत्यासित रूपमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत भएका छन् ।

बाढीले भन्सार कार्यालय, अध्यागमन कार्यालय, सडक, पुल, जलविद्युत् आयोजना, प्रहरी चौकी, गाउँपालिका कार्यालय, वडा कार्यालय, सरकारी कार्यालय बगाएको छ । सयौं सवारी साधन र नदी किनारका वासिन्दाको घरखेत बाढीसँगै बगेका छन् ।
यहाँका कतिपय स्थानीयदेखि आगन्तुक पर्यटकहरूसमेत सम्पर्कविहीन छन् । उत्तरी तिब्बततर्फको हिमालय क्षेत्रमा अत्यधिक वर्षासँगै हिमताल विस्फोट भएर बाढीले विध्वंशको रूप लिएको अनुमान गरिए पनि यसको यकिन हालसम्म हुन सकेको छैन ।
रसुवा र चीनतर्फको व्यापारिक सीमानाका रसुवागढीस्थित टिमुरे बजार, स्याफ्रुबेशी बजार, मैलुङ क्षेत्रका बस्ती र बजार, पैरेबेशी, शान्तिबजार र नुवाकोटको सीमासँग जोडिएको सबैभन्दा ठूलो बेत्रावती बजार र यहाँ आसपासका ठूला वस्तीहरू बाढीले बगरमा परिणत गरिदिएको छ ।
नदी आसपास क्षेत्रमा वस्तीहरू बगाएपछि स्थानीयवासीहरू एकापसमा सम्पर्कमा रहन सकिरहेका छैनन् । कतिपय स्थायीवासीदेखि सुरक्षाकर्मीसम्म सम्पर्कविहीन छन् । रसुवा क्षेत्रभित्र पहाडबीचको साँघुरो बहाव हुँदै बग्ने यस नदी आसपासका वस्तीमा एकैपटक मडारिएर बाढी आउँदा उचाइमा रहेका घरवस्तीसम्म प्रभावित भएका छन् । रसुवामा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिकाका ६ वटा वडामा व्यापक क्षति भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बाढीले स्थानीय तीनवटा बजार पूरै बगाएको छ। विद्युत् र सञ्चार विच्छेद भएका छन्।

भौतिक संरचनामा ठुलो क्षति भएकाले मानवीय क्षतिसमेत भएको हुनसक्ने आशंका रहेको उनले बताए। ‘क्षतिको कुरै नगरौँ। खोला किनार र नजिकका कुनै घर पनि सग्लो छैनन्’, मेयर श्रेष्ठले भने, ‘वेत्रावती सबै सखाप भएको छ। त्रिशूली बजार पूरै बग्यो। भैसेँको आधि भाग डुबेको छ। सिँञ्चाइ, विद्युत् प्राधिकरणको जलविद्युत् केन्द्र, सोलार केही बाँकी छैन। सबै बगायो। सेन्ट्रेल जेल पनि बगायो। देवघाट बजार पनि बगायो।’

उनका अनुसार विदुुर नगरपालिकाका १०, १, ४, ६, ५ र ३ पूर्ण रूपमा प्रभावित भएको छ। ‘भौतिक संरचनाको क्षति अनुमा नै गर्न सकिने खालको छैन। ती क्षेत्रमा विद्युत्, सञ्चार सम्पर्क विच्छेद भएको छ’, उनले थपे, ‘बाढीले सडक बगाएपछि हाम्रो त्रिशूली हस्पिटलसँगको कनेक्सन टुट्यो। कुनै पनि कनेक्सनमा छैनौँ हामी।’घाइतेका लागि तत्काल उद्धार गर्न हेलिकप्टर परिचालन भएको उनले जानकारी दिए।
बुधबार बिहान ९ बजेतिर तिब्बत हुँदै रसुवाको ल्हेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले स्थानीय तीनवटा बजार बगाउँदै अघि बढेको बाढीले नुवाकोटका पनि नदी किनारका पालिकामा व्यापक क्षति गरेको हो।