चीनतर्फबाट हिउँताल फुटेर भोटेकोशीमा आएको लेदो सहितको भीषण बाढीले भोटे कोशी र त्रिसुली नदी किनार आसपासका गाउँ, वस्ती, बजार क्षेत्र, भन्सार कार्यालय, विद्युत गृह, विद्यालय लगायत अन्य स्थानहरुमा मानवीय र भौतिक क्षति भएको छ । अरबौंको भौतिक संरचना ध्वस्त बनाएको छ । जनधनको अपुरणीय क्षति भएको छ । भाद्र १०गतेको प्राकृतिक प्रकोपबाट देश शोकमग्न भएको छ । यो कालो दिनमा हजारौं सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, महिला, वृद्ध, बृद्धा, बच्चाहरुकोज्यान गैसकेको अवस्था छ भने हजारौं नागरिक बाढीले बगाएर वेपत्ता भएका छन्। नदी किनारका खेतका फाँटहरुको
नाम निसाना छैन । बजार, गाउँवस्तीलाई बगाएर पूरै मरुभूमि भएको छ । रसुवा, नुवाकोट र धादिङ ३ वटा जिल्लाका प्रभावित क्षेत्रहरु उजाड छन्। देशी, विदेशी पर्यटक र तिर्थालुहरु वेपत्ता छन्। कतिपय पर्यटकहरुको त मृत्यु नै भएको समाचार आएको छ । रसुवा, नुवाकोटमा ज्यामी काम गर्न अन्य जिल्लाबाट गएका सयौं मजदुरहरुको मृत्यु भएको खबर छ । प्रकृतिको नियम बलवान हुन्छ ।यसलाई संसारको कुर्न पनि ताकतले रोक्न सक्दैन । ऊ आफ्नो रफ्तारमा अगाडि बढिरहन्छ । प्रकृति र पर्यावरणलाई मानव समाजले गिजोलेको कारण संसारका कैयौं मुलुकहरुमा विभिन्न किसिमका प्राकृतिक विपत्तिहरु आउने गर्दछन्। साम्राज्यवादीहरुले पर्यावरणमाथि खेलवाड गरेका छन्। उनीहरु कार्वन उत्सर्जन गरेर विश्वको पर्यावरणलाई दुषित बनाउनेकाम गरिरहेका छन्, अर्थात् पर्यावरणको दोहन गर्ने काम भएकोछ । साम्राज्यवादीहरुबाट सिर्जित प्रदुषणका कारण विश्वमातापक्रम वृद्धि भई हिमालको हिउँ पग्लेर पैरोबाट ठूला ठूला तालहरु बनेका छन ्। बेलाबखत तिनै तालहरुमा विस्फोट भएर विनासकारी बाढी प्रकोप हुने गर्दछ। भदौ १० को त्यही नियति थियो । अर्कोतर्फ राज्य कुनै पनि विपत्ति आउनु पूर्व चनाखो र दुरदर्शी नहुँदा यस्तै नियति भोग्नु बाहेक अन्य कुनै उपाय छैन । नेपालमा अहिलेसम्म शासन गर्दै आएकाकुनै पनि शाषकहरुले प्रकृति र पर्यावरणलाई बुझ्न, अध्ययन,अध्यापन गर्न सकेनन् । प्रकृतिको आफ्नै नियम छ । चिसोमा हिउँ जम्छ, तातोमा पग्लिन्छ, नदी नालाले आफ्नै बाटोमा बहाव लिन्छन्, पैरोले आफ्नो स्थान खोज्छ, नदिनालाहरुले हिँउदको बेला कति बाटो लिने, वर्षामा कति परसम्म जाने भन्ने सिमा प्रकृतिले भागवण्डा गरिदिएको छ । मानव समाजले नदी, नाला, खोला पुल पुलेसालाई मिचेर उनीहरुको निश्चित स्थानमा घर बनाउने, बजार स्थापना गर्ने, ठूलाठूला होटल, रिसोर्ट बनाउने काम प्रकृतिमाथिको खेलवाड हो । त्यसलाई प्रकृतिको दोहन पनि भन्न सकिन्छ । आज हाम्रो देशमा विकासका नाममा देशैभरी गाउँकेन्द्रित बाटोका संजालहरु बनाइएको छ। देश विकासको लागि बाटो घाटो बनाइनु राम्रो कुरा हो । विनापूर्वाधार देश विकास हुँदैन र नागरिकहरुलाई सुविधा पनि हुँदैन । तर बाटो निर्माणको क्रममा भुगर्भविद्हरुबाट बाटो बनाइने स्थानहरुको राम्रो अध्ययन अथवा विज्ञहरुबाट सर्भे गर्ने, नक्सांकन गरेर सडक बनाउनको लागि उपयुक्त जमिन हो हैन भन्ने कुराकोपहिचान गर्न जरुरी हुन्छ । नेपालको हकमा ठूला सडक निर्माण गर्दा प्रायः नदी किनार त्यो पनि नदी निकट बनाएका प्रशस्त उदाहरणहरु छन्। नदी भन्दा केही मिटर माथि उचाईमा पनि सडक निर्माण गर्न सकिन्थ्यो होला त्यतापट्टी विगतका शासकहरुबाट ध्यान नपुगेकै हो भन्ने लाग्छ । सडकहरु निर्माण गर्न जरुरी थियो । जसरी भए पनि निर्माण भए तर नागरिकले सडक किनारअथवा सडक वरपर नदिकिनारमा घर निर्माण गर्दा बजार व्यवस्थापन गर्दा कतिको जोखिम हुन्छ त्यसबारे न त शासकहरुको ध्यान पुग्यो न त नागरिकको । नागरिकले आफ्नो पेशा व्यवसाय गर्नका लागि सडक नेराघेरा बस्न चाहन्छन्, किनकि उनीहरुलाई केही न केही जिविकोपार्जन गर्नका लागि पेशा व्यवसाय अनिवार्य हुन्छ । वास्तवमा नागरिकको सुरक्षाको ग्यारेन्टी सरकराले लिनुपर्दछ । तर शासकहरुलाई व्यापार व्यवसायबाट कर आउँछ । नागरिक जहाँ गएर व्यवसाय गरे पनि कुनै मतलव छैन । नेपालमा बेलाबेलामा फरक फरक प्रकारका प्राकृतिक प्रकोपहरु हुने गर्दछन्। कहिले भुकम्प, कहिले कोभिड, कहिले वर्षायाममा अत्यधिक वर्षाका कारणले पैरो जाने बाढीबाट डुवान हुने, कहिले सुख्खा पैरो जाने, कहिले हिमताल फुटेर अरबौं खरबौंको जनधनको नोक्सानहुने । यस्तो स्थिति हुनुको पछाडि सरकार तथा शासकहरु प्रकृति प्रकोपसँग कत्ति पनि डराउँदैनन्। जनताप्रति जहिले पनि बेखबर हुने यस्तो संस्कारको विकास हुँदै गयो । नेपालमा जुन सरकार आए पनि दीर्घकालीन समस्याको समाधान गर्नेतर्फ ध्यान दिने गरेको पाइँदैन । सरकारले जनतालाई कस्तो ठाउँमा राख्दा सुरक्षित हुन्छन्। सडक कति बनाउने, कस्तो ठाउँमा बनाउने, कति आवश्यक हो यसबारे कुनै मापदण्ड नै छैन । सडक पूर्वाधार विकास सम्बन्धी सुरक्षित तथा व्यवस्थित कानुन छैन । देशमा लाखौं नागरिकहरु सुकुम्बासीको रुपमा प्रत्येक जिल्ला सदरमुकाम तथा देशका मुख्य शहरहरुमा बसेका छन्। सुकुम्बासी मात्र नभएर अव्यवस्थित वस्तीहरु बसेका छन्। नदी, खोला, किनारमा घर टहरा बनाएर बसेका छन्। सरकार उनीहरुको उचित छानवीन गरी व्यवस्थित बसोबास गराउन सक्षम छैनन्। सुकुम्बासीहरुको पहिचान नै छैन, वर्षौंदेखि बसोबास गरी आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका नागरिकहरुलाई सरकारले डोजर लगाएर उनीहरुलाई विल्लीवाठ गराइरहेको छ । देशमा जुन सरकार आए । पनि वा पटकपटक व्यवस्था परिवर्तन भए तापनि जनताको अवस्थामा परिवर्तन आएको छैन । सरकारमा रहेकाहरु भ्रष्टाचारमा लिप्त छन्। जो कुर्सीमा पुग्दछ उसले ३ पुस्ते सम्पत्ति आर्जन गर्नैपर्ने? धिक्कार छ शासकहरु तिमीहरुलाई सम्पत्तिकति चाहिएको हो ? खोला किनारमा बसेका व्यवसायी, मजदुरहरुमाथि जेठ १० गते जुनप्रकारको बज्रपात भयो। विभिन्न संचारमाध्यम अनुसार हजारौंले ज्यान गुमाउन पुगेका छन्भने हजारौं लापत्ता छन्। उनीहरुको आत्मले तिमीहरुलाई सरापेका छन्। तिमीहरु त सिंहदरबारका वरिवरि ऐस आराम गरी बसेका छौं । तिमीहरुले हिमालको हिमपातमा बस्ने तराईको डुवानमा पर्ने र खोला किनारमा बस्ने सुकुम्बासी र भिरपाखामा पहिरोको जोखिम बस्ने ती नागरिकको बारेमा कहिले सोच्न सकेनौं र सोच्नेवाला पनि छैनौं । बेला टलेपछि उद्धारका नाममा तछाड मछाड गरेर कतिपय नागरिकको उद्धार होला र हुन्छ नै तर प्रत्येक वर्ष विपत्ति त आइरहन्छ । नागरिकलाई विपत्तिबाट कसरी बचाउने भन्ने गुरुयोजना कुनै सरकारको पनि भएन । भदौ १० को हृदयविदारक घटनाले आज पीडित परिवारमा रुवावासी छ, चित्कार छ। नजिकै आउँदै गरेका चाडपर्व उनीहरुको लागि डाँडामाथिका घाम जस्तै अस्ताए र गए । जीवनमा धेरै योजना सपनाहरु थिए होला, वितण्डकारी हिउँ पैरोले न त तिर्थालु भन्यो, न त विदेशी पर्यटक भन्यो, न त किसान, मजदुर व्यापारी व्यवसायी भन्यो न त नाबालक बच्चा नै भन्यो न त सुत्केरी महिला एकै मेसो बढारेर लग्यो । जीवनसँगै मृत्यु छ भन्ने सास्वत सत्य त छँदैछ । तर पनि अकल्पनीय प्रकोपबाट ज्यूज्यान गुमाउनुको पीडा भयावह पीडा हो ।यस्तो विषम परिस्थितिमा कतिपय नागरिकहरुले छुट्टै प्रकारले आनन्द लिएको पनि सामाजिक संजालमा देखिन्छ । कतिपय महिला दिदी बहिनीहरुले तिजको पर्व नआइपुग्दै शरीरभरी गहना, नयाँ कपडाहरुमा सजिएर मनोरञ्जनमा व्यस्त देखिनु भएको छ । कतिपय पुरुष भनाउँदाहरुले मृत महिलाका नाक, कानमा लगाएका सुन लुछेको पनि देख्न पाइन्छ । कतिपय बाढीले वगाएका घरयासी सामान ग्याँस सिलिन्डर बाढीभित्रै पसेर व्यक्ति व्यक्तिले जफत गरेको पनि देखिन्छ । अन्य मूल्यवान वस्तुहरु अझै पाइन्छ भनेर नदी किनारमा व्यापक खोजविनको लागि रमाउँदै लर्को लागेको पनि देखिन्छ । यो विषम परिस्थितिमा सरकारका अर्थमन्त्री फाइवस्टार होटलमा आनन्द लिएको भन्ने सुनिन्छ । यदि कसैले मृत शरीरको खोज गर्दछ र अमूल्य सामान भेटेर राज्यलाई सुम्पिन्छ भने त्यो मानवीयताभित्र पर्दछ तर व्यक्तिले सामान जफत गरी लैजाने भनेको त अमानवीय तथा दरिद्रताको परकाष्ट नै हो ।

नेपालमा विगतमा भएका हरेक घटनाहरु चाहे वाढी पहिरो किन नहोस्, चाहे भुकम्पका बेला किन नहोस चाहेजेन्जी आन्दोलन होस्एक थरी लुटेरा गिरोहबाट यस्तै प्रकारका अमानवीय व्यवहारहुने गरेका छन्। अन्त्यमा सरकार, दल, नागरिक समाज, संघसंस्था, उद्योगी व्यवसायी देश विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरु सबै एकजुट भएर यो विपत्तिलाई सामना गरौं। जसले जहाँबाट जे सहयोग गर्न सकिन्छ मन खोलेर सहयोग गरौं । मित्र राष्ट्र चीनबाट पठाइएको सूचनाको आधारमा हिउँ पहिरोको जोखिम अझै पनि कायम छ भनिएको छ । यो विपत नेपालमा मात्र हैन । चिनियाँ नागरिकहरुमा पनि परेको छ । यसको मारमा अन्य मुलुकबाट चीन तथा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु पनि परेका छन्। कैयौंको मृत्यु भैसकेको समाचार छ भने कैयौं पर्यटकहरु वेपत्ता भएको जानकारी प्राप्त भएको छ । नियति भोग्नु बोहक अर्को उपाय के नै यो छ र । फेरि पनि हुन सक्ने जोखिमबाट राज्य सतर्क होस्, पर्यावरण र प्राकृतिक प्रकोपबारे सरकार जिम्मेवार बनोस्, भविष्यमा नागरिकको सुरक्षाको लागि विशेष ध्यान पु¥याओस्। अहिलेको वर्खा टल्यो भोली देख जायगा भनेर सरकार गैर जिम्मेवार नबनोस्। सरकार छ भन्ने जनतालाई महशुस हुने गरी काम होस्। मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था सरकारले गरोस्। नागरिक पनि सचेत बनौं, सुरक्षित स्थानमा बसौं । अन्त्यमा यो दुःखद घडीमा मृत्युवरण भएका सम्पूर्ण प्यारा दाजुभाई दिदीबहिनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु तथा शोकाकुल परिवारजनहरुप्रति हार्दिक समवेदनता प्रकट गर्दछु ।































