कद काँठीमा मन मस्तिष्कमा
फरक
नितान्त फरक
अरू भन्दा
यो हात्ती हो
नाम छ धूर्वे
पशु न हो कहाँ हुन्छ ?
बुद्धि–विवेक
मच्चाउँदै आएको छ
आतङ्क
विपन्न बस्तीमा
पस्तछ बस्तीमा
निस्फिक्री
झिसमिसेमा
मध्य निशामा
लाग्छ प्रिय उसलाई
रङ निशाको
आफ्नो रङ रूपजस्तै
मन पराउँछ ऊ यस्तै यस्तै
भत्काउँछ झुपडी गरिबका
आफ्नो लामो सुँडले
कतै कुल्चन्छ गोडाले
दरफ¥याउँछ कतै बलिया दाह्राले
अविवेकी न हो
मन पर्छ उसलाई
निमुखाका रुवावासी
रमाउँछ ऊ
गरिबका चीत्कारमा ।
धूर्वेलाई छुट छ
विपन्नका झुपडी भत्काउने
कृशकायलाई कुल्चने
पाएको छ अधिकार उसले
जङ्गलमा निष्कण्टक राज गर्ने
छिर्छ ऊ बगरमा, जङ्गल छेउमा
र कहिलेकाहीँ सहरका छेउछाउमा
अकिञ्चनका बस्तीमा पनि
आफ्ना लावालस्करसहित
मुन्टो उचालेर हेर्छ महलतिर
पाउँछ ऊ आफूजस्तै भव्य
जाँदैन ऊ न त उसको लावालस्कर
भत्काउन उच्च महल
ऊ महललाई आफूजस्तै भव्य ठान्दछ
साँच्चै उन्मादी बनेको छ धूर्वे अचेल
पटक पटक मार्दै आएको छ
निर्धा, निमुखा भुइँमान्छेलाई
मच्चाएको छ आतङ्क
पैmलाएको छ सन्त्रास सबैतिर
केवल उन्मादी भएर ।
धूर्वे पशु मात्रै होइन
दम्भी प्रवृत्ति पनि हो
उन्मादी र आतङ्कारीहरूको
यो त भेटिन्छ सबैतिर
स्वदेश तथा विदेशमा
रोक्न उन्माद धूर्वेको
आतङ्ककारी व्यवहार उसको
हान्नु पर्छ डार्ट गनले
ट्राङ्क्वालाइजर इन्जेक्सन
भीमकाय उसको देहमा
पार्न निस्तेज उसको
उन्मादी आतङ्ककारी व्यवहार
रक्षार्थ सुन्दर मानव बस्ती ।
































