काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालद्वारा २०८३ साउन १० गतेदेखि आजसम्म सरकार समक्ष विभिन्न १४ सुत्रीय मागहरु राखी निरन्तर आन्दोलनरत रहेको घटनाले नेपाली सर्वहारावर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आन्दोलनरत यो सङ्गठनले आफ्नो मागपत्रकै भुमिकामा “लघुवित्त प्रणाली हजारौं विपन्न परिवारका लागि आर्थिक उत्थानको माध्यम भन्दा ऋणको दुष्चक्र र वित्तीय शोषणको कारण बनेको छ” भनी उल्लेख गरेको छ । नेपालमा रहेका विभिन्न लघु वित्तीय सहकारी बैंक र वित्तीय संस्थाहरु साच्चै नै किसान मजदुर, सुकुम्बासी र साना व्यवसायीहरुलाई शोषण गर्ने ठुला बैङ्कका साधनहरु बनेका छन् । हाम्रो पार्टी यस प्रकारको शोषणको अन्त गर्न सरकारसँग जोडदार माग गर्दै लघुवित्त तथा वित्तीय शोषणका विरुद्ध किसान–मजदुर आन्दोलन नेपालको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दछ । यसको साथै हामी आन्दोलनभित्र हुने घुसपैठ र गद्दारीप्रति सतर्क रहन आन्दोलनका जिम्मेवार नेताहरुलाई विशेष अनुरोध गर्दछौं ।”






























