हजुर !
सुनको सरकार होइसिन्छ रे
सुनको दरबारमा बसिसिन्छ
सुनको झ्यालबाट देश हेरिबक्सिन्छ
सुनकै थालमा खाना खाइसिन्छ
सुनकै सिरानी च्यापेर
सुनकै सपना देखिसिन्छ ।
त्यसैले होला
हजुरलाई अचम्म लाग्छ
सुकुम्बासीले नागरिकता कसरी पायो ?
यो चालकले मोटरसाइकल कसरी चलायो ?
यत्रो कर, यत्रो महँगीमा
ऊ अझै कसरी बाँचिरहेको छ ?
स्कुल कसरी पढिरहेको छ
उपचार कसरी गरिरहेको छ ?
कसरी श्वास फेरिरहेको छ ?
हामी
फोहोरी किसान, पसिना गनाउने
हाम्रो सम्पत्ति
दुई हात, एउटा साहस
भोलिको आशा हो ।
तपाईं
सुनको कुकुरलाई गाडीमा घुमाइसिन्छ
हामीलाई
कुकुर ‘खाते’ भनेर गाली गरिसिन्छ
हाम्रो झुपडीमा डोजर चल्छ
हाम्रो सपनामाथि आगो बल्छ
तर प्रश्न गर्ने अधिकार
किन जलाइन्छ ?
मजदुरको आवाज किन डर लाग्छ ?
दलितको पीडा किन अपराध बन्छ ?
गरिबको नागरिकता किन शङ्काको विषय बन्छ ?
विद्यार्थीको प्रश्न
श्रमिकको सङ्गठन
किन बारम्बार खारेज गरिन्छ ?
बारम्बार आत्महत्या दुरुत्साहन गरिसिन्छ ?
त्यही यातना, जेलको डरले आत्मदाह गर्छ
त्यही मुद्दाको डरले खोलाको भेलसँग बग्छ
कोही सीमामा गोली खान्छ
तर मृत्युभन्दा ठूलो पीडा
बाँचुन्जेल मानिस नठानिनु
स्वाभिमान जल्नु
अस्तित्व कुकुर भन्दा कम
हामी ?
सुन राज्यका शत्रु
प्रतिशोधको निसानि
माटोका सन्तान पसिना झै फोहोरी
न सुनको दरबार न भ्रष्टाचार
सिर्फ एउटा सुरक्षित बास
सम्मानित नागरिकता
पसिनाको उचित मूल्य खोई ?
































