समीक्षा

ईश्वरी ओझा नेपाली काव्यपरम्परामा प्रभावशाली एवम् उत्कृष्ट प्रगतिवादी काव्यकारका रूपमा परिचित रहेका छन् । यिनको सृजनफलक फुटकर कवितादेखि मझौला आयामका रचनासँगै बृहत् रचनासम्म सृजनवृत्ति विस्तारित भएको छ । काव्यकार ओझाको कविताकर्म समाजसापेक्ष, संज्ञानपूर्ण र कलापूर्ण रहेको छ । ओझाको काव्यजगत नेपाली समाजको सक्रिय, द्वन्द्वशील तथा विद्रोहशील यथार्थकै प्रतिबिम्बनमा सङ्केन्द्रित रहेको छ । विशेषतः प्रगतिवादी काव्यधाराका एउटा विशिष्ट सर्जकका रूपमा ओझा चिनिएका छन् ।

ईश्वरी ओझाको काव्ययात्राको पछिल्लो चरणको रचना ‘खाण्डव– दहन’ मझौला आयाममा प्रबन्धन गरिएको कलात्मक काव्यकृति हो । यसमा महाभारतीय आख्यानलाई मूल विषयवस्तु बनाइएको छ । भनूँ, ‘महाभारत’ कृतिमा वर्णित आख्यानको उपजीव्यवस्तु नै ‘खाण्डव–दहन’ काव्यको अन्तर्य हो । यसमा ‘खाण्डव वनको प्रस्तुति’, ‘भिल्लपुत्री जरिता र मन्दपालको भेटवार्ता’, ‘खाण्डव वनमा अग्निकाण्डको विद्रुपता’, ‘जरितारीबाट खाण्डव वनको पुनः अवलोकन’, ‘अग्निकाण्डपश्चात् जरिता र जरितारी वार्ता’, ‘जरितारी र एकलव्य वार्ता’, ‘खाण्डव दहन उपरान्त पीडित पक्षको प्रतिशोध’ र अन्त्यमा ‘उपसंहार’ खण्ड गरी आठ शीर्षकमा संरचित छ । विषय वस्तु संकेत गर्ने यी आठ शीर्षकका रूपमा सर्गबन्धन आएका छन् । संवादात्मक कथन पद्धति/ढाँचालाई आधार बनाई काव्यमा मूलत आदिवासी, जनजाति र शासक जातिको सङ्घर्षलाई मुल कथ्य बनाई प्रस्तुत गरिएको छ । शास्त्रीय छन्दका विविध लय ढाँचालाई उपयोग गरी काव्यलाई सुमधुर र संगेय बनाइएको छ । महाभारतको प्राचीन गाथालाई नवीन दृष्टि र शिल्पकासाथ प्रस्तुत गरिएको ‘खाण्डव–दहन’ नेपाली खण्डकाव्य परम्पराकै नौलो र पृथक् खालको खण्डकाव्य हो ।

यस खण्डकाव्यमा आदिवासी/जनजातिको संस्कृति, जीवन र समाजको सघनतासँगै प्राकृतिक सौन्दर्यको अगाधता, वन्यजीवजन्तुको प्रचूरता र वानस्पत समृद्धताको अनुपम मेलमा निर्मित परिवेश रहेको ‘पत्थरहरूको प्रस्थ’ अर्थात् खाण्डव वन र त्यसलाई इन्द्रप्रस्थका रूपमा रूपान्तरित गरी राजधानी बनाउने ध्येयका साथ कुरुवंशी पाण्डवहरूको आगमन र आदिवासी/जनजातिलाई त्यहाँबाट हटाई आर्यहरूको सुन्दर नगरीमा विकास गर्ने सन्दर्भ र तज्जन्य आदिवासी/जनजातिको निर्मूलन/बहिष्करणको कथ्यविषय नै ‘खाण्डव–दहन’को आधारभूमि हो । खण्ड–खण्ड वा पंक्ति–पंक्तिमा बद्धभूमि अर्थात् खाण्डव वनको प्राकृतिक जीवन तथा आदिवासी/जनजातिको मूल बासस्थान/मूलभूमिका रूपमा परिचित भूमिमा घटित महत्त्वपूर्ण पुराकथात्मक आख्यानलाई ‘खाण्डव–दहन’ले अन्तर्वस्तु बनाउनु खण्डकाव्यको वैशिस्टय हो । भिल्ला,भाट, माली, कुर्मी, माझी, कुसुन्डा, तेली, बरही, निषाद, बोद्धार, कुस्मा, मुण्डा र राउटे लगायतका आदिवासी/जनजातिहरूको मूल स्थानलाई तत्कालीन शासक जाति कुरुवंशीय शासक धृतराष्ट्रले छोराहरूलाई अंशबन्डा गर्ने सन्दर्भमा पाण्डवहरूलाई जनजातिको मूलवासस्थान खाण्डव वनलाई राजधानी इन्द्रप्रस्थका रूपमा विकसित गर्न दिएको प्रसँगकै पृष्ठभूमिमा आदिवासी/जनजातिकी सुन्दर युवती भिल्लपुत्री जितारीसंग पितृऋण तिर्न पुत्ररत्न प्राप्तिको आकाङ्क्षाका साथ तपस्यारत आर्य जातिको मन्दपाल नामक तपस्वी आकार्षित हुन्छ र युवतीलाई फकाई फु्ल्याई उसको सौन्दर्य पान गर्दछ । संसर्गपछि आदिवासी युवती गर्भवती हुन पुग्छे तर आदिवासी युवतीलाई मोहपाशमा बाँधी भोग्न पुगेको मन्दपाल सामाजिक द्वेष–गालको भयले भित्र–भित्रै उद्विग्न हुनपुग्छ र भिक्षा माग्ने निहुँ बनाई कुलेलम ठोकी आदिवासी युवतीलाई बिचल्लीमा पार्दछ ता पनि युवतीले छोरा जन्माउँछिन् र पालन पोषण गर्दछिन् । यससँगै पाण्डवहरूले खाण्डव वनमा आगो लगाई इन्द्रप्रस्थ नगर निर्माण गर्ने क्रम चलेको देखिन्छ । राजधानी नगर निर्माण गर्ने क्रममा त्यहाँ बसोबास गर्ने जातिहरूको बासस्थान, चराचुरुङ्गी तथा वनस्पतिमा आगो लगाइँ डढाइन्छ । आदिवासी/जनजातिको अवस्था ज्यादै दुःखपूर्ण भई भागाभाग हुने क्रममा आमा जितारी र उसको छोरा जरितारी एकअर्कासँग छुट्टिन्छन् । आदिवासी/जनजातिको अगुवा वर्वरेकको नेतृत्वमा गुरिल्लाहरूले शासक जातिका विरुद्ध ठुलो युद्व गर्दछन् । उक्त आदिवासीको सघर्षलाई वर्गसंघर्ष र विद्रोहको रूपमा यसरी देखाइएको छ ः

यहाँ म जस्ता कसरी डटे हुनन्
यहाँ गुरिल्ला कसरी लडे हुनन्
यहाँ कुनै दलदलमा गडे हुनन्
यहाँ कुनै जीवहरू सडे हुनन् (पृ.२१)

आदिवासी/जनजातिको सङ्गठित विद्रोहीहरूले विरोध र सङ्घर्ष गरे तापनि कृष्ण र अर्जुनले रचेको अग्निकाण्डमा वन्यजीव, आदिबासीको बस्ती, त्यहाँको जीवन र सौन्दर्य, तिनका आकाङ्क्षा सबै जलाई आनन्द मनाएको दृश्य चित्रित छ । तक्षक पुत्र नाग र दानव पुत्र मथले जंगलका जीवातदेखि वनस्पतिसम्म बचाउने क्रममा जितारीको छोरा जरितारी पनि बाँच्न सफल भएको सन्दर्भ उल्लेख गरिएको छ । काव्यमा खाण्डव वन दहन गर्ने क्रममा सम्पूर्ण जीवजन्तु, पशुपंक्षी, र वनस्पति जलेर नष्ट भएको कुरा यस रूपमा देखाइएको छ ः

अति दुर्लभ औषधि नष्ट भए
अति दुर्लभ बीज विनष्ट भए
अति दुर्लभ जीव सिनित्त जले
अति दुर्धर खाण्डव दाहनले (पृ.२८)

‘खाण्डव–दहन’मा बाच्न सफल भएको तर शोक सन्तप्त जरितारीसँग एकलव्य पाण्डवहरू र कौरवहरूका गुरु द्रोणाचार्यले कसरी आफुलाई बाचा बन्धनमा पारी झूक्याई बुढी औंला काटिदिई अशक्त बनाएको सन्दर्भसँगै शासक/शोषक वर्गले आफ्नो साम्राज्य कायम राख्न र ऐस–आरामको महल खडा गर्न उत्पीडित वर्गको शोषण गर्दछन् भन्ने कुरा गरिएको छ । एकलव्यले जरितारीलाई धनुविद्यसिकाई आदिवासी/जनजातिप्रति गरिएको घात र विनासका विरुद्ध तथा शासक/शोषित वर्गको उत्पीडनका विरुद्ध प्रतिशोधको भावना व्यँुझाई विद्रोह गर्न उत्साहित पारेको छ । काव्यमा प्रतिशोधको सङ्कल्पसंगै विद्रोहको सवल प्रयोग गरेको देखाई शासक जातिका विरुद्ध वर्गसङ्घर्षको आरम्भ र विकासप्रति सङ्केत यसमा गरिएको छ हेरैं;

अग्नि काण्ड भए पश्चात् दिनरात पलापला
हेपाहा हेपिने बीच चर्कन्थे द्वन्द्व–श्रृङ्खला (पृ.३५)

काव्यमा जरितारीको नेतृत्यमा भएको सङ्गठित विद्रोहले यदुवंशी तथा कुरुवंशी शासकहरू हताहत भई पराजित भएको कुरा प्रतिबिम्बित छ ः

खाण्डव वन पोलेर तिम्रो शक्ति भयो क्षति
जान्यौ ? हुँदैन है भन्ने एकैनास समुन्नति (पृ.३७)
बदलाको बल्यो आगो के बन्थे र सुरक्षित
चक्रव्यूह बन्यो लामो प्राणाह्ति परिक्षित (पृ.२९)

काव्यमा भिल्ल शासक कृष्णको छलछाममा परेर मरे पनि विद्रोही नायक जरितारीको नेतृत्वमा सङ्गठित शक्ति रहेको देखिन्छ भने शासक र शासित तथा उत्पीडक र उत्पीडित बिचको सङ्घर्ष निरन्तर चलिरहने कुराको अभिव्यञ्जना भएको छ । शासक वर्गका पतन निश्चितै हुने र उत्पीडित/शोषित वर्गको जित हुने वास्ताविकता र आशावादिताको स्वर व्यञ्जित भएको छ ।

आदिवासी/जनजातिको सुन्दरप्राकृतिक पर्यावरणयुक्त समाजलाई निर्दयता र कुरतापूर्ण भष्म गराई इन्द्रप्रस्थ निर्माण गरिएको कुरा देखाई शासक/शोषक जातिप्रतिको तीव्र घृणाभावसंगै तिनका विरुद्ध विद्रोह चेतना प्रकट गरिएको छ । मानवद्वेषी/प्रकृतिद्वेषी तथा पर्यावरणविरोधी शासक जातिका विरुद्धको सङ्घर्षलाई केन्द्रमा राखी आर्य मन्दपाल र आदिवासी भिल्लकन्या जितारीको प्रेम सम्बन्ध र आर्यमदका कारण निस्वार्थ प्रेम सम्बन्ध भन्दा पनि यौनलिप्सा र भोगलिप्सामा रत मन्दपालको भोगयुक्त प्रेममा स्वार्थपरकता र कृतघ्नता प्रकट भएको छ । शासक वर्गको अर्थात् कुरुवंशी तथा आर्यजातिमा मनुष्यता, करुणता, नैतिक मूल्य र न्यायिक भावनाजस्ता गुण शून्य रहेको समेत व्यक्त भएको छ । प्रकृतिव्यापी जीवनप्रतिको आकर्षण र प्रकृतिद्वेषी जीवनप्रतिको विकर्षणको भाव प्रवाह भएको पाइन्छ ।

विशेषतः अनेकन् शास्त्रीय लयमा गुम्फन गरी प्रचिन महाभारतीय आख्यानलाई नवीकरण गरी प्रस्तुत गरिएको छ । एवम् ध्वन्यात्मक प्रस्तुति भएको वर्गयुद्ध र प्रेम कथाको प्रबन्धमा आधारित ‘खाण्डव–दहन’ अद्भुत एवम् रोमाञ्चक काव्य हो । स्वतन्त्र सत्ता र त्यसप्रतिको हस्तक्षेप–आक्रमणका विरुद्ध बोलिएको विद्रोह एवम् निरन्तर सङ्घर्षको कथालाई काव्यात्मक लयमा गाँसी कथन गरिएको ‘खाण्डव–दहन’ले काव्यकार ओझालाई प्रगतिवादी खण्डकाव्यकार हुनुका सम्बन्धले सर्वहारा मानवतावादी तथा पर्यावरण चेतयुक्त इतिहासप्रति सचेत एवम् भविष्य प्रति आस्थाशील विशिष्ट स्रष्टाका स्वरूपमा अनावृत गरेको छ । कविनिबद्ध वक्तृ प्रौढोक्ति ढाँचामा आधारित ‘खाण्डव–दहन’ कान्यको उत्कृष्टता भनेकै तीव्र लयात्मकता, आख्यानको नवीकरण, वर्ग सङ्घर्षको प्रस्तुति, प्राकृतिकता, पर्यावरणीय सचेतनता, क्रान्तिकारी विद्रोहको उद्घोष, उत्पीडित वर्गप्रतिको सहानुभूति र सम्वेदनशीलता, शोषक वर्गप्रति घृणा र तिरष्कारको भावना, प्रभावपूर्ण भाषाको प्रयोग, बिम्ब–प्रतीक र अलङ्कारको सहज उपयोग प्रभृतिजस्ता यिनै विशिष्ट प्रवृतिले ओझालाई सशक्त प्रगतिवादी काव्यकारका रूपमा स्थापित गरेका छन् ।