काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढी तथा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका विभिन्न भागमा पुगेको ठूलो जनधनको क्षतिप्रति तीनवटा किसान संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै पीडितको खोजबिन, उद्धार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग गरेका छन्।
अखिल नेपाल किसान महासंघ (अफ्फा), क्रान्तिकारी किसान महासंघ नेपाल र अखिल नेपाल प्रगतिशील किसान संघले २०६३ भाद्र १२ गते संयुक्त विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोककुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।
संगठनहरूले जारी गरेको विज्ञप्तिमा निम्न मुख्य विषयहरू उठाइएका छन् :
तदारुकताका साथ उद्धार र खोजी- बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोजी तथा उद्धार कार्यमा सम्पूर्ण राज्यशक्ति एकीकृत रूपमा परिचालन गर्न माग गरिएको छ।
पुनर्स्थापना र मानवीय सहायता- विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबास गराउनुका साथै आवश्यक अन्य मानवीय सेवा, सहयोग र निरन्तर राहत उपलब्ध गराउन आग्रह गरिएको छ।
पारदर्शिता- खोजी, राहत र उद्धार कार्यको विवरण निरन्तर सार्वजनिक गर्न राज्यसँग माग गरिएको छ।
कारणको खोजी र दीर्घकालीन समाधानस् प्राकृतिक र मानवीय कारणहरूको खोजी, जोखिम न्यूनीकरण, भौगर्भिक तथा हिमताल अध्ययनरअनुसन्धान र जलवायु परिवर्तनका प्रभाव कम गर्न कुटनीतिकलगायतका आवश्यक कदमहरू तत्काल चाल्न ध्यान केन्द्रित गराइएको छ।
उक्त संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (अफ्फा) का अध्यक्ष भैरव रेग्मी, क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले हस्ताक्षर गर्नुभएको छ।































