क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिवसँग संयुक्त विध्यार्थी संगठनका नेताहरुले गरे भेटघाट र अन्तरसंवाद

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिवसँग संयुक्त विध्यार्थी संगठनका नेताहरुले गरे भेटघाट र अन्तरसंवाद

काठमाडौं । सीपी गजुरेल गौरव नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (समाजवादी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल) निकट अखिल (छैठौं), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी), विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट वैज्ञानिक समाजवादी विध्यार्थी संगठन, रविन्द्र श्रेष्ठ नेतृत्वको नेकपा (जनपक्ष) निकट अखिल (जनपक्ष) सम्मिलित संयुक्त विध्यार्थी संगठनले ६ वटै पार्टीका मूल नेतृत्वसँग भेटघाट र अन्तरसंवाद गर्न क्रममा बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासविच सीपी गजुरेल गौरव लगायत पार्टीका शीर्ष नेतृत्वसँग भेटघाट तथा अन्तरसंवाद गरेको छ । पार्टी कार्यालय कुपण्डोलमा सम्पन्न भेटघाट तथा अन्तरसंवाद कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो भने संयुक्त विद्यार्थी संगठनको तर्फबाट वैज्ञानिक समाजवादी विध्यार्थी संगठनका अध्यक्ष ह्याल तामाङले भेटघाट तथा अन्तरसंवादको उद्देश्यसहित पार्टीको धारणा माग गर्नुभएको थियो ।


कार्यक्रममा विद्यार्थी नेताहरुले राखेको विषयवस्तुमाथि पार्टी महासचिव सीपी गजुरेलको निर्देशनमा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले पार्टीको धारणा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, पार्टीको पछिल्लो राजनीतिक समितिको बैठकले पार्टी एकता र संयुक्त मोर्चा निर्माणका लागि तयार पारेका आधारहरु र गरेका निर्णयहरु प्रस्तुत गर्नुभएको थियो । पार्टीको धारणापछि विद्यार्थी नेताहरुले समान विचार र दृष्टिकोण राख्ने पार्टीहरुबिच एकता र संयुक्त मोर्चा निर्माणमा नेतृत्वदायी भूमिका खेलिदिन महासचिव सीपी गजुरेल गौरव लगायतका नेताहरुलाई आग्रह गरेका थिए । विध्यार्थी नेताहरुले राखेको जिज्ञासाहरुको जवाफ दिने क्रममा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले भन्नुभयो, “हामीले राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्र र जनजीविकाका पक्षमा संयुक्त मोर्चाका निम्ति लचिलो नीति लिएका छौं । संसदबाहिर र संसदभित्रका पार्टीहरुसँग पनि संयुक्त मोर्चा निर्माणको लागि संवादको ढोका खोलिसकेका छौं । संयुक्त विध्यार्थी संगठनको यो भेटघाट र अन्रतसंवादले त्यसलाई महत्वपूर्ण सहयोग पु¥याउने छ ।”


उहाँले पार्टी एकतासम्बन्धी पार्टीको धारणा स्पष्ट पार्दै भन्नुभयो, “माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा, सर्वहरा सांस्कृतिक क्रान्ति, जनवादी केन्द्रीयता, सर्वहरा अन्तर्राष्ट्रियतावाद, सर्वहरावर्गीय अधिनायकत्व र वर्तमान संसदीय व्यवस्थाका विरुद्ध क्रान्ति गर्न तयार हुने सबै पार्टीहरुसँग पार्टी एकता नै गर्न हाम्रो पार्टी तयार छ । विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य एजेण्डा मिल्नेहरुसँग संयुक्त मोर्चा निर्माण गरेर अगाडि बढ्ने विषयमा पार्टी स्पष्ट छ र त्यसका लागि हामीले संवादको ढोका खोलिसकेका छौं र पहल पनि गरिरहेका छौं ।”


विध्यार्थी नेताहरुले नयाँ पुस्तामा कम्युनिस्ट आन्दोलनको प्रभाव र आकर्षण निकै कमजोर रहेको भन्दै बदलिदो परिस्थितिमा यसको महसुस क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेतृत्वहरुले महसुस गर्नुपर्ने र नयाँ नीति तथा कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने सुझाब राखेका थिए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, हरिभक्त कडेल, पोलिटब्यूरो सदस्यहरु दिनेश शर्मा, चिन्तमणि पौडेल, दिपक शाही, निरज केसी लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।