क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार दीपकबहादुर केसीको निधन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार दीपकबहादुर केसीको निधन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार दीपकबहादुर केसी (क.मानसिंह)को असामयिक निधन भएको छ । १९९८ श्रावणमा जन्मनु भएका केसीको प्यूठान नपा १०, मरेठाना टाकुरास्थित आफ्नै घरमा निधन भएको हो । उहाँको आइतबार (हिजो) बेलुका ८ बजेर ४९ मिनेट जाँदा निधन भएको थियो ।
२०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नु भएका केसीले पञ्चायती शासन कालमा भूमिगत जीवन बिताउनु भएको, जनयुद्धको अवधिमा २०५३ देखि २०६३ सम्म सिंगो परिवार नै भूमिगत भएर काम गरेको, पहिलो संविधान सभाको निर्वाचनमा प्यूठानको क्षेत्र नं १ बाट निर्वाचित बन्नु भएको थियो । उहाँले जनयुद्ध कालमा २९ दिनसम्मको जेल तथा हिरासदमा समेत पर्नुभएको थियो । उहाँलाई प्युठान जिल्लाको मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनकै एक इमान्दार र निष्ठावान नेता मानिन्छ ।
पार्टीको जिल्ला सदस्य, जिल्ला पार्टी सचिव, क्षेत्रीय सदस्य हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसक्नु भएका उहाँ हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँको सिंगो जीवन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमै व्यतित गर्नुभयो । उहाँले कहिल्यै पनि संशोधनवादी तथा अवसरवादी धारतिर रुझान राख्नुभएन ।
औपचारिक रुपमा बनारसबाट विएसम्मको अध्ययन गर्नु भएका केसीको पार्टीको नाम मानसिंह थियो । उहाँ पाँच बहिनी छोरी, दुई भाइ छोरा र नातिनातिनीहरु रहेका छन् । उहाँको निधनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत उहाँसँग सहकार्य गरेका कम्युनिस्ट नेता कार्यकर्ताहरुले विभिन्न माध्यमबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।