न सफा आकाश छ
न उभिएर
बचेको सास फेर्ने ठाउँ छ
घाम पानी हुरीबाट
थकान गलानबाट
छुट्कारा दिने
न थातथलो रह्यो
न जीविका
न खेत न बारी
न गोठ न बस्तु भाउ
केही रहेन
छ त केवल चीत्कारका
करुण शब्द गुञ्जन
न नानीहरू छन्
न तिनका बाबुआमा छन्
न तिनका सपना
न खेल्ने क्रीडास्थल
न पुस्तक न स्कुल
छ त शून्य शब्द
सहर बस्ती गाउँ
सबै निरुपाय
रहर चाह स्वप्न
सबै मशान
जसले डुबाए बगाए
भत्काए मेटाए
उनकै हुन्छ
अनुदान सहयोग
बर्सौंसम्म खेती चल्छ
अरब खरबको
दुुनियाँभरिका मालिक
यस्तैबाट
मोटाइ रहन्छन्
तेस्रो विश्व अलिकति
दानबाट मख्ख परिरहन्छ
शासक कालो चस्मा लगाएर
अभिनय गरिरहन्छ
हेरुँ
यस्तो कहिलेसम्म चलिरहन्छ





























