सबै मानिसले आफुलाई हित हुने काम गर्छन्, कुरा गर्छन् । यो मानवीय स्वभाव हो । आफुलाई हानि हुने काम कसले पो गर्छ र ? यस्ता नाफामूलक काम कुराहरूमा ब्यापारीहरू खप्पिस हुन्छन् । यस्ता ब्यापारीहरूको केन्द्र काठमाडौं पनि हो । जान्नेलाई काठमाडौं सजिलो र सपाट छ । आलिसान महलमा ढलिमली गर्नेहरू माइतिघरमा ‘डेरा खोज्दै’ प्रदर्शन गर्दैनन्, उच्च तहका कर्मचारीका र कलेज सन्चालकका छोराछोरीहरू सस्तो र सुलभ शिक्षाका लागि जुलुश निकाल्दैनन् । राज्यको पहूँचमा जीवन बाँचेकाहरू बिरामी पर्दा भनसुनको तोक आदेश बोकेर अस्पताल छिर्छन् उनीहरूलाई पालो कुर्नु पनि पर्दैन । तर त्यही अस्पतालमा सामान्य बिरामीहरू महिनौं धाउँदा पनि सेवा पाउन धौ धौ पर्छ । राजधानीभन्दा पर बसेकाहरूका लागि काठमाडौं असाध्य कहरको स्थल हो । उपचारका लागि होस् या किनमेलका लागि वा शिक्षा आर्जनका लागि काठमाडौं बुझि नसकिने पहेली हो । दूर दराजका श्रमशील दुनियाकालागि काठमाडौंका अस्पतालहरूमा आइपुग्न पनि आकाशको फल जस्तै हो । मूलतः किनमेलका निमित्तको नीति नियम राज्यले निर्धारण गर्नुपर्ने विषय हो तर हाम्रो राज्य व्यवस्थाको आर्थिक चरित्र नव उदारवादले मलजल गरेको दलाल पुँजीवादले चलाएको बजार नीति हो । यसको मान्यता भनेको सक्नेले जति ठग्दा वा लुट्दा पनि भयो । लुटिनेहरू बस, चुपचाप सहिदिनु पर्छ ।
भोग्नेहरूका अनेक व्यथा छन । केहीदिन अघि मेरो जीवनसाथी कानको समस्याले काठमाडौं आइन् । सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने ठानेर नीजि अस्पतालमा चिनजान भएका चिकित्सकको खोजीमा लाग्यौँ । उनको समस्या लिएर हामी तीनकुनेको कान्तिपुर अस्पताल पुग्यौँ । चिकित्सकले नाक तथा घाँटीको एक्स्रे लिए र कानको अडिओग्राफी अर्थात् भित्री एक्सरेका लागि थापाथलीको ब्लुस्टार कम्पलेक्समा रहेको हियरिङ एण्ड स्पिकिङ अर्थात् सुन्ने र बोल्ने क्लिनिकमा रिफर गरे । हामी खुरुखुरु त्यतै लाग्यौँ । त्यहाँको जाँचपछि कानमा श्रवणयन्त्र राख्नुपर्ने निष्कर्ष निस्कियो । सो क्लिनिकमा चालिस हजारदेखि पाँच लाखसम्मका मेसिन छन् भनियो । उत्पादनको प्रचुरता भएपछि मानिसको आवस्यकता पनि बढ्दो रहेछ । श्रवण यन्त्रकालागि हामी अरू अस्पताल र क्लिनिक बुझ्न थाल्यौँ । चिने जानेकाहरूसितको सोधपुछपछि हामी श्रवणयन्त्रको खरीदको निर्णयमा पुग्यौँ तर अब परियो दलाल पुँजिवादको गोलचक्करमा । हामीले अस्पतालका चिकित्सक, औषधि कम्पनिका थोक विक्रेता र बजार प्रतिनिधि भेटेर हाम्रो समस्या राख्दा बुझाइमा आएका दलाल पुँजिवादबारे केही छलफल गरौँ ।
केही मित्रहरूका साहित्यिक रचना पढ्छु अखबारमा आएका आर्थिक लेखहरू पढ्छु र यसरी बुझ्छु –
दलाल पुँजीवादले उत्पादन र वितरणको क्षेत्रमा वास्तविक उत्पादकभन्दा बिचौलिया, आयातकर्ता र नाफाखोर वर्गलाई बलियो बनाउने रहेछ । यस व्यवस्थामा उपभोग्य वस्तुको मूल्य उत्पादन लागत र जनताको आवश्यकताले मात्र होइन, बिचौलियाको नाफा, कृत्रिम अभाव, कमिसन र बजार नियन्त्रणले निर्धारण गर्न थाल्छ । परिणामस्वरूप सामान्य उपभोक्ताले दैनिक उपभोगका खाद्यान्न, लत्ताकपडा, औषधि, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका वस्तु तथा सेवासमेत महँगो मूल्यमा किन्न बाध्य हुन्छ । उत्पादन गर्ने किसान वा श्रमिकले उचित मूल्य नपाउने तर उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था यसैको एउटा प्रमुख परिणाम हो ।
दलाल पुँजीवादको अर्को गम्भीर असर उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र जीवनयापन झन् कठिन बन्दै जानु हो । सीमित आम्दानी भएका श्रमिक, किसान तथा निम्न र मध्यम वर्गीय परिवारले बढ्दो बजार मूल्यका कारण आफ्नो आधारभूत आवश्यकता पूरा गर्नसमेत ऋण लिनुपर्ने अवस्था आउँछ । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कृत्रिम मूल्यवृद्धि, कालोबजारी र अनावश्यक विज्ञापनमार्फत् उपभोक्तामाथि थप आर्थिक बोझ पारिन्छ । त्यसैले उपभोक्तालाई यस्तो सास्तीबाट मुक्त गर्न उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी बजार अनुगमन, बिचौलियाको नियन्त्रण र जनताको क्रयशक्ति बढाउने आर्थिक नीतिको आवश्यकता हुन्छ तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।
काठमाडौं शहरको गल्लिगल्लिमा गाँजा लागू औषध समेत दलालहरू मार्फत् पु¥याइन्छ भन्ने सूचना बेलाबेलामा बाहिर आउँछ । आफ्नै भाइबहिनीहरूलाई बिदेशी होटल, व्यक्तिका नीजि घर र कारखानासम्म पु¥याएर बिक्री गर्ने बैध अबैध अड्डाहरू साइनबोर्ड झुण्ड्याएर कारोबार गरिरहेछन् । दलाल पुँजीवादका अखडा कहाँ छैन र घर मालिकले कोठा भाडामा दिनु परे दलाल नियुक्ति गरेका हुन्छन् । राज्यको नीति देशभित्र उत्पादनमूलक उद्योग निर्माण गर्नुको सट्टा विदेशी वस्तुको आयात, ठेक्का, कमिसन, बिचौलियापन र राज्यसँगको पहुँचबाट नाफा कमाउने वर्गको आर्थिक शक्ति बढ्दै जान्छ, त्यसलाई दलाल पुँजीवादी चरित्र नभन्ने हो भने के भन्नू पर्दछ ?
यो देशमा तरकारीदेखि चामलसम्म, कापी कलम मसीदेखि पाठ्यपुस्तकसम्म दलालहरूको कब्जामा छ । स्वदेशमा उत्पादित वस्तुहरूमा त दलालतन्त्र मौलाएको छ भने बाहिरबाट आएका औषधि यन्त्रहरूका पार्टपूर्जामा उनीहरूको आँखा किन नपुगोस् ! थोक बिक्रीदेखि खुद्रा बिक्रीसम्म दलालहरूकै ढलिमली छ ।
बजारमा एकातिर वाह्य मुलुकबाट ल्याइएका मेसिनरी सामानहरू ‘उपयोग गर र फाल’ भन्ने सिद्धान्तको आधारमा बनेका हुन्छन् । पुँजिवादी देशहरूले नाफा कमाउन त्यस्ता सामानहरूको भरपुर उत्पादन गर्छन् । बिकसित मुलुकमा उत्पादन हुने र अल्पविकशित वा बिकाशशील मुलुकमा बजारीकरण हुने यस्ता सामान कुन नक्कली र कुन सक्कली भन्नेमा उपभोक्ता अन्यौलमा हुन्छन् । हामीलाई पनि त्यही समस्या आइलाग्यो । चामल किन्नु पर्दा जुत्ता पसलमा जाने कुरा भएन । हामी श्रवणयन्त्रको थोक ब्यापारी खौज्दै भौँतारिन्छौँ । यस्तैमा भेटिएका एक परिचितले शिक्षण अस्पतालका नाक कान घाँटीका चिकित्सकको सम्पर्क सुझाए । उनीसँगको फोन संवादपछि हामी न्यु ग्य्राण्डी अस्पताल पुग्यौँ र कानको एक्स रेको रिपोर्ट देखायौँ । रिपोर्ट हेरिसकेपछि उनले दराज खोलेर प्लाष्टिकको बट्टाबाट श्रवणयन्त्र निकाल्दै भने यो रु. चालीस हजारको मेसिन हो फिट गर्नुपूर्व कानको साइज नाप्नुपर्ने हुनाले पैसा निकाल्न भने । हामीले साथमा नगद बोकेका थिएनौँ । हामीले भोलि आउछौँ भन्यौँ । उनले ‘भोलि टिचिङ अस्पताल आउनु तर भुक्तानी भने सट्याकसुटुक दिनुपर्छ’ भने । उनको भनाइले स्पष्ट बुझियो उनी पनि दलाल रहेछन् । सरकारी सेवाका यी चिकित्सकको धन्दा पनि दलालीकरणमा पोख्त देखियो । उनीसँगको अध्याय समाप्त भयो ।
खोज्ने र बुझ्ने क्रममा चितवनबाट एउटा फोन आयो । फोनवालाको आग्रह थियो ‘ब्लु स्टार कम्पलेक्समा जानुस म सम्पर्क गराइदिन्छु मूल्य पचास हजारको हो म तपाइँलाई पैंतालिस हजारमा दिन भनिदिन्छु’ जबकि त्यही श्रवणयन्त्र हामीलाई पैंतिस हजारमा दिन उनीहरू तयार थिए । रत्नपार्कमा सडक व्यपारीले हातमा झुण्ड्याएर सय रुपियाँमा बेच्ने फिटफिटे घडी हाउसमा पुगेपछि पाँचसय मूल्य भए झैँ कतै हामीले लिएको त्यो यन्त्र पनि दुईतीन हजारको पो थियो कि ? अन्तत सहकारीसित झण्डै आधालाख ऋण लिएर बिरामीको कृत्रिम श्रवण केही समयका लागि जोहो गरियो ।
विज्ञानले नयाँनयाँ उपभोगका वस्तुहरूको आविष्कार गरेको छ । मानव मुटुको भल्व फेर्नेदेखि मृगौला प्रत्यारोपणसम्म उपलब्ध छ । कुनै व्यक्ति विशेषको आवस्यकता पर्दा यसका निम्ति अर्थतन्त्र मजबुत हुनुपर्दछ । राज्यले न त सामाजिक न्यायमा ध्यान दिएको छ न त आर्थिक सम्बृद्धिमा । स्वदेश वा विदेशमा उत्पादित सामग्रीहरू सर्वसुलभ हुनुपर्दछ तर हामीकहाँ यस्ता सामग्री पहुँचवालाको अधिनमा छ । न्युन आय हुनेहरू हेरेको हे¥यै हुन्छौँ । नेपालको संविधान २०७२ ले घोषणा गरेको समाजवाद उन्मुख शब्दावली त्यही किताबमा कैद छ ।





























