हामी प्रतिरोधमा छौँ
जहिलेसम्म जरुरत पर्छ
प्रतिरोधमा उठिरहने छौँ
यस्तो लोकतन्त्रमा सोच्दासोच्दै लोकतन्त्र
लोकतन्त्र भनेको
के कुनै निषेधित क्षेत्रभित्र
हामीले नै रोपिदिएको बुद्धचित्तको रुख हो त ?
या भनौँ,
एक दूर्गम सार्वजनिक चिहान
जस्तो कि ती बालुवाटार, शीतल–निवास…
वर्ग–समाजमा
वर्ग–संविधान
उनीहरू अनुकूलित स्वागतार्थ
कार्पेट बनाइने खतरा मौजुद छँदै छ
त्यसरी हामी बेकारको भइरहन चाहन्नौँ
फेरि पनि
नजिकै भान्सामा
संसद्भन्दा परको भुईंमा
कारखानामा
सय घुम्ती न्यायालयमा
चोक–बजारमा
बुलडोजर निर्धक्क उक्लिरहेको बस्तीहरूमा
खोसिएका जंगलमा
सडकमा
प्रश्नधार भुत्तिएका विश्वविद्यालयमा
राहदानी खातिर लामबद्ध बेरोजगार युवादेखि
सुख्खा खेतमा छटपटिरहेको वृद्ध किसानसँगै
सारा आर्तनादहरूसहित
हामी जहीँकहीँ अविच्छिन्न प्रतिरोधमा हुन्छौँ
जसरी एक मुठी माटो
एक टुक्रा रात या बिहान
एक थोपा पानी
घामको एक धर्सो किरण
एक झोंका हावा
एक दाना चम्किलो हिउँ
हामी सबैको बराबर
त्यसरी नै बराबर पृथ्वी
प्रतिरोध पनि बराबर
विडम्बना त यही हो
साँचो हो,
कि बराबर भएर दुःख नलाग्ने
एउटा पनि क्षण या इतिहास बाँकी रहेन
अझ बराबरी हिस्सा र स्थानको लागि
हामी सरासर कतै पुग्न पाइरहेका छैनौं
यहाँ निषेधित क्षेत्रहरू क–कसले बनाउँदै आए ?
किन र केका लागि बनाइएका हुन् ?
आज त्यहाँ फेरि हेरौँ
हेरेर मात्र हुँदैन कि ?
सहिद–गेट छेउका राणाहरूको सालिक
चढेर यस्सो सोचौँ न !
चार जना सहिदको माझमा
एउटा सालिकलाई किन पो उच्चासन मिल्यो ?
अलि पर हेरौं,
सिंहदरबारअघि अर्को कल्पित
सालिक खडा भएर के गर्नु र ?
तैपनि उनीहरूको खियाग्रस्त मस्तिष्कमा टाँसिएकै छ–
गल्लीमा फ्याँकिएर ओसिसकेको
बिस्कुट बराबर एक दुःस्वप्न–राज्य
जहाँ अर्थहीन ठ्यास्फूझैं ‘श्री ५’ संस्करणहरू छापिएका छन्
हामी मृत–शासकहरूको धरापमा फस्न चाहन्नौँ
यसकारण उनीहरू जसरी सोचिरहेका छन्
हामी त्यसरी–त्यसरी त सोच्दैनौं
उनीहरू जता–जता हामीलाई छेक्न खोज्छन्
त्यतै–त्यतै पो हामी जान तयार छौँ
जाँदाजाँदै हामीलाई
रगतको भाषा सिक्नु नपरोस्
बुटमुनि थिचिराख्ने व्यवस्था होस्
या कुनै पनि आदेश–उर्दी
सुस्तरी सास फेर्दै कत्ति पनि सहनु छैन
छँदै छैन, खुसी छैन
हामी फगत टाउकोमाथि पारिएको
बन्चरोमा बेरिएका रडको मुठो होइनौँ !
(इच्छुक अङ्क ११ बाट)






























