अपराध उत्पादन कारखाना

अपराध उत्पादन कारखाना

अार्थिक निबन्ध

नवउदारवाद संसारलाई लुट्तै आएका र लुट्ने कलामा पारङ्गत वैश्विक सम्भ्रान्तहरूको लुटकलाको नयाँ जादु थियो । मख्ख परेर जादु हेरिसक्दा आफू लुटिइसकेको पत्तै नहुने । अहिले हामी नराम्ररी लुटिइसकेका छौं । हाम्रा आय, उत्पादन र रोजगारीका क्षेत्रहरू यसै धराशायी भएका होइनन् । नवउदावादले निजीकरण, उदारीकरण र खुल्लापनको नाममा देशका उद्यमी र कृषकहरूलाई परम उपेक्षा ग¥यो । अत्यन्त निरुत्साहित ग¥यो । हदै दर्जाको तेजोबध ग¥यो । आज न आफ्नो औद्योगिक उत्पादन छ न त कृषि उत्पादन राम्रो छ ।

नवउदारवादले युवाहरूमा ‘राम्रो त पश्चिमी जगत् नै हो, बस्न पर्ने त उतै गएर हो’ भन्ने मनोदशा निर्माण ग¥यो । राष्ट्रिय स्वार्थविपरितको चिन्तनधारा निर्माण ग¥यो । गैरजिम्मेवार मनोदशाको रचना ग¥यो । यसले देशीय सौन्दर्य र स्वप्नको हत्या ग¥यो । उद्यमशीलताको घाँटी अँठ्यायो । यो देश कहिल्यै सुध्रिँदैन, कहिल्यै राम्रो हुँदैन भन्ने धारणा निर्माण ग¥यो । प्रथमतः त्यो धारणाको बीज मनमष्तिष्कमा छ¥यो । यो देशप्रति वितृष्णा उत्पन्न ग¥यो । अविश्वास उत्पन्न गरायो । नवउदारवादी अर्थव्यवस्थालाई आँखा चिम्लेर अपनाउन तत्पर अनि राष्ट्रियताको थोपो नभएको चरित्रहीन मुढमति दलाललाई राजनीतिको निर्णायक केन्द्रमा राख्ने प्रपञ्च पनि मिलायो । देशमा शासन गर्न को योग्य ? भन्ने प्रश्नमा जसले ती ठुला मुलुकको समर्थन पाउँछ, जसलाई विश्व बैङ्कलगायत बहुराष्ट्रिय निगमहरूले पत्याउँछन् र ऋण पाउँछन् तिनै योग्य भन्ने भाष्य निर्माण ग¥यो ।

नवउदारवादको मुख्य तीनवटा अघोषित उद्देश्य थिए ।
१) यहाँको कृषि प्रणाली र औद्योगिक प्रणालीलाई कोल्याप्स गर्ने । अनि यो देशलाई आफ्ना खाद्य वस्तु र अन्य उपभोग्य सामान बेच्ने बजार बनाउने ।
२) यहाँका उपयोगी प्राकृतिक स्रोत र साधनहरूमा पकड कायम गर्ने र नाफा कुम्ल्याउने ।
३) यहाँको प्रतिभाशाली र श्रमशील जनशक्तिलाई लगेर सस्तो मूल्यमा कज्याउने ।
नवउदारवादका व्याख्याताहरू नेपाललाई सम्पन्न बनाउने सपना देखाएर आए र आफ्ना सम्पन्नताका लागि हामीलाई गरिबी र असमानताको दुश्चक्रमा फँसाए ।

नवउदारवादी तर्कको पृष्ठपोषण गर्ने टिंकल डाउनको सिद्धान्तले पनि संसारभरि हावा खायो । माथिका मान्छे झन् धनी हुँदै गएपछि तिनले थप उद्योगधन्दा खोल्छन्, धेरैभन्दा धेरैले रोजगारी पाउँछन् र विस्तारै सम्पन्नता तलतिर सर्न थाल्छ भन्ने यो सिद्धान्त वास्तवमा भ्रमको पोको थियो । उनीहरू त पैसालाई उद्योगमा लगाउनपट्टि नलागी पैसा खेलाएर अतिरिक्त पैसा मुठ्याउनपट्टि लागे । नवउदारवाद लागु भएपछि संसारभर असमानता र बेरोजगारीको दर झन्झन् बढेर गयो ।

खुल्ला अर्थतन्त्र जुरे साढेलाई लुरे बाच्छोसित जुध्न पठाएजस्तो हो । खुल्ला मैदानमा गएर प्रतिस्पर्धा गर्ने कुरो वास्तवमै हास्यस्पद तर्क थियो । नग्न वादशाहलाई सुन्दरातिसुन्दर वस्त्राभूषणले सजिएको बताउने भयातुर कायरहरूको मिथ्या कथनले यति डङ्का पिट्यो कि नग्न देख्नेहरूले पनि मेरै आँखा पो खराब भएको हो कि भनेर एकपटक त आफ्नै आँखा पनि मिचे । छर्लङ्ग आँखा देखेकाहरूले नवउदारवाद अधोपतनको बाटो हो भनेर चिच्याए पनि । तर तिनले सुनेनन् । प्रतिस्पर्धायोग्य नबनाईकन भिड्न पठाउनु अवश्यम्भावी पराजयको पूर्वपीठिका थियो । दास मानसिकताले मालिकको अह्रनखटनलाई आँखा चिम्लेर पालन ग¥यो । राष्ट्रियताको कोणबाट एक झलक हेर्ने कामसम्म गरेन । पतनको बाटोमा हिँडेर उत्थानमा नपुगिनु स्वाभाविक थियो । नव उदारवादी आर्थिक प्रणालीले यो देशलाई अर्काको सामान बेच्ने बजार बनाइदियो । हामी नेपालीले बेच्ने भनेको त आफ्नो बैँस मात्रै भयो । युवा युवतीको बैँस, जुन यही देशमा अति आवश्यक थियो ।

पुरानो रूप उदाङ्गो भएपछि नयाँ रूप धारण गरेर निस्कने पुँजीवादी चटक विचित्रको छ । आफू निर्यातकर्ता बनेर विश्वबजारमा लुट मच्चाउन पाउँदासम्म पुँजी र उत्पादनलाई वैश्विक आवागमनमा बिनारोकटोक अनुमति दिनुपर्ने तर्कको पैरवी गर्ने अनि अरू कसैले विश्वबजारमा आपूर्ति बढाएर नाफा लिन आँट्यो भने अनेक बखेडा झिकेर त्यसलाई छेक्ने प्रपञ्चहरू रचेर संरक्षणवादतिर गएको स्थिति नाङ्गो नजरले देख्न सकिन्छ । सोझासादा जनता र धूर्त नेता भएको यो देशले भने नवउदारवादी अर्थतन्त्र नै मुक्तिको मुख्य बाटो हो भनेझैँ गरी तिनै साम्राज्यवादी स्वार्थको एजेन्डामा विना सोचविचार देशलाई फँसाइरहेका छन् ।

वास्तवमा नवउदारवाद पुँजीवादमा उत्पन्न भएको सङ्कटलाई टार्नका निमित्त ल्याइएको परियोजना थियो । तर सङ्कट उसको चरित्रमै अन्तरनिहित छ । नाफैनाफाको दुनियाँ देखेर परपर हेर्दै बेलगाम कुँदिरहेको पुँजीवाद नजिकैको खाल्टो नदेखेर पटक पटक त्यही खाल्टोमा खुर्मुरिन पुगेको छ । सन् १९३० को महामन्दी भनौं या सन् २००८ पछिको महामन्दी त्यही खाल्टो थियो । तीस र आठको मन्दीले पारेको खाडलबाट अनेक सहारामा बडो मुस्किलले बाहिर निस्केको पुँजीवादले ती महामन्दीको कारकलाई आफैसित सँगै बोकेर हिडिरहेको छ । समस्या समाधान भएको नभै तत्कालका लागि टालटुल मात्रै भएको हो । अब तिनै समस्याहरू थप जटिलतासहित झाङ्गिँदै र असमाधेय बन्दै गइरहेका छन् । कहिल्यै बाहिर निस्कन नसक्नेगरी पतनको अझै अन्धकारमय विशाल खाल्टोमा खुर्मुरिने दिन पनि नआई सुखै छैन ।

सबै लगानीकर्ताहरू जता नाफा देख्छन् उतै हुरुर्र दगुर्छन् । घर जग्गामा नाफा देखे, त्यतै दगुरे । माग सयवटा घरको थियो । घर तीन सयवटा बनाए । दुई सयवटा घर त बिक्री भएनन् । बैङ्कबाट ऋण लिएर बनाएको घर नबिकेपछि बैङ्कको किस्ता केले तिर्ने ? सावाँ ब्याज पनि तिर्न नसकेपछि निर्माण कम्पनी धराशायी भए । फस्टाउँदो हाउजिङ धन्दाबाट नाफा कमाउन हौसिएको बैङ्कको सावाँ पनि धरापमा पर्न आँट्यो । बैङ्क नै धरापमा पर्न आँटेको थाहा पाएपछि मान्छेहरू बैङ्कमा राखेको आफ्नो पैसा पनि धरापमा पर्ने भयले पैसा फिर्ता लिन बैङ्कतिर दगुरे । आफूले ऋण दिएको रकमको सावाँ ब्याज नउठेपछि बैङ्कले आफूकहाँ राखिएको निक्षेप कहाँबाट ल्याएर तिर्ने । अनि बैङ्कहरू धमाधम ढल्न थाले । सन् २००८ मा अमेरिकाको लेहमेन ब्रदर्श लगानी बैङ्क ढल्यो । त्यसपछि त समथर भुइँमा एउटा ईंट ढल्दा अर्को इँटाको माथिल्लो खण्डमा छोइने दुरीमा लहरै ठड्याएर राखिएका इँटाहरू मध्ये सुरुको एउटा ढालेपछि बाँकी अरू क्रमशः ढलेझैं गरी अन्य बैंकहरू ढल्ने शृङ्खला सुरु भइहाल्यो । अर्थप्रणाली नै अस्तव्यस्त भयो ।

नेपाललाई संसारको कुरा किन चाहियो ? अन्य मुलुकका उत्थान र पतनका कथा किन चाहिए ? संसारव्याप्त अभावको कथा किन चाहियो ? किनभने हामी एउटै पृथ्वीमा बस्छौँ । पृथ्वीको प्राकृतिक प्रणाली र मानवकृत प्रणालीका पनि अनेक सञ्जालमा जोडिएका छौं । हाम्रो वायुमण्डल एउटै हो । हाम्रो सूर्य पनि त्यही हो । चन्द्रमा र ताराहरू पनि तिनै हुन् । यो धर्तीमा ती मान्छे जे कारणले अस्तित्वमा छन् हामी पनि त्यही कारणले अस्तित्वमा छौँ । कुनै कारणले यो संसार जीवनलायक रहेन भने उनीहरूसँगै हामी पनि धर्तीबाट मेटिन्छौँ । एकातिर मानव जातिको मानव जीवनको सहअस्तित्वको प्रश्न छ । सहअस्तित्वको प्रश्नले सहकार्यको खोजी गर्दछ । अर्कातिर यो साझा पृथ्वीको भोग साझा रूपमा गर्नुपर्नेमा सीमित समूहले अतिक्रमण गरी बाँकीलाई राम्ररी टेक्ने र उभिने ठाउँ समेत दिएका छैनन् । मानव जातिले आर्जन गरेको ज्ञान, सीप र प्रविधि साझा हुनुपर्नेमा तिनले निजी बनाए । यहाँनेर मान्छेसित मान्छे लड्नु पर्ने भएको छ । नलडी नहुने भएको छ ।

आइन्स्टाइन लगायतका असङ्ख्य पूर्वापर वैज्ञानिकहरूले आविष्कार गरेको विज्ञानको तथ्यलाई निजी स्वार्थमा प्रयोग गर्नु मानवजातिमाथिको अन्याय हो । आइन्स्टाइन पनि एक्लै आइन्स्टाइन भएका होइनन् । पूर्वजले आर्जेको ज्ञानविज्ञानको विरासतमाथि उभिएर नै उनले नयाँ ज्ञान प्राप्त गरेका हुन् । यदि त्यस्तो हुँदैनथ्यो भने यस्ता आइन्टाइनहरू हजार वर्ष अघि पनि जन्मिसकेका हुन्थे । वास्तवमा प्रतिलिपि अधिकारको आधारभूत दर्शन पनि गलत छ । कुनै पनि बौद्धिक सम्पत्ति निजी स्वामित्वको विषय नहुनुपर्ने हो ।
‘एआइ र एआइजडित यन्त्रमानव मार्फत बढीभन्दा बढी काम लिन सकिन्छ भने किन मानव मजदुरलाई कज्याउने ? मजदुरका आफ्नै आवश्यकताहरू हुन सक्छन् । आफ्नै मागहरू हुन सक्छन् । बिरामी हुन सक्छ । कुनै दिन काममा नआउन सक्छ । कारखानामा हडताल गरिदिन पनि सक्छ । एआइबाट यो खतरा पनि रहेन र मजदुरले भन्दा पचासौँ गुणा बढी काम गर्न पनि सक्नेभयो । ‘नाफा जति जम्मै आफ्नै खल्तीमा ।’ पुँजीवादले सन्तोषको सास फेर्छ । उत्पादन अत्यधिक बढेपछि त्यसलाई बेच्नु प¥यो । रोबोटले त किन्दैन । रोजगारी नभएपछि र अधिकांश जनता गरिब भएपछि उत्पादित सामान कसले किन्ने । पुँजीवादको धोती यहीँनेर फुस्कन्छ अनि सुरु हुन्छ वित्तीय सङ्कट र आर्थिक मन्दीको शृङ्खला ।

पुँजीवादसित न त जनहितकारी देशीय योजना छ न त वैश्विक योजना । उसित योजना छ त केवल अधिकाधिक धन सञ्चयनको । मुनाफै मुनाफाको । भावनाको नाममा ऊसित केवल अनन्त तृष्णा छ । असमानता नै उसको मूल दर्शन हो । गरीबहरू बुद्धि नभएर गरीब भएका हुन् भन्ने उसको सिद्धान्त हो । प्रतिस्पर्धा उसको देखाउने दाँत हो र एकाधिकार उसको वास्तविकता हो । आफ्नो सङ्कट टार्न अर्कामाथि युद्ध थोपर्नु साम्राज्यवादमा पतित पुँजीवादको धर्म हो ।

निर्मम नाफाखोर पुँजीवादले मान्छेलाई बेसहारा बनाएर छाडिदिएको छ । त्यसले जनताको दुःख सुखमा सरोकार राख्ने कुरै भएन । सरकारले पनि तिनको जिम्मा लिँदैन । सामाजिक चेतनाको अभाव र विषम जीवन स्थितिका कारणले अधिकांश उनीहरू अपराधको दुनियाँमा प्रवेश गर्दछन् । चोर डाँका बन्छन् । कोही पागल हुन्छन् । कोही हत्यारा हुन्छन् । कसैले आत्महत्या गर्छन् । कोही बलात्कारी हुन्छन् । कोही भिखारी भएर भीख माग्न बस्छन् । कतिपय निराश युवाहरू नशालु पदार्थको दूव्र्यसनमा फँस्तछन् । वास्तवमा पुँजीवाद अपराध उत्पादन कारखाना हो । यो रहेसम्म संसारमा शान्ति हुँदैन ।