डोजरमुनि दबिएको सपना

डोजरमुनि दबिएको सपना

कविता

डोजर चलाएर
टहरा भत्काउनेहरू
याद राख
धुलोमा मिसिएको छानोभित्र
भविष्य रोइरहेको हुन्छ
एउटा बच्चाको
सुशासनको नाममा
यदि गरिबमाथि
शक्ति देखाइन्छ भने
त्यो नेतृत्व होइन
कमजोरमाथिको दमन हो ।

ए निलो रङ्ग पोतिएको सरकार !
किन मौन बस्छस्
सिमाना चिथोरिँदा दिनदिनै ?
र, किन हिँड्छस्
गरिबको बस्तीमा
बहादुरी देखाउँदै ?

भोको पेट बोकेर
बाँच्न खोजिरहेका मान्छेलाई
अपराधीझैँ लखेट्ने सहर
एक दिन आफ्नै विवेकसँग हार्नेछ ।

देश बन्दैन
फेसबुकका भिडियोले
देश तब बन्छ
जब एउटा आमाले
आफ्नो बच्चालाई
आकाशमुनि रुवाएर सुताउनुपर्दैन
याद राख
गरिबको आँसु कमजोर हुँदैन
त्यो चुप रहन्छ केही समय
जब आँसुले आगो बोल्छ
इतिहास नै हल्लिन्छ
हामीलाई दमन होइन
सम्मान चाहिएको छ नागरिकको
किनकि बाँच्ने अधिकार
कुनै सरकारको दया होइन
जनताको जन्मसिद्ध अधिकार हो ।