काठमाडौं÷२९ बैशाख
यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०८२’ (मुल पुरस्कार) नेपालको प्रगतिवादी साहित्यलेखन, सम्पादन तथा अनुवादका क्षेत्रमा विगत तीसको दशकदेखि अनवरत रुपमा क्रियाशील वरिष्ठ प्रगतिवादी आख्यानकार तथा समालोचक इस्माली (महेश्वर प्रसाद उपाध्याय)लाई दिइने भएको छ । उक्त कुरा आज इच्छुक प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा जारि प्रेस वक्तव्यमा जनाइएको हो ।
त्यसैगरी वक्तव्यमा जनाइए अनुसार प्रतिष्ठानले प्रदान गर्ने प्रतिभातर्फको दुईवटा पुरस्कार मध्ये साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ भरतपुर महानगरपालिका ५, तोरीखेत निवासी नारायण शर्मा ‘विपिन’लाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ साँगाचोक गाउँपालिका ११, सिन्धुपाल्चोक निवासी सामना परिवारका कलाकार गायक एवम् नृत्यकार अमित योञ्जनलाई दिइने भएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशी रु एक लाख नगद, दोसल्ला सहित प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार, दोसल्ला र प्रमाणपत्र रहेको छ । यही जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारहरू प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।





























