सिर्जना र संवादको पन्ध्रौं शृङ्खला सम्पन्न

सिर्जना र संवादको पन्ध्रौं शृङ्खला सम्पन्न

समाचार

जय दहाल/
काठमाडौं, १६ जेठ
इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हरेक महिनाको तेस्रो शनिबार सम्पन्न हुँदै आएको सिर्जना र संवादको पन्ध्रौं शृङ्खला आज सम्पन्न भएको छ । काठमाडौं घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा आयोजित उक्त शृङ्खलामा पन्ध्र जना कविहरूले आआफ्ना सामयिक कविता वाचन गर्नुभएको थियो भने वाचित कविताहरूको समीक्षा गोपालबाबु मरहट्टाले गर्नुभएको थियो ।

कविता वाचन गर्ने कवि र कविताहरूमा क्रमशः मोदनाथ मरहट्टा ‘दूर्गन्धित ढल’, हिरामणि दुःखी ‘गाँजा’, जगदीश चन्द्र ‘तानाशाह’, मित्रलाल पंज्ञानी ‘ए मेरो देशको वर्तमान’, पि.पि.आचार्य ‘जनतालाई एउटा माछो दिनुपर्छ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । त्यसैगरी प्रभात भट्टराई ‘मेरा बा’, गोपालबाबु मरहट्टा ‘इच्छुकलाई सम्झँदा’, कविता राय ‘पिँजडा’, कमला नेपाली गजल ‘मजा छुट्टै रहेछ’ र टेकबहादुर विक ‘म माटोको सन्तान’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । कविता वाचन गर्ने अन्य कविहरूमा मनु वि.क. ‘युगवीर’, सुनिता देवकोटा बालकविता ‘एलियन कस्तो होला’, आस्था घिमिरे ‘हामी जनता’, धनेश्वर पोखरेल ‘सिस्नेको याद’ र अन्त्यमा गौरी देवकोटाले ‘घण्टाघर’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

वाचित कविताहरूका बारेमा समीक्षक गोपालबाबु मरहट्टाले सङ्क्षिप्तमा तर सघन र तथ्यपरक ढङ्गबाट कविताको भाव, विचार र त्यसको सन्देशका बारेमा समीक्षा गर्नुभएका थियो । वाचित कविताले वर्तमानको यथार्थ प्रस्तुत गरेको, वर्तमान सत्ताको अमानवीय, क्रुर र फासिवादी चरित्रको पर्दाफास गर्दै जनतालाई यस प्रकारको सत्ता र व्यवस्थाका विरुद्ध आन्दोलन सङ्गठित गर्नुपर्ने विचार व्यक्त गरेको मरहट्टाले बताउनु भयो ।

‘सिर्जना र संवाद’ कार्यक्रमका संयोजक गौरी देवकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले गर्नुभएको थियो । दुःखीले कार्यक्रम अत्यन्तै सुन्दर र सारगर्भित भएको बताउँदै आगामी असारमा हुने सोह्रौं शृङ्खलामा साहित्यकार मनु विकद्वारा रचित भरखरै बजारमा आएको कथासङ्ग्रह ‘जुनेली’को परिचर्चा गरिने बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो ।