विप्लवको नेकपाको आठौं महाधिवेशन समाप्त भएको छ । केन्द्रीय समितिको तर्फबाट क. विप्लवले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको समचार आएको छ । पारित राजनीतिक प्रतिवेदन बाहिर आउन केहि समय लाग्ने छ । त्यसैले महाधिवेशनमा प्रस्तुत मस्यौदा राजनीतिक प्रतिवेदनमा उठाइएका केही विषयहरुमाथिको टिप्पणी यहाँ प्रस्तुत गरिएको छ । राजनीतिक प्रतिवेदनमा दार्शनिक, वैचारिक, राजनैतिक थुप्रै विषयहरु छन्, जसबारे विमर्श गर्न जरुरी छ । तर यहाँ केही विषयहरु मुख्यतः कार्यक्रम र कार्यदिशासित सम्बन्धित विषयमा छोटो टिप्पणी गरिएको छ ।
१. कार्यक्रमका सम्बन्धमा
महाधिवेशनमा प्रस्तुत मस्यौदा राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘दशवर्षको जनयुद्ध, गणतन्त्रको स्थापना, दलाल पुँजीवादको स्थापना, नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रममा नयाँ जनवादी नभएर वैज्ञानिक समाजवादी हुनु वैज्ञानिक र वस्तुवादी हुन्छ ।’ (पृ. ७३) यसै निष्कर्षलाई जोड दिंदै अझ पछाडि भनिएको छ, ‘तसर्थ नेपालको आउँदो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनु सही हुन्छ ।’ (पृ. ७३) प्रतिवेदनको आगामी कार्यक्रमको शीर्षकमा भनिएको छ ‘संसदिय व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष संचालन गरिने छ ।’ (पृ.८७) । यहाँ ‘नयाँ जनवादी क्रान्ति नभएर वैज्ञानिक समाजवादी हुनु’ भन्ने र विद्यमान ‘संसदीय व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्न’ संघर्ष संचालन गर्ने भन्ने कुराले उनीहरुको अबको तात्कालीन कार्यक्रम भनेको समाजवादी कार्यक्रम हो । यसरी आठौं महाधिवेशनबाट उनीहरुले नयाँ जनवादी क्रान्ति होइन, समाजवादी क्रान्तिको बाटो लिए भन्ने कुरा प्रष्ट छ ।
नेकपा–माओवादीबाट अलग हुँदाको समयमा केन्द्रीय समितिमा छलफलको लागि प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ, ‘साथै यो कार्यदिशाले (एकीकृत जनक्रान्तिको कार्यदिशाले–ले.) नौलो जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवादसम्म पु¥याउने विचार बोक्नु पर्दछ ।’ (फरक पत्र वर्ष ३ अंक १ पूर्णाङक १३ कात्र्तिक–मंसिर २०७१ पृ.१८) यो विचार विप्लवले २०७१ असार १५ गते प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय समितिमा प्रस्तुत उक्त प्रस्तावमा ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै’ वैज्ञानिक समाजवादमा जाने गरिएको थियो । यसले त्यतिबेला उनीहरुको नयाँ जनवादी क्रान्तिको कार्यक्रम नछोडेको बुझिन्छ । तर उहाँहरुले त्यतिबेलै नयाँ जनवादी क्रान्तिको कार्यदिशा छोडेर ‘एकीकृत जनक्रान्तिको’ कार्यदिशा भन्नुले घुमाउरो रुपबाट नयाँ जनवादी क्रान्तिलाई छोडेको संकेत गरिसकेको थियो । आज आएर ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै’ भन्ने कुरा हटाएर ‘अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवादी नभएर वैज्ञानिक समाजवादी हुनु वस्तुवादी हुन्छ भन्न पुग्नुभएको छ । निश्चय नै परिस्थितिमा आधारभुत परिवर्तन आएमा पार्टीको कार्यक्रम र कार्यदिशा परिवर्तन गर्नु पर्दछ । तर क. विप्लव जीले यो साढे दुई वर्षको अवधिमा परिस्थितिमा के परिवर्तन भयो भन्ने कुरा कतै उल्लेख गर्नुभएको छैन । जे होस्, अब क. विप्लव, बावुराम र प्रचण्डको बीचमा अबको राजनीतिक कार्यक्रम समाजवादी क्रान्ति हो भन्ने कुरामा समान धारणा बनेको छ ।
२. कार्यदिशाका सम्बन्धमा
क्रान्ति सम्पन्न गर्नको राजनीतिक कार्यदिशाले महत्वपूर्ण अर्थ राख्छ । कार्यदिशाको सवालमा उहाँहरु नै भन्नुहुन्छ ‘साम्राज्यवाद नयाँ विशेषतामा पुगेपछि यसको समाधान पनि लेनिन वा माओले विकास गरेको कार्यदिशाबाट मात्र सम्भव छैन ।… हामीले नेकपा (माओवादी) पुनर्गठन गरेपछि नेपाली राजनीतिक, आर्थिक, सामाजिक विशेषतालाई विश्लेषण गर्दै नेपाली विशेषताको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौं । एकीकृत जनक्रान्तिको कार्यदिशामा हामीले गाउँ र शहर भनेर अलग नगरेर नयाँ विशेषतामा विकास हुँदै गरेको समाजको विशेषता अनुरुप प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध आम श्रमिक जनतालाई संघर्षमा उठाउने कार्यदिशा हो । यो दलाल सत्ताको विरुद्धमा आम जनतालाई क्रान्तिमा संगठीत गर्ने कार्यदिशा हो ।’ (पृ.६८) महाधिवेशनमा प्रस्तुत दस्तावेजमा कार्यदिशाको बारेमा जे कुरा उल्लेख गरेका छन्, त्यहाँ संघर्षका कस्तो रुप अपनाउने भन्ने कुरा कतै उल्लेख छैन । लेनिन र माओले विकास गरेको कार्यदिशाबाट अब क्रान्ति सम्भव छैन भन्ने उनीहरुको निष्कर्ष छ । उनीहरुले तय गरेको ‘एकीकृत जनक्रान्तिको कार्यदिशाबाट समाजवादी क्रान्ति कसरी हुन्छ भन्ने कुरा कतै प्रष्ट छैन । वास्तवमा उनीहरुले वर्ग संघर्षलाई कसरी संगठित र विगठित गर्ने भन्ने विषयमा दस्तावेज मौन छ । नेकपा–माओवादीबाट अलग हुने बेलामा उनले प्रस्तुत गरेको प्रस्तावमा कार्यदिशाको चर्चा गर्ने सन्दर्भमा भनिएको छ, ‘पुरानो केन्द्रीय सत्तालाई केन्द्रविन्दुमा राखेर सशस्त्र संघर्ष र जनसंघर्षलाई समग्ररुपमा अगाडि बढाउने नीति लिनु पर्दछ । त्यसको लागि सरलबाट विशेषतिर, सामान्यबाट सशस्त्रतिर, स्थानिय तहबाट केन्द्रतिर जाने नीति अख्तियार गर्नु पर्दछ ।’ उही फरक पत्र (पृ.१९) त्यतिबेला सशस्त्र संघर्षका विभिन्न रुपहरुमध्ये खास रुपको उल्लेख नगरे पनि ‘सशस्त्र संघर्ष र जनसंघर्षलाई समग्ररुपमा अगाडि बढाउने भनिएको थियो । तर महाधिवेशनको प्रतिवेदनमा’ प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध आम श्रमिक जनतालाई संघर्षमा उठाउने कार्यदिशा’ मात्र भनिएको छ । यहाँ वर्ग संघर्षको उच्चतम रुप सशस्त्र संघर्षबारे कतै उल्लेख गरिएको छैन । ‘श्रमिक जनतालाई संघर्षमा उठाउने’ भन्ने कुराले उनीहरुलाई सामान्य जुलुस, धर्ना, बन्द, आदिसम्म मात्र सीमित गर्न सकिने पनि हुन सक्छ । त्यसकारण वैज्ञानिक समाजवाद प्राप्त कसरी गरिन्छ भन्ने कुरा प्रष्टसंग कतै उल्लेख गरिएको छैन ।
३. कार्यदिशासंँग जोडिएको अर्को महत्वपुर्ण प्रश्न हो– पथप्रदर्शक सिद्धान्त । कार्यदिशाको चर्चा गर्ने सन्दर्भमा उहाँहरुले भन्नुभएको छ कि अबको ‘समाधान पनि लेनिन र माओ समेतले विकास गरेको कार्यदिशाबाट मात्र सम्भव छैन । फेरि उहाँहरुले भन्नुभएको छ ‘हाम्रो पार्टी कम्युनिष्ट पार्टी हो । यसले माक्र्सवाद, लेनिनवाद, माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दछ ।’ (पृ. ८६) जसले विकास गरेको कार्यदिशाबाट अबको क्रान्ति सम्भव छैन, त्यहि विचार कसरी मार्गनिर्देशक सिद्धान्त बन्दछ ? यो अत्यन्तै विरोधाभाषपूर्ण कुरा छ ।
४. उहाँहरुले दलाल पुँजीवादीको त विरोध गर्नुभएको छ तर नोकरशाही पुँजीपति र सामन्त वर्गको विरोध गरिएको छैन । नेपालको राजनीतिक सत्तामा दलाल पुँजीवादले नेतृत्व गरेता पनि त्यहाँ नोकरशाही पुँजीपति, सामन्त वर्गको र सामन्त वर्गको राज्यसत्ता नभएर दलाल पुँजीवादको मात्र सत्ता छ भन्ने कुरा बताउदै नोकरशाही पुँजीपति र सामन्त वर्गको विरोध नगर्नु गलत भएको छ । उहाँहरुले अहिले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको विश्लेषण गर्दा जतिसुकै चर्को नारा र क्रान्तिको कुरा गरे पनि त्यसले दक्षिणपन्थी दिशा समात्दै गएको बुझिन्छ । क. माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो, त्यहाँ पुँजीवादको पुनस्र्थापना भयो भन्ने कुरा संसारभरका सच्चा माक्र्सवादी, लेनिनवादी, माओवादीहरुले पनि मानेका थिए । पार्टीका हिजोका दस्तावेजहरु हेर्दा त्यो कुरा प्रष्ट हुन्छ । तर आठौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा भनिएको छ ‘आफ्नै विशेषता भएपनि चीन, उत्तरकोरिया, क्युवा, भियतनाम आदि देशहरुले समाजवादी सत्ता संचालन गरिरहेका छन् भने कयौं देशमा साम्राज्यवादविरोधी समाजवादी पार्टीहरुले सरकारको नेतृत्व गरिरहेका छन् । (पृ.११) यो भनाइले अब उनीहरुले चीनलाई समाजवादी देश मान्न पुगेका छन् । यसबाट तत्कालिन नेकपा–माओवादीले विप्लवजीले नेतृत्व गरेको पार्टीलाई ‘उग्रवामपन्थी खोल ओढेको दक्षिणपन्थी विचलन’ भनेर जे विश्लेषण गरेको थियो, त्यो पुष्टि हुँदै गइरहेको छ ।