काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले कम्युनिष्टहरुले राजनीतिक क्रान्तिको साथै सांस्कृतिक क्रान्तिलाई अघि बढाइएन भने कम्युनिस्ट समाज नै नबन्ने र क्रान्ति सम्पन्न भए पनि प्रतिक्रान्ति हुने विचार व्यक्त गर्नुभएको छ । रामेछाप नगरपालिका ५ चारघरे भञ्ज्याङ स्थित जनता माद्यमिक विद्यालयको सभा हलमा पार्टीका केस झनक श्रेष्ठका बुबा लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रवक्ता सुदर्शनले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रामेछाप नगर संगठन समितिको आयोजनामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति सदस्य तथा ९ नं. क्षेत्रीय ब्युरो कार्यालय सचिव झनक श्रेष्ठका बुवा लालकृष्ण श्रेष्ठको दोश्रो स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमको अध्यक्षता नगर संगठन समितिका संयोजक सुजन क्याप्छाकी मगरले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन झनक श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रवक्ता सुदर्शनले पुराना शासक पार्टीहरुको भ्रष्टाचार र कुशासनका कारण जनताले वाक्क भएर नयाँ आवरणमा आएको कमालबाज र साम्राज्यवादको दलाल पार्टीलाई मतदान गर्न बाध्य भएको र जनताप्रतिको फासिवादी रुख यसले सुकुम्बासीमाथिको डोजर आतंकबाट प्रष्ट पारिसकेको बताउनुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका राजनीतिक परिषद सदस्य अम्बिका चन्द ओली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव अशोक सुवेदी, लांघाली मगर, जनता माविका जयदेव जोशी लगायतका बक्ताहरु पनि बोल्नु भएको थियो ।
कार्यक्रममा मृतक लालकृष्ण श्रेष्ठको फोटोमा माल्यार्पण, अवीर अर्पण र फूल चढाएर सम्मान पनि गरिएको थियो ।































