काठमाडौं–नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपालको व्यापार घाटा अत्याधिक रुपमा बढ्दै गएको जनाएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले चालू आर्थिक वर्ष भित्र ४ सय २८ अर्व ३३ करोड व्यापार घाटा रहेको जानकारी गराए ।

मंगलबार बसेको व्यवस्थापिका संसद अर्थ समितिको बैठकमा बोल्दै उनले चालू आर्थिक वर्षको ६ महिना भित्र ३७ अर्ब मात्रै निर्यात व्यापार भएको तर आयात व्यापार भने ४ सय ६४ अरव पुगेको स्पष्ट पारे ।

गभर्नर नेपालले व्यापार घाटा बढदै जानुमा भूकम्प र नाकाबन्दी मुख्य कारण रहन गएको पनि बताए ।

नेपाल राष्ट्र बैंकले केही समययताको आर्थिक अवस्था भने सुधार उन्मुख हुँदै गएको पनि जनाएको छ । कृषि उत्पादन, पर्यटन क्षेत्र र सेवा क्षेत्रको प्रगति उल्लेख्य हुन गएकाले अर्थतन्त्र सुधारउन्मुख हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । सरकारले यस वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

गभर्नर नेपालले वित्तिय तरलता हुन नदिन नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा प्रवाहको अनुपात घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको र सोही अनुसारको परिणाम आएको पनि उल्लेख गरे । उनले नेपाल राष्ट्र बैंकको नगद मौज्दात बढेर १ सय ८८ अरव पुगेकाले वित्तिय तरलताको अभाव अव नहुने पनि स्पष्ट पारेको छ ।

बैठकमा समितिका सदस्यहरुले न्यून आय भएकाहरुको उत्थानका लागिे वित्तिय प्रबन्ध गर्न राष्ट्र बैंक सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका समितिका सदस्य डा. रामशरण महतले राष्ट्रिय गौरवको आयोजना निर्माण र गरिवी निवारणका लागि आवश्यक वित्तिय व्यवस्थापनमा नेपाल राष्ट्र बैंक गम्भिर बन्नुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन पछिल्लो पटक लिएको कदमको खुलेर प्रशंशा पनि गरे ।

समितिका अर्का सदस्य रेवतीरमण भण्डारीले अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाह गरेकाले वित्तिय तरलता देखिएको उल्लेख गर्दै त्यसो हुन नदिन नेपाल राष्ट्र बैंकले कडा निर्देशन जारी गर्नुपर्ने अवस्था आएको बताए ।

अर्थ समितिले वित्तिय तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकलाई सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर