रोकिन्न हाम्रो गति

रोकिन्न हाम्रो गति

कविता

मेरो यो शुभकामना छ सबमा नारी महा पर्वको
केको साध्य गरेर दुःख दिनको राखौं कुरा गर्वको
माताहौं जननी समाजरथ यो हाक्ने तिमी सारथी
हे देवी जननी भनेर कमला गर्दै थिई आरती

बोक्दा गर्भ र वेदना प्रसवका पीडा सहेता पनि
बाबाकै हकलाग्छ रे नियमले सन्तान उस्कै भनी
राख्छौं कोख र काखमा हरघडी सन्तान मेरै हुन
चल्लाढाक्नु चलाख बन्नु कुखुराको माउ जस्तै हुन

नारी कोमल हो भनेर कसरी हेपेर बोल्छौ तिमी
नारी शक्ति भनेर पुज्छ नरले दूर्गा र काली भनी
नारीसाथ विना नचल्छ घर यो चल्दैन सत्ता पनि
नारी कै बलमा चलेछ नर त्यो मातेर मत्ता बनी

आगोमा जिउदै जले नि महिला विश्वास गर्छौ कहाँ
पोल्छौं फेरि सती भनेर महिला खै मोह माया यहाँ
प्यारो गर्नु परे तिमी त घरकी लक्ष्मी र माता अरे
चल्दा झोक तिमी विना तलवकी दासी समानै हरे

बोलाकी घरमा न हुन्छ उसको बोक्सी भनी हेपिदा
बोल्छौ काँ विधवा अवाल वनिता चोर्नी भनी पेलिदा
चोली चप्पल फाट्छ दाम नहुदा साडी किनौं केगरी
दिन्छौं मूल्य समान हुन्छ महिला हामी भनौ के गरी

हाम्रो खै अधिकार यो मुलुकमा बेचिन्छ चेलीहरु
नारीको छ बजारभाउ घरमा जारी तिरिन्छन् बरु
ठान्छौं बस्तु समान आज नर हो बाधी रहन्छौं कति
नारीको अधिकार लिन्छु अब लौ रोकिन्न हाम्रो गति