शनिबारीय साहित्य ः सांस्कृतिक आलेख
*** ***
म्याद गुज्रेको पुरेत, भनाइको तात्पर्य वैज्ञानिक विकासको यो युगमा पनि छुवाछुतलाई मान्यता दिने बाहुन, ले कथित शुद्रसित छोइछिटो गरेझैँ राजनीति र साहित्य छोइनै हुँदैन भनेजस्तो गर्नेहरू पनि छन् । (त्यसो त जहिलेसुकै गरिएको होस्, जातीय छुवाछुत मानवतामाथि गरिएको सबभन्दा क्रूर र घृणित अपराध हो ।) राजनीतिका नाङ्गा नारा लेखेर साहित्य लेखेँ भन्नेहरू पनि छन् । कसलाई कसले छेक्ने र ! कुरो त अर्को पनि छ– नारामा साहित्य नै हुँदैन भनेर ठोकुवा गर्न सकिँदैन । कलायुक्त छ भने राजनीतिको नारा पनि साहित्य बन्न पुग्दछ । ‘धानको बाला झुल्यो हजूर देशै रमाइलो, पेटभरि खान पाए त्यसै रमाइलो’ । यो अभिव्यक्ति छोटो, मिठो र लयात्मक छ । यो नेपालको पहिलो संसदीय निर्वाचनमा धानको बाला चुनाव चिन्ह भएको राजनीतिक दलको चुनावी नारा थियो । त्यो नारा केवल शब्दजाल मात्रै थियो कि त्यसको अन्तर्यमा सुन्दर समाज निर्माणको सुस्वप्न पनि थियो विवेचनाको अर्को महत्वपूर्ण पाटो हो । अहिले म त्यो विवेचनातर्फ लागिन ।
‘आमाको सपना’ वास्तवमा कुनै आमाको सपना थिएन । युगीन आवाजलाई ठम्याएका क्रान्तिद्रष्टा कविद्वारा सुललित काव्य भाषामा विरचित क्रान्तिकारी परियोजनाको काव्यांश थियो । ‘सपना’ त केवल क्रान्तिप्रतीक थियो । त्यसले क्रान्तिकारीहरूलाई जगाउँथ्यो र क्रान्तिविरोधीहरूलाई छक्काउथ्यो । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षकभित्रै कति खतरनाक राजनीति छ । घुम्ने मेचमाथि बस्ने त्यो अन्धो मान्छे राजा पनि हुनसक्छ, प्रधानमन्त्री अथवा उच्चपदस्थ जुनसुकै कर्मचारी पनि हुनसक्छ । तीन शब्दको पदावलीमा अटेको एउटा सानो बिम्बले सिङ्गो प्रणालीमाथि नै बज्रप्रहार गरेको छ । ‘मेघदूत’को विरहव्याकुल यक्षले मेघसित एकालाप गरेझैँ भद्रगोल जेलमा बन्दी रहेका एक कविले चन्द्रागिरीसित एकालाप गर्छन् र जन्मन्छ—‘बन्दी र चन्द्रागिरि’ । यक्ष आफ्नी पत्नीसितको विछोडमा व्याकुल छ । बन्दी भने बिल्कुल ब्याकुल छैन, जनमुक्तिका निम्ति जस्तासुकै त्याग, वीरता र बलिदानका लागि जाज्वल्य तत्परताले उद्दीप्त छ । क्रान्तिकारी आशावाद र जीवनवादी दृष्टिकोणले सम्पुष्ट छ । यहाँ ‘चन्द्रागिरि’ मुक्तिकामी जनताको दृढताको बिम्ब बनेर उभिएको छ ।
मानव जीवन बहुआयामिक छ । यी हरेक आयम जीवनसित अभेद्य रूपमा गाँसिएका छन् । अर्थशास्त्रले जीवनको आर्थिक पक्ष व्याख्या गर्दछ । साहित्यले उसको रागात्मक पक्षको उत्खनन र कलात्मक उद्घाटन गर्दछ । राजनीति सदैव राज्यसत्ता सित जोडिएको हुन्छ । त्यो तत्काल विद्यमान राज्यसत्तालाई कायम राख्नका लागि पनि हुन सक्छ र त्यसलाई उखेल्नका लागि पनि हुनसक्छ । अथवा सुधारको सीमासम्म मात्रै पनि हुनसक्दछ । गीत सङ्गीत जीवनकै लयात्मक आयाम हुन् । विज्ञान जीवनकै आवश्यकताले आविष्कृत हो । ज्ञान जीवनसितै जोडिएको छ । दर्शन संस्कृति सबै चिज जीवनका आयाम हुन् । जीवनका आवश्यकताबाटै उत्पन्न भई जीवनसित अभेद्य रूपमा गाँसिएर रहेका यी आयामहरूलाई आपसमा असम्बद्ध र बेसरोकारका विषयका रूपमा अथ्र्याउनु कि अज्ञानता हो कि बदनियत हो । यी सबै आयाम जीवनकै आवश्यकताले जीवनकै केन्द्रीयतामा विरचित हुन् ।
मान्छे सामाजिक प्राणी हो । मानव सभ्यताको उद्भव नै यही सामाजिकताबाट भएको हो । समाजभन्दा बाहिर मान्छेको अस्तित्व छैन । साहित्य समाजको दर्पण हो भनिन्छ । दर्पणले सतहमा भएका सबै चिज देखाउँछ । राजनीति समाजको सतहमै छ त साहित्यले राजनीतिलाई किन नदेखाउने !
रागात्मक पक्षको उत्खनन र कलात्मक उद्घाटन गर्ने कार्य संज्ञान र सौन्दर्यसित जोडिएको हुन्छ । मानव संवेदनासित गाँसिएको हुन्छ । संवेदनाको जगत् विशाल छ, गहिरो पनि उत्तिकै र फराकिलो पनि उत्तिकै । साहित्यकार जीवनको रसको खोजी गर्न मानव संवेदनाको महासागर भित्र पस्ने कलायात्री हो । त्यहाँ प्रेमका अविच्छिन्न तरङ्गहरू पनि छन् र धोखाका अनेक शृङ्खलाहरू पनि छन् । हास्यका हिस्सीहरू पनि छन् र रोदनका मलिनताहरू पनि छन् । क्रोधको आगो पनि छ र शान्तिको पानी पनि छ । राग पनि त्यहीँ छ र विराग पनि त्यहीँ छ । इष्र्या पनि त्यहीँ छ र सहानुभूति पनि त्यहीँ छ । साहित्यभित्र वीरताको हुङ्कारको चित्र पनि आउँछ र कायरताको क्रन्दनको चित्र पनि आउन्छ । वस्तुतः आत्मजगत् वस्तुजगत्कै प्रतिच्छाया र प्रतिक्रिया हो । वास्तविक साहित्यमा जीवनले सास फेर्छ । राजनीति रुखो पनि हुनसक्छ, साहित्य रुखो हुन सक्तैन । सरसता साहित्यको अनिवार्य शर्त हो । पढ्दा, सुन्दा र हेर्दा रस आउँदैन भने त्यो साहित्य होइन । साहित्यमा सरसता नै सुन्दरता हो ।
जुन चिजकोे उपभोगले आनन्द दिन्छ त्यही चिज सुन्दर हो । दृश्य वस्तुलाई आँखाले, खाद्य वस्तुलाई जिब्रोले, श्रव्य वस्तुलाई कानले, घ्राण्य वस्तुलाई नाकले र स्पश्र्य वस्तुलाई छालाले उपभोग गरेको देखिन्छ । वस्तुतः ज्ञानेन्द्रीय उपभोगका माध्यम मात्रै हुन् । तृप्ति प्राप्त गर्ने त मनमस्तिष्कले नै हो । मनमष्तिष्कमा निर्मित सौन्दर्यचेतना पूर्वसंस्कार र विचारको योगबाट संरचित हुन्छ । मलाई दूध र घिउसित भात खान असाध्यै मिठो लाग्छ । मैले बच्चैदेखि निरन्तर यसरी खाँदै आएँ । आखिर यो मेरो संस्कार नै बन्न गयो । कसैलाई यसरी खान पटक्कै मन पर्दैन । दूध छुट्टै पिउँछन् । तिनको संस्कार त्यसैगरी बन्यो ।
साहित्य कहिल्यै पनि राजनीतिबाट अछुत थिएन र छैन पनि । कालजयी कृति महाभारत महाकाव्यमा कौरव र पाण्डवबिचको द्वन्द्वको मुख्य कारण राज्यसत्ताको प्राप्ति नै हो, राजनीति नै हो । रामायण महाकाव्यमा कैकेयीको दाउपेच र रावणप्रति विभीषणको विश्वासघात राज्यसत्ता प्राप्तिकै लागि हो । राजनीति नै हो । रामरावणको युद्ध प्रभुत्व विस्तारको ध्ययेले गरिएको राजनीतिक युद्ध नै हो । तर यी कृतिहरूमा विशुद्ध राजनीति मात्रै छैन । महाभारतले मानवताभित्र देखा परेका विशिष्ट चरित्रहरूको उत्खनन गरेर बाहिर निकालेको छ । व्यासले कठोर त्यागको प्रतीकका रूपमा भीष्म, षड्यन्त्रका प्रतीकका रूपमा शकुनि, घमण्ड र अन्यायको प्रतीकका रूपमा दुर्योधन र सर्वशक्तिमान पात्रका रूपमा कृष्णको निर्माण गरेका छन् ।
साहित्य सामाजिक जीवन–यथार्थको कलात्मक प्रतिबिम्बन हो भन्ने मान्यता मलाई सही जँच्तछ । नाङ्गो प्रतिबिम्बनले यथार्थ जस्तो छ त्यस्तो मात्रै देखाउँछ । कलात्मक प्रतिबिम्बनले यथार्थमा देखिएको अपूर्णता र कमी कमजोरीलाई वस्तुसम्मत कल्पना र तार्किकताका आधारमा सम्पुष्ट पार्दछ । यथार्थलाई सुन्दर रूप र सारको सङ्गतिपूर्ण एकत्वमा प्रस्तुत गर्दछ, । कलासचेत स्रष्टाले यो कार्य स्वाभाविकतामा बाधा नपु¥याईकन सम्पन्न गर्दछ । फेरि, दृश्यमान यथार्थ गतिशील र परिवर्तनशील छ । वस्तुजगत्लाई गलिशीलतामा बुझ्नु र स्थिरतामा बुझ्नुले निस्कने नतिजा भिन्नाभिन्नै हुन्छन् । माथि नै भनिसकियो कि यथार्थमा भएको अभावलाई कलाशिल्पीले आफ्नो कल्पनात्मक युक्तिचातुर्य र कालीगढीद्वारा सुन्दर र सम्पुष्ट स्वरूपमा निर्माण गर्दछ । व्यास बुढाले पनि मानवीय सामथ्र्यको सीमितता देखेर त्यसको क्षतिपूर्तिस्वरूप सर्वशक्तिमान् कृष्णको कल्पना गरेका होलान् सायद् । उनले कथालाई यति मिठो पारेर लेखे कि मान्छेहरूले साँच्चै सम्झेर पूजै गर्न थाले । झट्ट हेर्दा मानवजीवनकै दैनिक व्यवहारसित प्रत्यक्ष रूपमा जोडिएका देखिने कृष्णको निर्माण लौकिक यथार्थवादी ढङ्गले नभएर अलौकिक र रहस्यवादी ढङ्गले भएको छ ।
गतिशील यथार्थको कलात्मक प्रतिबिम्बन गर्ने प्रश्नमा म्याक्सिम गोर्कीको आमा उपन्यास निकै चर्चित मानिन्छ । आमा तत्कालीन रुसी समाजकी सजीव प्रारूपित पात्र हुन् । उनलाई जुन क्रान्तिकारी चरित्र प्रदान गरिएको छ, त्यो क्रान्तिपूर्वको रुसमा क्रान्तिका लागि आवश्यक चरित्र थियो । यसको औपन्यासिक आख्यानको स्रोत यथार्थमा आधारित छ र चारित्रिक पुनर्निर्माण पनि यथार्थपरक छ । भनिन्छ रुसी क्रान्तिमा यो उपन्यासले निकै ठूलो योगदान पु¥यायो ।
यथार्थको कलात्मक प्रतिबिम्बन सजिलै सम्पन्न हुन सक्ने कार्य भने होइन । वर्तमानमा अस्तित्वमा रहेका सम्पूर्ण वस्तु, घटना र पात्रहरूको विकासको इतिहासलाई विज्ञानसम्मत दृष्टिकोणले नहेरीकन यथार्थको यथातथ्य बोध गर्न सकिँदैन । यथार्थमा अस्तित्वमान् सम्पूर्ण आयामहरू आपसमा अन्तरसम्बन्धित पनि छन् र विभिन्न स्तरका अन्तरविरोधमा पनि छन् । चिजलाई हेर्ने विचारधारात्मक सचेतना र व्यक्त गर्ने कलाकौशलबिना कलात्मक प्रतिबिम्बन सम्भव छैन ।
संसारमा यो के भइरहेको छ, मानवता कता गइरहेको छ ! पछिल्लो विश्वमा यथार्थबोध गर्ने कार्य अन्यन्त दुरूह भएर गएको छ । सुचना र ज्ञानका हाँगाहरू झन्झन् फराकिँदै र फाट्तै गएका छन् । विशेषज्ञताका नाममा मान्छेहरू टुक्रे ज्ञानमा सीमित भएका छन् । शिखरमा उभिएर दूरदृष्टिसहित समग्र संसार हेर्न उद्यत नजर भित्तामा ठोक्किएर अल्पदृष्टिमा फँसेको छ । आफू फसेको आफैलाई थाहा छैन । सङ्कीर्णतामा खसेको छ । अनि सम्पूर्ण संसार देखेँ भन्ने भ्रममा बसेको छ । यो विपर्याय नै आजको सबभन्दा ठुलो बिडम्बना हो ।
अर्कातिरबाट हेर्दा चित्र अर्कै देखिन्छ । विज्ञान र प्रविधि आपसमा जोडिँदै गएको छ । मान्छे भने मान्छेबाट क्रमशः एक्लिँदै र छोडिदै गएको छ । पहिले भिन्न भिन्न समयमा आविष्कार भई स्वतन्त्र अस्तित्वमा रहेका रेडियो, टेलिफोन, टर्चलाइट, क्यामरा, क्यालेन्डर, शब्दकोश, घडी, पुस्तक, पत्रपत्रिका, ऐना, कम्पास लगायत दर्जनौ चिज अहिले खल्तीमा बोक्न मिल्ने एउटा सानो मोबाइलभित्र अटेको छ । विज्ञान र प्रविधिमा यस्ता अभिसरणका उदाहरणहरू अरू धेरै छन् । मानवता भने अनेक भङ्गालाहरूमा विभाजित छ । चिरैचिरा छ । देशको चिरा । जातको चिरा । भााषाको चिरा । लिङ्गको चिरा । क्षेत्रको चिरा । रङको चिरा । आदि इत्यादि । मानवले मानवलाई मानव ठानेर मानवताको व्यवहार गर्ने कार्यमा चुक भइरहेको छ । आफैमा मिल्न नसकेको मानवताले यो पृथ्वी, यसको पर्यावरण, यहाँ आश्रित जीवजन्तु र वनस्पतिलाई कसरी रक्षा गर्न सक्छ ? यो प्रश्नबाट मुक्त भएर रचना गर्नु आजका साहित्यकारहरूको युगधर्म हो जस्तो मलाई लाग्दैन ।
यथार्थ सूचनाहरू र भ्रामक सूचनाहरू स्वार्थका सम्बन्धहरूले जेलिएका भाष्यहरूमा तोरी र कोदो मिसिएझैँ गरी मिसिएका छन् । खोई के पाउनका लागि हो, बहुसङ्ख्यक मान्छे अत्यन्त हतारोमा छन् । यो छानविन गर्ने फुर्सत छैन । फुर्सतै भएकाहरूसित पनि छनोटको युक्तिमा पहुँच छैन । बोधो दृष्टिले अन्तरजगत्मा चलेका तरङ्गहरू देखिँदैनन् । हामी कतिले शतप्रतिशत सत्य भएको ठोकुवा गर्दै भ्रामक ज्ञान बाँडिरहेका छौँ । कसैले जानजान ढाँटेका छन् । आफुसित असत्यलाई सत्य सावित गर्न सक्ने सामथ्र्य भएकामा गर्व गरिरहेका छन् र आफूबाट ठगिएकाहरूको सोझोपनलाई गिज्याएर मनमन खित्का छाडेर हाँसिरहेका छन् । अर्काथरले कुरै नबुझीकन हल्लैहल्लाको भरमा त्यही झुटलाई साँचो सम्झेर प्रचार गरिरहेका छन् । आफ्नो विवेकले धोका खाएको पनि तिनलाई पत्तै छैन ।
समाजभन्दा बाहिर कलाको कुनै अस्तित्व छैन । प्रकृति र कार्यलाई गहिरिएर हेर्ने हो भने साहित्य र राजनीतिको असम्बद्धता असम्भव मात्र छैन, वर्जनीय पनि छ । समाजको सौन्दर्यात्मक संवेदनाको उच्चतम रूपको प्रस्तुति सामाजिक परिघटना हो । साहित्य कसैले कसैका लागि लेख्तछ । यसरी लेख्नेले केही कुरा भन्नका लागि लेख्तछ । यो सोचीविचारीकन गरिएको सामाजिक सूचनाको संप्रेषण हो । सम्प्रेषणकर्ता लेखक पनि एउट सामाजिक प्राणी हो । समाजको कुनै वर्गको सदस्य हो, जसको अवस्था ऐतिहासिक र तत्कालीन अर्थराजनीतिक परिवेशद्वारा निर्धारित हुन्छ ।
वस्तुतः साहित्य कला नै हो । सांस्कृतिकमूल्यत्रय सत्य, शिव र सुन्दर नै कलाका सार हुन् । सत्य यथार्थबोधसित सम्बन्धित छ । यो संज्ञानात्मक पक्ष हो । शिव कल्याणकामनासित सम्बन्धित छ । यो विचारधारात्मक पक्ष हो । यसमा सकारात्मक परिवर्तनको स्वप्न र सङ्कल्प अन्तरनिहित हुने हुनाले यसलाई सङ्कल्पात्मक पक्ष पनि भन्न सकिन्छ । सुन्दर उपयोगमूल्यसित सम्बन्धित छ । (पैसामा किनबेच हुने बजारमूल्यसित होइन ।) यो सौन्दर्यात्मक पक्ष हो । सौन्दर्य बाहिरी रूपको मात्रै विषय होइन, त्यसभित्रको सारको समेत विषय हो । रूप र सारको सुसङ्गत संयोजनको विषय हो ।
साहित्य र राजनीति समाजबाटै जन्मेका तर नितान्त भिन्न चरित्रका सहोदर सन्तति हुन् । सहोदरताका नाताले कतै कतै समरूपता प्रकट हुनु स्वाभाविक नै हो ।